काठमाडौं– कमलमणि नेपाल विसं २०३४ सालमा मोरङस्थित बाहुनीमा जन्मिएका हुन् । तीन दाजुभाइमध्ये उनी जेठा हुन् ।
कक्षा १२ को परीक्षामा अंग्रेजी विषयमा फेल भएपछि कमलमणि कम्प्युटर सिक्न ०५३ सालमा काठमाडौं छिरे ।
काठमाडौं आएर उनले विद्यार्थी राजनीति पनि गरे । तर, इटहरीमा आईए पढ्दै गर्दा सिकेको ‘क्यारिकेचर’ले भने उनलाई अन्त जान दिएन ।
त्यही क्यारिकेचरले उनमा कलाकार बन्ने सपना पैदा गरिदियो । क्यारिकेचरले नै उनलाई काठमाडौं आएर पहिलो पटक नाटकमा अभिनय गर्ने अवसर दिलायो ।
र, त्यसैले टेलिभिजन कार्यक्रम र नाँचघरको एकवर्षे अभिनय तालिमसम्म पु-यायो । नाचघरको प्रवेशले उनलाई रंगमञ्चको अनुभव गर्न दियो । साथै नाटकको सर्कलमा परिचित गरायो । त्यही सर्कलबाट गुरुकुलको थिएटर र सञ्चालको उदाहरणीय कामको उनी हिस्सा बने ।
अहिले कमलमणि टेलिसिरियल ‘सक्किगो नि’ मा ‘खुपीका बा’को भूमिकामा छन् । फिल्ममा पनि उनको व्यस्तता बढ्दो छ ।
उनी निरन्तर अभिनय कर्ममा लागेको अहिले २६ वर्ष पुगेको छ । जानौं उनलाई कस्तो धैर्यता, अवसर र बाध्यताले ‘खुपीका बा’ बनायो ।
हेडसरको जेठो छोरो
नेपाल दम्पतीका तीन छोरामध्ये कमलमणि जेठा हुन् । पुर्खौँली घर भोजपुर भए पनि हजुरबा, बुवा बसाइँ सरेर मोरङको बाहुनीमा झरेका हुन् । कमलमणिको जन्म–हुर्काइ त्यहीँ भयो ।
बुवा नेपाली विषयका शिक्षकसहित प्रध्यानाध्यापक थिए । बुबाले पढाउने स्थानीय जनता माध्यमिक विद्यालयबाटै उनले एसएलसी पूरा गरे ।
बुवाका कारण नेपाली विषयको पढाइ राम्रो भए पनि उनी आफूलाई मध्यम विद्यार्थी ठान्छन् । भन्छन्, ‘बुवाले सिकाएकाले नेपालीमा राम्रो थिएँ । सानै हुँदा ठूलो कक्षाका अधिकांश कविता कण्ठ थियो । अंग्रेजी, गणित र विज्ञान साह्रै गाह्रो लाग्थ्यो ।’
‘हेडसर’को छोरो भएका कारण स्कुलमा अन्य साथीहरुबाट विशेष व्यवहार पाएको उनलाई महसुस हुन्छ । भन्छन्, ‘बुवाको डरले साथीहरुले मलाई छुने कुरै भएन । म मात्तिए पनि उनीहरु चुप बस्थे ।’
यद्यपि बुवा शिक्षक भएका कारण बाल्यकाल र किशोर अवस्थामा ‘रमाइला बदमासी’ गर्न नपाएको उनलाई महसुस हुन्छ । भन्छन्, ‘प्रेमपत्र लेख्न मन लाग्ने, स्कुलमा साथीहरुसँग बदमासी गर्न मन लाग्थ्यो । बुवा स्कुलमै भएले त्यो गर्न नपाइने ।’
उनलाई सम्झना भएसम्म गाउँमा विद्युत् पुगेको थिएन । सोही कारण बाल्यकालले आनन्दले टेलिभिजनको हेरेको उनलाई सम्झना छैन । भन्छन्, ‘टीभी हेर्न परे छिमेकमै जाने हो । उनीहरुको इच्छाअनुसारको समयमा हेर्नुको विकल्प थिएन ।’
स्कुलमा हुने अतिरिक्त क्रियाकलाप ‘चित्रकला’मा भने आफू अब्बल रहेको उनी बताउँछन् । भन्छन्, ‘आठमा पढ्दा स्कुलको आन्तरिक चित्रकलामा म प्रथम भएको थिएँ । राम्रै चित्र कोर्थेँ ।’
०४९ सालमा एसएलसीको परीक्षा दिँदासम्म पनि जीवन लक्ष्यविहीन रहेको उनलाई स्पष्ट याद छ । झन् कलाकार बन्ने कुरा त सोचाइभन्दा पनि पर रहेको उनी सम्झन्छन् ।
यद्यपि ९ मा पढ्दा शिक्षक र विद्यार्थी मिलेर गरेको एक नाटकमा ‘पकेटमार’को सानो भूमिका निर्वाह गरेको उनी बताउँछन् ।
‘बुवालाई नाटकमा इच्छा थियो । वार्षिक उत्सवमा देखाइएको नाटक बुवाले पनि खेल्नु भएको थियो । मैले पनि त्यो नाटकमा खेल्ने पाएँ,’ उनी भन्छन्, ‘नाटक गर्दा मज्जा चाहिँ आएको थियो । त्यसपछि फेरि गर्ने वातावरण बनेन ।’
त्यसबाहेक आफूमा कलाकार बन्ने लक्षण भएको उनलाई सम्झना छैन । भन्छन्, ‘म स्कुलमा रहँदा वार्षिक उत्सव र राजा-रानीको जन्मोत्सवमा कार्यक्रम हुन्थ्यो । म त्यहाँ भाग पनि लिदैन थिएँ । ममा कलाकार बन्ने लक्षण थिएन ।’
रेडियोले सिकाएको ‘क्यारिकेचर’
कमलमणिले एसएलसी दिँदा नतिजा हेर्न एक मात्रै माध्यम थियो– गोरखापत्र । टेलिफोनको समेत राम्रो विकास नभएकाले नतिजा हेर्न पत्रिका कुर्नुको विकल्प थिएन ।
कमणमणिका अनुसार त्यससमय काठमाडौंबाट मोरङमा पत्रिका पुग्न पनि तीन दिन लाग्थ्यो । भन्छन्, ‘काठमाडौं आफन्त हुनेले बुथमा गएर फोन गरेर नतिजा हेर्न लगाउथेँ । नभए पत्रिका कुर्नुको विकल्प थिएन ।’
नतिजाको तेस्रो दिन दिन बाहुनी चोकमा पुगेर पत्रिका हेर्दा सेकेन्ड डिभिजनमा आफ्नो सिम्बोल नम्बर भेट्दा आफैँलाई विश्वास नलागेको उनी सम्झन्छन् ।
‘त्योबेला एसएलसीलाई फलामे ढोका भनिन्थ्यो । पास हुन्छु भन्ने नै थिएन । तीन पटक चेक गरेपछि पास भएछु भन्ने लाग्यो,’ उनी भन्छन् ।
एसएलसीपछि क्याम्पस पढ्न उनी इटहरी गए । यही दौरान कलाकारिताको छनक आफूमा पैदा भएको उनलाई महसुस हुन्छ । त्यसबेलै सिकेको क्यारिकेचरले कलाकारिताको यात्रामा प्रवेश गराएको उनको बुझाइ छ ।
यो त्यो समयको कुराको हो जतिबेला दीपकराज गिरी र दीपाश्री निरौला रेडियो कार्यक्रममार्फत् चर्चित थिए । रामविलास र धनियाँ बनेर उनीहरुले चलाउने कार्यक्रम युवा पुस्तामाझ लोकप्रिय थियो ।
त्यही कार्यक्रम सुनेर आफूले मधेसी मुलको व्यक्तिको ‘क्यारिकेचर’ गर्न लागेको उनी बताउँछन् । भन्छन्, ‘मधेसी व्यक्तिको क्यारिकेचर गरेर साथी भाइहरुलाई सुनाउँथेँ, उनीहरु रमाइलो मान्थेँ ।’
तर, क्याम्पसका कार्यक्रममा मञ्चमा उक्लेर क्यारिकेचर गर्ने आँट भने उनीमा आइनसकेको थिएन । उनी भन्छन्, ‘साथी शिरोमणि दवाडी मञ्चमा चढेर क्यारिकेचर गर्थ्यो । मलाई चाहिँ यत्तिको हुन पाए नि हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो ।’
यद्यपि उनलाई धेरै मान्छे अगाडि क्यारिकेचर गरेको स्पष्ट याद छ । जतिबेला उनी क्याम्पस बिदा भएर गाउँमा थिए ।
‘बिदामा घर गएको थिएँ । बाहुनी चोकमा सडक नाटक गर्न कलाकार आएका रहेछन् । नाटक तयार हुन कलाकारलाई समय लाग्ने भयो,’ उनी भन्छन्, ‘नाटक हेर्न भीड जम्मा भइसकेको थियो । उनीहरुलाई होल्ड गर्नका लागि नाटकको समूहले स्थानीय प्रतिभालाई मौका दिन्छु भन्यो । म गएर त्यही मधेस मूलको व्यक्तिको क्यारिकेचर गरेर भीडलाई आधा घण्टा होल्ड गराएँ ।’
यसरी भीडमा क्यारिकेचर गर्ने आँट उनलाई दाइ (ठूलाबाका छोरा)ले दिएका हुन् । भन्छन्, ‘नाटक समूहले केही प्रतिभा देखाउने हो ? भन्दा दाइले यसले गर्छ भनेर मलाई फसाएर भीडको बीचमा पु-याएका हुन् ।’
जुन कारणले आफूले क्यारिकेचर गरे पनि नाटक समूहका व्यक्तिहरुले दिएको प्रतिक्रिया उनका लागि विशेष बन्यो ।
क्यारिकेचर सुनेपछि नाटकका कलाकारले उनलाई सल्लाह दिएका थिए रे, ‘तिमीमा क्षमता रहेछ । गाउँमा बसेर हुँदैन । कलाकार बन्न काठमाडौं जानू ।’
यही प्रतिक्रियाले काठमाडौं पुगेर पहुँच बन्यो भने कलाकार बन्ने प्रयास गर्छु भन्ने सोच पलाएको उनी सम्झन्छन् । तर, तत्कालीन समयमा इटहरीको पढाइ र काठमाडौं आइपुग्ने सहज पहुँच नभएकाले उतै बसेको उनी बताउँछन् ।
उनलाई कलाकार बन्न सल्लाह दिने नाटक टोली ‘आरोहण’ थियो, जुन उनले धेरै पछिमात्रै थाहा पाएका हुन् ।
पढाइ हापेर काठमाडौं
एसएलसीपछिका तीन वर्ष कमलमणिको बसाइँ इटहरी र मोरङमै भयो ।
१२ मा अनिवार्य अंग्रेजी पास हुन सकेनन् । मौका परीक्षा र पूरक परीक्षा नदिएका होएनन् तर पास हुन सकेनन् ।
त्यही झोँकमा ०५३ सालमा कम्प्युटर सिक्न काठमाडौं आएको उनी बताउँछन् । ‘कम्प्युटर सिक्न काठमाडौं जान्छु भनेको, बुवाले हुन्छ भन्नुभयो,’ उनी भन्छन्, ‘त्यसबेला कम्प्युटर सिक्छु, संगत र च्यानल बन्यो भने कलाकार बन्छु भन्नेचाहिँ मनमा थियो ।’
काठमाडौं आएपछि उनी पाटनमा दाइ (ठूलो बुवाको छोरा) सरोजमणि नेपालको डेरामा बसे । दाइको संरक्षण र बुवाले उतैबाट खर्च पठाउने भएकाले काठमाडौंमा आर्थिक समस्यासँग जुध्नु परेन ।
काठमाडौं आएर सुरुमा उनले टाइपराइटर सिके । कलाकार बन्ने प्रक्रियाबारे थाहा नहुँदा त्यो एक सामान्य रहरमै सीमित बनेको उनी सुनाउँछन् ।
भन्छन्, ‘हामीजस्तो मान्छे कलाकार बन्न सकिन्छ भन्ने आँट नै थिएन । यहाँ आएपछि कहाँ जाने, के गर्ने, त्यो पनि थाहा भएन । यसतर्फ चासो पनि धेरै दिइएन ।’
बरु यही दौरान ‘ठूलोबुवाले उमेर छ पढ्’ भनेर सल्लाह दिएकाले बानेश्वर क्याम्पसमा उनी पुनः आईएमा भर्ना भए ।
भन्छन्, ‘त्यसपछि जीवन काठमाडौं केन्द्रित भयो । आफूले पनि अवसरहरु खोज्न थालियो । के सकिन्छ, त्यही गर्ने भन्ने थियो । कलाकार बन्ने वा यो गर्ने भन्ने दृढ योजना थिएन ।’
नाटकको अवसर
काठमाडौंमा क्याम्पस भर्ना भएपछि भने कमलमणि क्यारिकेचर गर्न मञ्चमा उक्लिन थाले । यो कुरा दाइ सरोजमणिले थाहा पाएका थिए ।
सोही कारण उनले पहिलो पटक नाटक खेल्ने मौका पाएका हुन् । अर्थात्, सरोजमणि पढ्ने क्याम्पस बाल्मिकीले ‘जयतु संस्कृतम्’ को स्वर्ण महोत्सवमा नाटक गर्ने भएकाले उनले अभिनयको अवसर पाएका हुन् ।
‘नाटकका लागि मधेसी युवाको भूमिका चाहिएछ । खोज्दा कोही पाएनछन् । मलाई दाइले क्यारिकेचर गर्छस् तँ, गर् भन्नुभयो,’ उनी भन्छन्, ‘दाइसँगै गएर अडिसन जस्तो दिएँ । हुन्छ भनेपछि रिहर्लसमा जान थालेँ ।’
यसरी जोडिएको नाटक ०५५ सालमा राष्ट्रिय नाच घरमा मञ्चन भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराललो पनि सो नाटक हेरे ।
उनी सम्झन्छन्, ‘त्यही नाटकबाट गिरिजाले प्रमाणपत्र दिनुभयो । त्यो घटनाले मलाई केही जोश भने दिएको थियो । त्यसपछि नाचघरका नाटकहरु म नियमित दर्शक हुन थालेँ ।’
यता क्याम्पसमा कलमणिको विद्यार्थी राजनीति बामे सर्दै थियो । स्वबियू निर्वाचन लडेर सदस्यसमेत बनिसकेका थिए । यहीक्रममा घटेको एक घटनाले उनलाई राजनीति छोडेर कलाकारिताको संघर्ष केन्द्रित हुन प्रेरित गरेको उनलाई महसुस हुन्छ।
‘कार्यक्रम थियो । त्यहाँ विद्यार्थी राजनीति गर्ने केटाहरुले स्ववियूका नेताहरुलाई पिट्न लागे, म क्यारिकेचर गर्न मञ्चमा जान दाह्री–जुँगा टाँसेर बसेको थिएँ, मलाई चिनेनन्’ उनी भन्छन्, ‘चिनेको भए मैले पनि पिटाइ भेट्थेँ । त्यही घटनाले मलाई राजनीति पनि छोडायो । पात्र विकास गर्न सक्ने रहेछु भन्ने चेत पनि दियो ।’
राजनीतिक दलका विद्यार्थी नेताको दिनहुँको झगडाले उनी क्याम्पसै जान छाडे । राजनीति छाडेर कलाकारिताको संघर्षमा होमिए । भन्छन्, ‘क्याम्पस गयो कि पिटाइ खाने जोखिम भएपछि के राजनीति गर्नु ? क्याम्पस नगई आईएको परीक्षा दिएँ । यहाँ चाहिँ फेल भइनँ ।’
नाँचघरको अवसर
०५६ सालमा आइपुग्दा कमलमणिमा कलाकार बन्ने लक्ष्य हावी थियो तर क्षमता क्यारिकेचरमै सीमित थियो । उनले आफ्नो प्रतिभा निर्खाने ठाउँ पाएका थिएनन् ।
तथापि त्यही क्यारिकेचरले उनलाई अवसर खोज्दै विभिन्न टेलिभिजनका कार्यक्रममा धाउने आँट दिएको थियो ।
काम खोज्दै जाँदा तराई टेलिभिजनबाट प्रशारण हुने दुई कार्यक्रममा काम गरेको अनुभव उनीसँग छ ।
‘हाँसिबियाँलो र फिफ्टी–फिफ्टी कार्यक्रममा काम गरेँ । सानो भूमिका हुन्थ्यो । हाँसिबियाँलोमा ९ भाग गरेँ । अर्कोमा चाहिँ कति गरेँ, बिर्सिएँ,’ उनी भन्छन् ।
टेलिभिजनमा निर्वाह गर्ने सानो भूमिकाले उनको कलाकारितालाई गति दिन सकेन । भन्छन्, ‘पारिश्रमिकसमेत हुँदैन थियो ।’
टेलिभिजन कार्यक्रमबाट आफ्नो व्यक्तिगत प्रगति नहुँदा पनि उनीमा कलाकार बन्ने इच्छा भने मरेन । बरु आफ्नो ‘क्षमता वृद्धि’ गर्नुपर्छ भन्ने पाठ सिकायो । सोही कारण उनी नाच घरमा अभिनय कक्षा लिन पुगे।
अभिनय सिक्न उनले ०५७ मा अडिसन दिए । उनलाई अडिसन लिने व्यक्तिहरु थिए– रंगकर्मी सुनील पोखरेल र अशेष मल्ल ।
भन्छन्, ‘त्यहाँ पनि मैले मधेसीको क्यारिकेचर नै गरेँ । अशेष सर खुब हाँस्नुभएको थियो । सुनील सरलाई क्यारिकेचर मन नपर्ने रहेछ, उहाँ हाँस्नु भएन ।’
कमलमणिको ब्याचलाई नाचघरमा एक वर्षको अभिनय सुनील पोखरेल लगायतले दिएका थिए । त्यो एक वर्षको कक्षा कमलमणिका लागि अभिनय र रंगमञ्चप्रति होमिन पर्याप्त भयो ।
‘कक्षामा नाटकबारे यति बुझ्ने मौका पाइयो कि क्यारिकेचर भन्दै म फोकटमा डुलेको रहेंछु भन्ने भयो।’ उनी भन्छन्, ‘छोटकरीमा भन्दा त्यो कक्षाले अभिनय बुझायो ।’
नाटक सर्कलमा दोस्ती
नाचघरको अभिनय कक्षाले कलमणिलाई रंगमञ्च र अभिनयको बारेमा ज्ञान मात्रै दिएन, आफूजस्तै कलाकार बन्ने लक्ष्य राखेका साथीहरु पनि चिनायो ।
त्यही अभिनय कक्षाबाट उनले एमआर थिएटरका सञ्चालक वीरेन्द्र हमालसँग पनि चिनजान गरायो । कक्षा सकिएपछि उनी एमआर थिएटर धाउन लागे ।
एमआर थिएटरमा उनले चिनेका साथीहरु हुन्– नायक सौगात मल्ल, रंगकर्मी राजन खतिवडा र सरिता गिरी । तर, त्यसबेला सबैजना संघर्षकै क्रममा रहेको उनी बताउँछन् ।
खैर, एमआर थिएटरले भने कलाकारिता यात्रालाई गति दिएको कमलमणिलाई महसुस हुन्छ । भन्छन्, ‘त्यहाँ गएपछि नाटकहरुमा अभिनय गर्न पाइन्थ्यो । नाचघर र एकेडमीमा मञ्चन हुन्थ्यो ।’
उनले एमाआरबाट उनले गरेको पहिलो नाटक ‘सोरठी’ हो । भन्छन्, ‘सोरठीको कलाकारमा म, सौगात मल्ल, सरिता गिरी, निर्मला खड्का (मेरी बास्सैकी ठ्यासकुमारी) लगायत थियौं ।’
एमआर थिएटर सहभागी भएकै कारण रंगकर्मी सुनील पोखरेलले एकेडेमीमा सञ्चालन गरेको ‘आरोहण शनिबार’मा कमलमणि जोडिन पाए ।
‘सुनील सर वीरेन्द्र सरको चिनजान राम्रो थियो । त्यहीकारण म सुनील सरसँग जोडिन पाएँ,’ उनी भन्छन्, ‘आरोहण शनिबार कार्यक्रममार्फत उहाँले एकेडेमीमा नाटक सञ्चालन गर्नुहुन्थ्यो । एमआरबाट म लगायतले अवसर पायौं ।’
आरोहण शनिबारबाट एकेडेमीमा कमलमणिले गरेको पहिलो नाटक ‘कुमारी’ हो । भन्छन्, ‘मेरो सानो भूमिका थियो । एउटा संवाद थियो । स्टेजमा गएपछि बिर्सिएँ, मिलाएर के-के बोलेर आएको थिएँ ।’
आरोहण शनिबारकै च्यानलबाट नाटकसहित सडक नाटक र अभिनयको विभिन्न तालिम लिने अवसर मिलेको उनी बताउँछन् ।
गुरुकुलको सपना
आरोहण शनिबारमा जोडिएर नाटक गर्दै गर्दा कमलमणि काठमाडौं आएको ५ वर्ष बितिसकेको थियो । उमेरले २३ वर्ष पुगिसकेका थिए ।
नाटक सिकाइकै चरणमा थियो । आर्थिक प्रगति शून्य थियो । त्यसपछि परिवारबाट मोरङ नै फर्कन दबाब आउन थाल्यो ।
घरको दबाब सुनील पोखरेललाई सुनाएपछि एक वर्षको समय माग्न सुझाएको उनी सम्झन्छन् । भन्छन्, ‘सुनील सरले बुवासँग एक वर्ष माग, म एक वर्षमा केही गर्छु भन्नुभयो ।’
सुनीलको योजना कमलमणिलाई थाहा थिएन तर पनि उनले बुवासँग एक वर्षको समय मागे । बरु खर्चका लागि सहकारीमा काम गर्न लागे । उनको जीवनको पहिलो कामको तलब २५ सय थियो ।
‘पहिला अफिसभित्र काम थियो । पछि पैसा उठाउन पठायो,’ उनी भन्छन्, ‘भित्रको काम भए ८ घण्टा बस्नुपथ्र्यो । पैसा उठाउने काम दुई घण्टा गरे पुग्ने थियो । नाटकमा समय मिल्ने भएकाले बाहिरकै काम गरेँ ।’
यद्यपि उनले सहकारीको काम लामो समय गरेनन् । त्यसको कारण थियो– गुरुकुलको स्थापना ।
हुन त कमलमणि गुरुकुल निर्माणको सुरुवातदेखि सुनील पोखरेलसँगै हिँडेका हुन् । भन्छन्, ‘सुनील सरले आफ्नो स्थान आफैँ बनाउने भनेर जग्गा खोज्न लाग्नुभयो । मलगायतले उहाँलाई साथ दियौं ।’
बत्तीसपुतलीमा गुरुकुल थिएटरका लागि जग्गा त भेटियो तर आर्थिक स्रोत थिएन । सुरुवाती कामका लागि गोजीबाट पैसा झिक्ने एकपात्र आफू पनि रहेको उनी बताउँछन् ।
‘मैले सात हजार झिकेँ । अरु साथीहरुले पनि दिनुभयो । त्यसरी गुरुकुल निर्माणको काम सुरु भएको हो,’ उनी भन्छन् ।
एउटा ऊर्जाशील टिमको सीप, बल, पसिना, मेहनतले गुरुकुल ठडियो । त्यसपछि भने जागिर छोडेर उनी पूर्णकालीन अभिनयमा लागे ।
‘गुरुकुलको छात्रवासमा बस्नेहरु मध्येमा म पनि छानिएँ । छात्रवासमा बसेपछि बाहिरी काम गर्न नपाइने नियम थियो,’ उनी भन्छन्, ‘अभिनयमा रस पसेकाले सहकारी छोडेँ । ४५ सय तलब पुगिसकेको थियो । तलब बढाइदिने आश देखाए पनि काम छोडेँ ।’
गुरुकुलमा पनि मासिक २५ सय भत्ता भएकाले आर्थिक पाटो सहजै भएको उनी बताउँछन् ।
११ वर्षको गुरुकुल संघर्ष
गुरुकुल ०५९ सालमा औपचारिकरुपमा सुरु भएर ०६९ मा भत्कियो । जग्गा भाडा नवीकरण नहुँदा गुरुकुल ढल्यो । यो दश वर्षको साक्षीमध्येका एक कमलमणि हुन् ।
तर, एक दशकमा गुरुकुलले सुस्ताएको रंगमञ्च उठायो । यो कर्मको उनी एक सिपाहीसमेत हुन् । अर्थात् उनले आफ्नो जीवनको २४–३४ वर्षको उमेर गुरुकुलमा लगानी गरे ।
यसको प्रतिफलमा कमलमणिले अभिनयमा निखारता ल्याउन पाए । साथै बंगलादेश, पाकिस्तान, डेनमार्क, रसिया, चीनका रंगमञ्चमा उक्लने अवसर गुरुकुलले दिलायो ।
गुरुकुल भत्किदाँसम्म दुई दर्जन नाटक, हजार शो भन्दा बढी सडक नाटक र तीन फिल्ममा अभिनय गरेको अनुभव उनीसँग थियो ।
भन्छन्, ‘गुरुकुल भत्कँदासम्म तलब १० हजार पुगेको थियो । त्यही खर्चमा काठमाडौंमा बसियो । बिर्सन नमिल्ने कुरा गुरुकुलले अवसरको ढोका खुलायो ।’
सुनील पोखरेलको नेतृत्वमा स्थापना भएको गुरुकुलले नेपाली कलाकारितामा कति योगदान गरेको छ भन्ने एउटा सानो दृष्टान्त हुन् कमलमणि ।
जग्गाको अभावले गुरुकुल भत्किए पनि धेरैजना कमलमणिहरु उत्पादन भएका छन्, जो अहिले नेपाली कलाकारितामा अग्रणी स्थान बनाउन सफल छन् ।
‘खुपीका बा’को कथा
गुरुकुलमा रहँदा गरेको फिल्म ‘धन्दा’बाट कलमणिलाई टेलिसिरियल भद्रगोलको प्रस्ताव आएको हो ।
‘मैले धन्धा फिल्ममा गरेको पात्र कुमार कट्टेल (जिग्री)लाई मन परेछ । त्यही भएर मलाई अफर आएको हो,’ उनी भन्छन् ।
यता गुरुकुलको व्यस्तताले समय दिन नभ्याउने हो कि भन्ने चिन्ता हुँदा हुँदै भद्रगोलमा जोडिएको उनी बताउँछन् । भन्छन्, ‘म नाटकको मान्छे, नभ्याउन सक्छु भनेको थिएँ । भद्रगोलको टिमले सहज गराउँछौं भन्नुभएको थियो ।’
डमी खिचेको केही महिनामै गुरुकुल भत्कियो । अन्य साथीहरुमा जस्तै कमलमणिमा पनि अब के गर्ने ? भन्ने अन्योल थियो ।
भन्छन्, ‘तलब आइरहेको र काम गरिरहेको ठाउँ भत्कियो । गुरुकुलको छात्रवास बस्ने सबैलाई अब के गर्ने त भन्ने अन्योल थियो । त्यो अवस्थामा मेरो लागि आशाको बाटो भद्रगोल बन्यो ।’
गुरुकुल भत्किएको केही महिनापछि भद्रगोलको पहिलो भाग प्रशारण भयो । सुरुवातबाटै भद्रगोलले चर्चा कमायो । कमलमणि ‘खुपीका बा’ बने ।
‘गुरुकुल ढल्यो अब के गर्ने ? भन्ने अन्योल थियो । भद्रगोल पाएँ । रंगमञ्चमा सीमित थिएँ, टेलिभिजनबाट सबैले खुपीका बा भनेर चिने,’ उनी भन्छन्, ‘मलाई गाह्रो समयमा नाम र दाम दुवै भद्रगोलले दियो ।’
भद्रगोलको टिमले अहिले ‘सक्किगो नि’ निर्माण गरेका छन् । त्यसमा पनि उनी ‘खुपीका बा’कै चरित्रमा छन् ।
खुपी बा बनेर चर्चा कमाएसँगै उनको फिचर फिल्ममा पनि व्यस्तता बढ्दो छ । भन्छन्, ‘अहिलेसम्म ४५ भन्दा बढी फिल्म खेलिएछ ।’
२६ वर्षको अभिनय यात्रा
कलमणि काठमाडौं छिरेर अभिनयमा लागेको अहिले २६ वर्ष पुगेको छ । १३ वर्ष संघर्षमा आर्थिक प्रगति नहुँदा पनि अभिनय कर्मलाई उनले निरन्तरता दिए ।
‘टेलिसिरियल र फिल्म गर्न लागेपछि मात्रै हो मैले धेरै–थोर पैसा कमाउन लागेको । त्यसबेलासम्म त दुःखैमा गुजारा चल्यो नि,’ उनी भन्छन् ।
निरन्तरताकै कारण कलाकारिताबाट अहिले एकखालको जीवनशैली पाएको उनको बुझाइ छ ।
‘टोखामा घर बनाइएको छ । त्यसको श्रेय कलाकारितालाई नै जान्छ । सम्पत्तिभन्दा पनि अहिले नाम कमाइएको छ, त्यो सन्तुष्टिको पाटो हो,’ उनी भन्छन् ।
अहिले टेलिसिरियल ‘सक्किगो नि’ उनको नियमित कर्म हो । बाँकी समयमा उनी फिल्म गरिरहेका हुन्छन् । वर्षमा कम्तिमा पनि उनको अभिनय रहेका तीन फिल्म प्रदर्शनमा आउँछन् ।