ब्रेकिङ स्टोरी

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

By खबरहब

January 07, 2024

काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।

पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २७ गतेको दिन तोकिएको छ । आयोगले सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगको निर्वाचन तालिकाअनुसार पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । यसैगरी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।