राजनीति

बालुवाटारमा गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबन्डालाई अन्तिम रूप दिने तयारी

By खबरहब

January 07, 2024

काठमाडौँ– सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउने अन्तिम प्रयास भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । आजको बैठकमा सरकारमा सहभागी अन्य साना दललाई बोलाइएको छैन ।

हिजो रातिसम्म बसेको गठबन्धन बैठकले सिट बाँडफाँडको प्रारम्भिक खाका तय गरिसकेको तर जनता समाजवादी र एकीकृत समाजवादी केही असन्तुष्ट रहेकाले त्यसलाई मिलाएर अन्तिम रूप दिने तयारी भइरहेको बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले भने भाग नपाउने भएका छन् ।

माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ ।