ब्रेकिङ स्टोरी

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

By खबरहब

October 06, 2024

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति अवलोकन गर्न गृहमन्त्री रमेश लेखक सिंहदरबारबाट निस्किएका छन् ।

उनी बाढीले विपत्ति निम्त्याएको १० दिनपछि ललितपुरस्थित प्रभावित क्षेत्रको अनुगमनमा आइतबार निस्किएका हुन् ।

बाढीले विपद् निम्त्याएको दिन असोज १२ गते बिहान ललितपुरको नख्खु खोलाले बगाएका तीनैजनाको मृत्यु भएको विवादित अभिव्यक्ति उनले दिएका थिए ।

त्यस बिहान भिजिबिलिटी कम भएकाले हेलिकप्टपर पठाएर उद्धार गर्न नसकिएको पनि उनैले बताएका छन् । त्यसदिन बाढी आए पनि काठमाडौंमा ५ हजार मिटरसम्म भिजिबिलिटी थियो ।

विवाद र आलोचनाबीच गृहमन्त्री लेखक बल्ल बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका हुन् । उनले आइतबार नेपाली कांग्रेसका सांसद उदयशमशेर जबरासहित ललितपुरको टीकाभैरव र लुलुसहितमा पुगेर अनुगमन गरेका हुन् ।

। गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।

उनले सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको बताउँदै सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने र खोजी तथा उद्धारको काम भइरहेको बताए ।

गृहमन्त्री लेखकले क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्न आवश्यक रहेको बताए ।

उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत दिए  ।