यतिखेर पार्टी (एमाले) ले परिभाषित कामबाट फुर्सद दिएको छ । यो बीचमा अचम्मै महसुस पनि भयो । विगतमा पनि विद्यार्थी संगठनमा काम गर्दा बेला मौकामा यस्तो समयको सामना गरेको थिएँ । त्योबेला अहिलेको जस्तो अचम्मको अवस्था अनुभव गरिएन । सायद उमेर, समय, बुझाइ र कामले गर्दा पनि यस्तो अनुभव भएको होला ।
मेरो जीवनमा मैले नगरेको कुरा, गर्न मन नपराएको कुरा चुक्ली, चाकरी, चाप्लुसी र चम्चागिरी हो । तर, यी कुराहरू अहिलेको राजनीतिको मूलमन्त्र जस्तै छ । धेरैजसो मेरा शुभचिन्तक र नेतृत्वमा रहेका कतिपयले सिधै त हैन, तर घुमाउरो शैलीमा राजनीतिमा लागेर धेरै दुःख कष्ट गरेको केही गर्न सक्ने योग्यता, क्षमता र सम्भावना हुँदाहुँदै पनि चार ‘च’ को योग्यता तपाईंमा छैन, जसले गर्दा राजनीतिमा गाह्रो छ भनेर सुझाव दिएका छन् । मैले सुनौंला तर यो अर्ति मान्नेवाला छैन । चार ‘च’ मूर्दावाद ।
परिभाषित जिम्मेवारीमा नहुँदा केहीलाई असजिलो हुने रहेछ भन्ने सुनाउँछन् । यो कुरा शारीरिक हाउभाउबाट व्यक्त पनि गर्छन् मलाई भने त्यस्ता कुराले खासै छुँदैन ।
सामाजिक सञ्जालमा भेटिएको पदावली पद त सम्बोधनका लागि मात्रै हो, योग्यता क्षमता नै प्रमुख कुरो हो । त्यत्तिकै प्राप्त लाइनको भावले अहिलेसम्म राजनीतिमा मेरै पाराले टिकेको रहेंछु जस्तो लाग्यो ।
तर, एउटा गम्भीर प्रश्न एउटा व्यक्ति, समूह र समाजले किन कुनै अर्को व्यक्ति, समूह र पार्टीलाई मान्छ ? यो कुरा बुझ्न जरुरी छ । यसको गहिरो खोज आजको आवश्यकता हो ।
कुनै पनि संघ, संस्था वा राजनीतिक पार्टीहरुमा नेतृत्व पदहरू पार्टीको नीति, विचार, कार्यक्रम र गन्तव्यलाई आम जनताको बीचमा लैजान, बुझाउन र कतिपय अवस्थामा मतको प्रतिनिधित्वका लागि सृजना गरिएका हुन्छन् । कतिलाई त्यो सुहाएको हुँदैन । कतिले त्यसलाई बोक्न सकेको हुँदैन, कतिपयले यो प्राप्त गर्न सकेको हुँदैन ।
पदमा रहेको नेतृत्वले त्यसका लागि दस्तावेजमा, छलफलमा, मञ्चहरूमा बैठकमा आफ्ना धारणा राख्नुपर्ने, बोल्नुपर्ने र निष्कर्षमा लैजानुपर्ने हुन्छ । उसको निरन्तरता, बौद्धिकता, समर्पण, प्रस्तुती र परिस्थितिले नै नेतृत्व गर्ने र नेता बन्ने अवसर दिन्छ अनि त्यो पदको गरिमा र नेतृत्व पदमा सुहाउँदो हुन्छ ।
नेता र नेतृत्व विरासतको ब्याज र आन्दोलनको रापले पनि निर्माण गर्ने गर्छ । अनि परिस्थितिले त्यो नेतृत्व टिकाइरहनुपर्ने हुन सक्छ । तर, कतिपय अवस्थामा राजनीतिक उत्तराधिकारीको प्रचलनले पनि नेतृत्व र पदको निर्माण गरेको देखिन्छ । यो एक गम्भीर मनोवैज्ञानिक रोग हो । यसले आन्दोलन र राजनीतिक पार्टी वा संस्था नै समाप्त गरेको छ । आज यसलाई यस म्यान, झोले, दास, चाकर र गुलामसम्मका शब्दले पुकार्ने गरिन्छ ।
फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा हजारौँ होइन, लाखौँको संख्यामा फ्लोर्सहरू, स्रोताहरू वा दर्शकहरू छन् । एक मन्तव्य वा स्टाटस हाल्दा मिनेटमै लाखौं लाखले हेर्छन्, प्रतिक्रिया दिन्छन् र अन्तरक्रियामा सहभागी हुन्छन् । सुन्ने सुनाउने यस्तो सजिलो र उपयुक्त बाटो नसमातेर जनता र कार्यकर्ता दुःख दिने कार्यले हामीलाई जडसुत्रवादी बनाइएको छ
आज गाउँघरमा मेलापात गरेर जीवन चलाएका मान्छेहरूमा राजनीतिबाट अलग हुँदैछ । धेरै ठूलो निराशा छ । राजनीतिक अभियान त धनबिरे, बलबिरे र दलबिरेको गुलाम भइसक्यो भन्ने भाष्य निर्माण हुँदैछ । पदहरु, मतहरु एक प्याला रक्सी र एक चोक्टा मासुमा लिलाम गर्न तयार छ । उसले नेतृत्व वा पद निर्माणको अवसरमा वा प्रत्येक आवधिक निर्वाचनमा आफूले प्राप्त गर्ने भनेकै त्यति मासुभात मात्रै देखेको छ । राजनीतिक पार्टी मुस्किलले पार्टी कार्यकर्तासम्म गएको छ । एकोहोरो प्रवचन दिएको छ, जनतासम्म पुगेकै छैन ।
राजनीतिक पार्टीका कार्यक्रम भनेका औपचारिकतामा मात्रै सीमित देखिन्छन् । अतिथि बन्न लुछाचुँडीसँगै कार्यक्रममा ढिलो आउने चाँडो निस्कने होडबाजी देखिन्छ ।
आज सामाजिक सञ्जाल र प्रविधिको विकासले कुनै पनि नीति निर्माणमा नेतृत्वदायी भूमिकामा रहेकालाई सुन्न कुनै कार्यक्रममा पाँच दस घण्टा कुरेर बस्नु पर्दैन । अब कार्यक्रममा प्रमुख अतिथि बनाउँदा नीति निर्माणमा नेतृत्वदायी भूमिकामा निर्वाह गरिरहेको आम सहभागीको कुरा सुन्न र टिपोट गर्न तयार नेतृत्वलाई बनाउनुपर्छ । नेतृत्वको कुरा सुन्न र बुझ्न मञ्चको अगाडि टण्टलापुर घाम, भिज्दै गरेको ज्यान, चिसिँदै गरेको आँत र ठेलमठेल गरेर बस्नुको कुनै अर्थ छैन ।
घरमै रहेको आरामदायी सोफामा बसेर ओलम्पिक वा विश्वकप हेरे जसरी हेर्न सकिन्छ, त्यो अवस्था निर्माण गर्न नेतृत्वमा बौद्धिकता र कार्यकर्तामा समर्पण भाव हुनुपर्छ ।
फरक–फरक महादेशमा एकै दिनमा साँझको ९ बजे, रातिको एक बजे र बिहान छ बजेको खेल हेर्ने युगका नागरिकको समय हो यो । आज पनि पार्टीहरु आफ्ना विचार र प्रतिबद्धता सुनाउने सन्दर्भमा लाखौं लाख खर्च गरेर पाँच/सात हजार मान्छे एक ठाउँमा जम्मा गर्दै अमुक प्रमुख अथितिको कुरा सुन्न अबेर रात कुराउने यो परम्परा जीवित रहला । तर, अब राजीतिक आस्था र व्यवस्था जीवित रहँदैन ।
आज सार्वजनिक जीवनको शीर्ष नेतृत्वमा रहेकाहरुसँग फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा हजारौं होइन, लाखौँको संख्यामा फ्लोर्सहरू, स्रोताहरु वा दर्शकहरू छन् । एक मन्तव्य वा स्टाटस हाल्दा मिनेटमै लाखौं लाखले हेर्छन्, प्रतिक्रिया दिन्छन् र अन्तरक्रियामा सहभागी हुन्छन् । सुन्ने सुनाउने यस्तो सजिलो र उपयुक्त बाटो नसमातेर जनता र कार्यकर्ता दुःख दिने कार्यले हामीलाई जडसुत्रवादी बनाइएको छ । कहिलेकाहीँ आफ्नो रवाफ र ताकत देखाउन चाहिँ खुल्ला छ ।
पार्टीलाई मुख्य गरी दलबिरे, धनबिरे र बलबिरेबाट जोगाउने योजना बनाउनुपर्ने देखिन्छ । पार्टी यिनैले सकेका छन् कार्य क्षेत्रमा काम गर्दैनन्, नेतृत्वलाई चिल्लो, चुक्ली, चिया र चुस्कीमा लठ्याउँछन् र यिनैबाट पार्टीको गति र मति कमजोर हुँदैछ । नेताहरु भन्दा इमान्दार, चिन्तित र समर्पित पार्टी पंक्ति मैदानमा जिउँदो छँदैछ । यो कसरी जोगाउन सकिन्छ, परिवर्तित समय अनुसारको पार्टी काममा हाम्रा गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।
(पाण्डे एमाले कैलालीका पूर्वसचिव हुन् । यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्, जसले खबरहबको सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैनन् ।)