वासिङ्टन- अमेरिकाका अधिकांश राज्यमा मतदान सकिएपछि अहिले मतगणना जारी छ । देशका ४८ राज्यमा अहिले तीव्र गतिमा गणना भइरहेको छ । हवाई र अलास्कामा भने मतगणना बाँकी छ ।
यस्तोमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा दोस्रो पटक पुग्ने निश्चित भएको छ ।
बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिनेमा ट्रम्पले अहिलेसम्म २६७ ल्याइसकेका छन् । उता डेमोक्रेटिककी उम्मेदवार कमला ह्यारिस २२६ इलेक्टोरल कलेज भोटसहित पछ्याइरहेकी छन्।
यस्तो अवस्थामा अब ट्रम्पलाई बुहमतका लागि तीन मत चाहिएको छ । ट्रम्पलाई ७ वटा स्विङ स्टेटको पनि मत मिल्दा ह्यारिसलाई पछार्ने नजिक पुगेका हुन् ।
कुनमा अगाडि
जर्जिया- ९१ प्रतिशत भोट गनिसक्दा ट्रम्प ५०.९ प्रतिशत मतसहित अगाडि छन् । नर्थ क्यारोलाइना- ८९ प्रतिशत मतगणना पूरा हुँदा ट्रम्प ५०.७ प्रतिशत मतसहित जितनजिक छन् । पेन्सिलभेनिया- यहाँ ८२ प्रतिशत मतगणना भइसकेको छ। ट्रम्पलाई यहाँ पनि ५१.३ प्रतिशत मत मिलेको छ । भिस्कन्सिन- ७० प्रतिशत मतगणना पूरी भएको छ । यहाँ ट्रम्पलाई ५०.७ प्रतिशत मत मिलेको छ । एरिजोना- यहाँ ५२ प्रतिशत मत गनिएको छ । जसमा ट्रम्प ४८.८ प्रतिशत मतसहित अगाडि छन् । मिशिगन- अहिलेसम्म ४० प्रतिशत मत गनिएको छ । ट्रम्प ५१.३ प्रतिशत मतसहित अगाडि छन् । नेभाडा- केवल २ प्रतिशत मत मात्रै गनिएको छ तर यहाँ पनि ट्रम्पलाई ७३.० प्रतिशत मत मिलेको छ ।