रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने, दोब्रिन नजान्ने रुवी सामाजिक हिंसामा परेर मारिएकी निर्मला कुर्मीका दोषीमाथि कारवाहीको माग गर्दै वर्षौंदेखि न्यायको ढोका ढकढकाइरहेकी छिन्। संघर्ष थालेको १७ वर्ष भयो। अहँ कसैले सुन्दैन।
नेपालगञ्जबाट पैदलयात्रा गरेर काठमाडौं आउनेदेखि माइतीघर मण्डलामा अनवरत अनसन हुँदै मुख्य दलका पार्टी कार्यालय पुगेर दबाब दिनेसम्मका काममा उनी सक्रिय रहिन्। तर आरोपी राजनीतिक संरक्षण भएपछि उनीहरुको प्रयास बालुवामा पानी खन्याएजस्तै भएको छ। पानीले चट्टान खियाएजस्तै आफ्नो प्रयासले एकदिन सार्थक प्रयास पाउने विश्वास रुवीमा छ। त्यसैले त न जाडो, न गर्मी, न हिउँद, न बर्खा, न दशैँ, न तिहार उनी सडकदेखि सडककै यात्रामा छिन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–७ रानी तलाउकी रुवीले प्रविणता प्रमाणपत्र तह नेपालगञ्जमै पढेकी हुन्। समाजशास्त्र पढ्ने निकै ठूलो धोको भएपनि उनले हाल कानुन पढिरहेकी छन्। पाँच वर्षे कोर्समा अब एक वर्षको बाँकी छ। कलेज गएर पढ्न नभ्याएका कारण उनले भारतमा प्राइभेट पढिरहेकी छिन्। समाजमा अन्याय विरुद्ध लड्न पनि कानुन जान्नु पर्ने भएर उनले उक्त विषय रोजेको बताइन्। अझ अधिकारकर्मीका रुपमा पीडितको न्यायका लागि बोल्नुपर्ने भएका कारण कानुन पढ्नै पर्ने भयो। अधिकारको एकलव्य यात्रामा क्रियाशील रुवीका संघर्षका कथा उनकै शब्दमा।
म निर्मला कुर्मीको आफन्त होइन। यहाँ धर्नामा बसेका अन्य अधिकारकर्मी पनि कोही छिमेकी, कोही गाउँले, कोही घटनाका प्रत्यक्षदर्शी हुन्। कुर्मीका परिवार आफन्त कोही छैन। २०६६ देखि आन्दोलनमा छन्।
सबैभन्दा लामो आन्दोलन यही कुर्मीको हो। यति लामो नहुनु पर्ने तर आरोपितलाई राजनीतिक संरक्षण मिल्दा हाम्रो आन्दोलन लम्बियो। मधेश समुदायमा विशेष दाइजोको कारण महिलाहरुले धेरै यातना भोग्नु परेको छ। कतिले ज्यानै पनि गुमाउन परेको छ। धेरैको न्यायको लागि लडे। घटना नै सम्झिदा बाँकेमा एक महिलालाई दाइजोका लागि जलाइयो। अपराधीलाई सजायपछि आफूले गरेको गल्तीको महसुुस भएपछि उनीहरुको पारिवारिक पुनर्मिलन भयो। त्यस कारणले नाम लिन्न। तर उक्त महिलाले न्याय पाइन्। मेरै नेतृत्वमा हामी आन्दोलनमा थियौं।
त्यस्तै अर्को रेखा तमोली हत्याकाण्ड भयो। दाइजोको कारण ससुरालीबाट अत्यन्त यातना दिएर हत्या भएको थियो। त्यो घटनामा अभियुक्तलाई जोगाउन प्रहरी नै लाग्यो। तत्काल महिला अधिकार मञ्चबाट एडभोकेसी गरेर २१ दिन रिले अनसन नै गर्नुप-यो। न्यायलयसम्म मुद्दा पु-याउन सकियो र अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकियो।
यी केही प्रनिनिधि घटना हुन्। यस्ता अन्यायमा धेरै पीडितलाई न्यायलयको ढोका ढकढकाउन सहयोग गरेका छौ। न्यायालयबाट धेरैले न्याय पनि पाएका छन्।
ज्यान मार्ने धम्की ज्यान मार्ने धम्की मात्रै होइन, हामीलाई मार्न फिरौतीसमेत दिइसकेका छन्। म, निर्मला कुर्मीको मुद्दामा जाहेरी दिने महिला अधिकार मञ्चकी मनकुमारी भुर्तेल, मञ्चकै सूचना अधिकारी शेर बागवानलाई मार्ने फिरौती दिएका हुन्। भारतको टपोरी ग्याङ जसले पैसा लिएर मान्छे मार्छन्। एक व्यक्तिबाट उनीहरुले पाँच लाख बुझेका रहेछन्।
प्रन्ध लाख बुझेका टपोरी ग्याङ हामीलाई मार्न बाँकेसम्म आइपुगे। तर नेपाल आएपछि उनीहरुले हाम्रो आन्दोलन जायज भएको र निर्मला कुर्मी वास्तवमै पीडित भएको जानकारी पाएपछि हामीलाई नमारी फर्किएको कुनै एक स्रोतबाट जानकारीमा आयो। यो ठुलो मुद्दा भएको जानकारी पाएपछि उनीहरु आफ्नो काम नगरी फर्किएका थिए।
अभियुक्तहरुले पैसा मागेका मागै छन् तर दुई वर्ष देखि टपोरी ग्याङ फरार छन्। हाम्रो सबै दुस्मन छैनन्, हाम्रा लागि प्राथना गर्नेहरु पनि छन्। तिनैले दिएका सूचना हुन्। अभियुक्तहरुले विभिन्न प्रलोभन देखाइरहेका छन्। आन्दोलन सुरु नगर्दै पनि प्रलोभन दिएका हुन्। अहिलेसम्म यो आन्दोलन स्थगित गर्न भने जति पैसा दिन्छौं भनेका छन्। मुख मात्रै खोल्नु कति पैसा चाहियो ? भनेका छन्। आन्दोलन स्थगित गरेर बाँकी कहाँ–कहाँ बोल्नुपर्छ। के गर्नुपर्छ हामी गर्छो भनिरहेका छन्।
पैसा चाहिएको भए व्यापार गर्थें। अन्यायको विरुद्ध लड्न हिँडेका योद्धालाई पैसाको प्रलोभनले कमजोर बनाउँदैन भन्ने हेक्का छैन उनीहरुलाई। हामी निर्मला कुर्मीको साथसाथै अरु पीडितको लागि संघर्ष गरिरहेका छौँ। राज्यको मूलधारबाट वञ्चित, सरकारसमक्ष उभिएर आफ्नो न्यायको लागि बोल्न सक्दैनन् , उनीहरुको आवाज बनेर सडकमा आएको हो।
मानवता खरानी भएको त्यो क्षण हाम्रा अगाडि भएका अन्यायले नै अन्यायविरुद्ध लड्ने प्रेरित गर्छ। त्यो मध्ये सबैभन्दा दर्दनाक घटना निर्मलाको हो। एघार दिनको फरकमा १८ र १४ वर्षका छोरा कुनै दुर्घटना, महामारी वा कुनै रोग केही नलागी मृत्यु वरण गरे। त्यो एकल आमाको हालत कस्तो भयो होला ? त्यसमाथि छोराहरुको शवसमेत पोस्र्टमार्टम गर्न नदिएर जबर्जस्ती खेतमा लगेर अन्त्येष्टि गरियो।
छोराहरुको छानविनको लागि एक अभागी आमाले याचना गर्दा शक्तिशालीहरुले पिट्छन्। पिटाइ सहन नसकेर निर्मलाले दिसा पिसाबसम्म सम्हाल्न सक्दिनथिन्। कोठाभित्र थुनेर समेत पिटेका थिए। गाउँलेहरुकै अगाडि उनी कुटिइन्। कतिसम्म यातना र अत्याचार भएको थियो। उनलाई कसैले दया गरेन। २१ औँ शताब्दीको मान्छेले यो हदसम्मको क्रुरता सहनुपर्ने ? खै मानव अधिकार ?
मानव अधिकार आयोग, इन्सेक, द्वन्द्वपीडित एकिकृत महिला सञ्जाल, एडभोकेसी फोरम लगायतका धेरैले यो घटनालाई चासोका साथ हरेका छन्। अभियुक्तले कुर्मीलाई आफ्नो घर घिसार्दै लगेको साक्षीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँ छन्। तत्कालीन वडाका प्रहरी प्रमुख सुधीर शाही अहिले काठमाडौँमा एसपी छन्।
सुधीर शाहीले निर्मलालाई अभियुक्तको घरबाट निकाल्न खोज्दा ‘म माननीय हो। कसले मेरो घरबाट लैजान सक्छ ?’ भनेर आरोपीले प्रतिकार गरेका थिए। तर प्रहरीले अभियुक्तको घरमा जर्बजस्ती पसेर कुर्मीको उद्धार गरेका थिए।
त्यसपछि अहिले पनि गएको जेठ १४ गते निर्मलाको जाहेरी दिने मनकुमारीसँग बार्गेनिङ गरेछन्। उहाँले नमानेपछि झुटो मुद्दामा फसाइदिने धम्की दिए। अभियुक्तको एक आफन्तको हत्या भएको रहेछ। जेठानी जो निर्दोष छिन्, उनलाई झुटो मुद्दामा फसाइदिए। अब त्यो मुद्दामा श्रीमान्, ससुरालाई फसाइदिने धम्कीसमेत दिएका छन्।
हत्या जस्तो जघन्य अपराधमा फसाइदिन सक्ने ल्याकत राख्छन् अभियुक्त। जो एकल महिला मजदुरी गरेर बच्चाहरु पालेर बसेको महिला एकलाख धरौटीमा छुट्नु परेको छ। अभियुक्त र प्रहरीको मिलेमतोमा आन्दोलनकारी झुटा मुद्दामा परिराख्ने अवस्था छ। परिवारबाट सहयोग भएरै अरुको अन्यायको लागि सडकमा बसेको हो। तर बेला–बेला ज्यान मार्ने धम्की आउँदा रिसाउँछन्। मेरो धेरै चिन्ता गर्नुहुन्छ। ‘भोलि तँलाई केही भए, हामी के गर्ने ?’ अभियुक्तबाट जोखिम जो निकै पहुँचवाला छन्। अर्को प्रहरीको पनि आँखाको तारो। प्रहरीले नै झुटा मुद्दा लगाएर थुन्न सक्छ।
पीडितले न्याय पाउँदा अपार आनन्द पीडितको बारेमा र उनीहरुको अवस्थाको बारेमा सुनाउँछु फेरि साथ पनि दिनुहुन्छ। न्यायालयबाट पीडितले न्याय पाएर खुसीसाथ बाहिर निस्कनुहुन्छ। त्यो जति सुख सन्तोष मेरो लागि केही छैन। कुनै पनि घटनामा पीडितको न्याय पाएको अवस्था नै मेरो चरमसुख हो। मिडियाले र नागरिक समाज लगायत सबैले साथ दिएर संघर्ष गर्ने हिम्मत आउँछ। हामी सत्यको बाटोमा हिँडेको मान्छेको हो। राज्यले पीडितलाई दुख दिएको देखेर दुःख लाग्छ। राज्यको संयन्त्रले पीडित पहिचान गर्न छोडेर शंका गर्नतिर लाग्छ। पीडित स्वर्गीय निर्मला कुर्मी र अभियुक्त बादशाहा कुर्मीको बीचमा रुवी खान कहाँबाट आइ भन्छ ? सरकार। मनकुमारी, गीता चमार, ललिता थारु कहाँबाट आयो ?
एक महिलाको, एक मानवको मानव अधिकार हनन भएको छ। उनीहरुको न्यायको लागि हामीले ध्यानाकर्षण गराएका छौँ तर सरकारले देख्दैन। यो सबैभन्दा दुख लाग्छ।
मानव अधिकारर्मीहरु पनि अधिकांश पार्टीको झोला बोकेर हिँडेका छन्। सरकार प्रहरीको गुटबुकमा बसेर अधिकारकर्मीले कसरी न्याय दिन सक्छन् ? गल्ती देख्दा पनि खबरदारी नगरी बसेको देख्न सकिन्छ। केही आंैलामा गन्न सकिने अधिकारकर्मी मात्रै बोल्ने गरेका छन्। दलित, समावेशी , मधेशी आयोग बोलेको देख्नुभएको छ ? छैन। संवैधानिक आयोग नै चुप छन्।
प्रहरीसँग संयुक्त राष्ट्रसंघको मानव अधिकारका लागि पालना गर्ने नम्स छ। तर त्यो अधिकार प्रयोग नगरेर सरकारको आदेश पर्खेर बस्छ। कानुनभन्दा बाहेकको आदेश सरकारले पनि दिँदैन। अहिले कुर्मीको विषयमा भएको पनि यही हो। आदेश कुरेर बसिरहेका छन्।
जघन्य अपराधको मुद्दा तत्काल अदालत लैजाने भन्ने कुरा कानुनमै स्पष्ट छ। तर लग्दैन। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले छानबिन समिति गठन हुन्छ , गृहमन्त्रीलाई भन्दिसकेको छु। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समिति गठन गरे। समिति बाँके गयो र एक प्रतिवेदन तयार ग-यो। २०७८ कार्तिक १४ गते प्रतिवेदन बुझाएको हो। त्यो प्रतिवेदन कार्यान्वयन खै ?
अहिलेसम्म कार्यान्वयन छैन। सीआइबीको उच्च टोलीले २०८० फागुन २४ गते अनुसन्धान गरेर फर्कियो। उनीहरुले प्रतिवेदन बुझाएको १० महिना हुन लाग्यो खै कार्यान्वयन ? सरकारसँग चारवटा सहमति भयो। त्यो सबै सहमति थुप्रो हेरेर बस्नुपरेको छ।
अर्को न्यायपालिका भनेको निष्पक्ष हुनुपर्छ। तर न्यायपालिकामाथि पनि बारम्बार प्रश्न उठेको छ। तेरो न्यायालय दश लाखमा किनिदिएँ भनेर एक अभियुक्तले पीडितलाई गरेको मेसेज देखियो। पछिल्लो समय न्यायापालिका माथि पूर्ण विश्वास गर्ने अवस्था छैन। अप्रत्यक्ष यस्ता घटना कति होलान् ?
मेरै केसमा प्रहरीले झुटा मुद्दा दर्ता गर्यो। बाँके जिल्लामा पक्राउ पूर्जी लग्यो। विना नामको पक्राउ पूर्जी दिएको छ न्यायाधीशले। नाम लेख्ने ठाउँमा डटडटडट थियो। त्यो श्रीमान् न्यायाधीश बर्खास्तमा परे। निर्मलाको प्रमाणको रुपमा दशवटा फाइल छन्। तर मुद्दा अदालत पुगेको छैन। प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा अदालत पुग्न दिएका छैनन्। सरकारले के कारणले रोकेको हो ? आइजीपीको मौनता के हो ? प्रमाण पर्याप्त हुँदा पनि मुद्दा अदातलसम्म जान किन नदिने ?
कुकुरले दिलाएको आत्मज्ञान हाम्रो घरको वरिपरि डुल्ने भुसिया कुकुर घर घर डुल्छ। एकपटक एक कुकुरले मेरो घरबाट डल्लो भात मुखमा बोकेर गयो। के गर्न यसले बोक्यो भनेर पछि पछि गए। केही पर एक सुत्केरी कुकुर्नी छाउरालाई दूध चुसाएर बसेकी थिइ। त्यो कुकुर्नीलाई लगेर पो भात दियो।
म त्यो दृश्य देखेर हैरान भए। पशुमा पनि परिवार हेर्नुपर्छ भन्ने चेतना हुने रहेछ। साथीभाइको ख्याल गर्नुपर्छ भन्ने विवेक रहेछ। मानव भएर मानवको अन्यायको विरुद्ध बोल्न सकेन भने के मानव ?
हल नगएको चार वर्ष भयो। नेटफ्लेक्समा महारानी हेरेँ। लालु यादवकी श्रीमती रावडीदेवीको बारेमा थियो। एक सामान्य घुम्टोभित्र बसेको महिलाले सत्तामा कसरी आफ्नो विवेक प्रयोग गर्न सक्छन् भन्ने निकै प्रेरणादायी फिल्म छ। किताबमा मलाई साहित्यमा त्यति रुचि छैन। मानव अधिकार र कानुनका विषय प्रशस्त पढ्छु। डा. अर्चना थापाको ‘आमाहरु’ भन्ने पढे।
सबैभन्दा पहिले सरकारले मुद्दा अदालत पु-याइदिन पर्यो। अर्को यहाँ यत्तिका महिला वर्षौदेखि न्यायको लडाइँमा सडकमा छन्। सबैलाई थाहा भएकै कुरा हो, घरमा एक महिलामाथि कति जिम्मेवारी हुन्छ ? त्यो सबै छोडेर यहाँ बस्नुभएको छ। हामीलाई छिटो भन्दा छिटो घर जाने वातावरण बनाइदिनुपर्यो।
म पीडितकै न्यायका लागि काम गरिरहेकै देख्नुहुनेछ। म राजनीतिमा लाग्दिन। त्यहाँ संकुचित हुन पुगिन्छ। पार्टीको ह्वीपमा बस्नुपर्नेले काम गर्न असम्भव हुन्छ।