अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

January 07, 2024

आज पुस २२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीकोको सङ्ख्या २२ हजार नाघ्यो

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हजार ७२२ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।

यसै बीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताएका छन् ।

इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु

इजरायली आक्रमणमा प्यालेस्टाइनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुन् र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका थिए । युद्धको सुरुआती साताहरूमा छुट्टै इजरायली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए ।

थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेका थिए । न्यूयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेका छन् ।

बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु

बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारुढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

मुङ्शीगञ्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बीएनपीका सदस्यबीच झडप भएको छ । कम्तीमा केही बीएनपी सदस्यहरूले बन्दरगाह शहरमा ४८ घण्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्शीगञ्जका आवामी लीगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घण्टापछि स्थानीय मतदान केन्द्र नजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द

चिसो मौसमका कारण भारतको राजधानी नयाँ दिल्लीमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।

दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चिसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसीटी) का सबै सरकारी सहायता प्राप्त, गैर–सहायता प्राप्त र सरकारी मान्यता प्राप्त निजी विद्यालयहरूमा जाडो बिदा जनवरी १० सम्म लम्ब्याएको छ ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो ।

दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसमको अवस्था अत्यधिक चिसो बनेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चिसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियसको हाराहारीमा रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागहरूमा १३–१६ डिग्री सेल्सियसको नजिक रहने छ ।

यी क्षेत्रहरूमा चिसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड गरिएको छ । राजस्थान, पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्ली, उत्तर प्रदेश, उत्तरपश्चिम मध्य प्रदेश, बिहार र झारखण्डको न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको जनाइएको छ ।

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन

दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्ध अभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार वस्ती खाली गर्न आदेश दिइएको थियो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् २०१८ मा तनाव कम गर्ने सम्झौताअन्तर्गत बनेको मध्यवर्ती क्षेत्रमा गोला खसेको बताएका थिए ।

गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि उक्त सम्झौता टुटेको थियो । दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङले उत्तर कोरियाले लगातार तेस्रो दिन समुद्री सीमा नजिक ‘लाइभ फायर ड्रिल’ गरिरहेका बेला त्यहाँका बासिन्दालाई आइतबार घरभित्रै बस्न चेतावनी दिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।

“अहिले उत्तर कोरियाली सेनाले गोली चलाएको आवाज सुनिएको छ”, सबै बासिन्दालाई पठाइएको सन्देशमा भनिएको छ, “बासिन्दाहरूलाई बाहिरी गतिविधिहरूबारे सावधान रहन आग्रह गरिन्छ ।”

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले प्योङयाङले एक दिनअघि आफ्नो सीमानजिकै दर्जनौं राउन्ड गोली चलाएको भन्ने सियोलको दाबीको खण्डन गरेकी छिन् । “हाम्रो (उत्तर कोरियाली) सेनाले सामुद्रिक क्षेत्रमा एउटा पनि गोला प्रहार गरेको छैन,” किम यो जोङलाई उद्धृत गरी उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले बताएको छ ।

किमले आफ्नो देशको सेनाले ६० पटक गोली चलेको आवाजको नक्कल गर्दै सामान्य विस्फोटक पदार्थ विस्फोट गराएको र दक्षिण कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गरेकी छिन् । “हामीले अपेक्षा गरेजस्तै नतिजा आयो”, उनले भनिन्, “उनीहरूले विष्फोटक पदार्थको आवाजलाई गोलीको रूपमा गलत अनुमान गरे, यो तोपखानाको गोली हो भन्ने ठाने र निर्लज्जतापूर्वक झूट बोले ।”

“भविष्यमा, उनीहरूले उत्तरी आकाशमा गर्जनको आवाजलाई पनि हाम्रो सेनाको तोपखाना फायरको रूपमा गलत अनुमान गर्नेछन्,” उनले भनिन् ।

गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको संविधानलाई आणविक शक्तिको दर्जा दिएको र धेरै उन्नत आइसिबीएमको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौंयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

प्योङयाङको यस वर्षको अन्त्यमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामाथि आणविक आक्रमणको धम्की दिँदै सशस्त्र द्वन्द्वअघि आफ्नो देशको सैन्य शस्त्रागार निर्माण गर्न आह्वान गरेका थिए ।