समाचार

कोशीमा विपद्बाट ४ अर्ब ६३ करोड बराबरको क्षति

By खबरहब

October 06, 2024

काठमाडौं– असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात सञ्चालन नहुने स्थिति भए पनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री राईले कोशी प्रदेशका १४ जिल्लामा भएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल करिब १ अरब २ करोड ५० लाख रुपैयाँ आवश्यक भएको बताए ।

मन्त्री राईले कोशी प्रदेशका केही योजनाहरू निर्माणमा ढिलाइ भइरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्ने बारे निर्णय लिने  तयारी भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयमा देखिएको बेरुजु घटाउन निर्देशन दिइएको जानकारी दिए  ।