तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताका लागि ब्लिन्केन इजरायलमा

By खबरहब

February 07, 2024

काठमाडौं– प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन् । 

साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिन्केनसँग दोहामा भएको भेटपछि भने, ‘जवाफमा केही थप माग समावेश भएपनि यो सकारात्मक छ ।’

ब्लिन्केनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताएका छन् । उनले अझै धेरै काम गर्न बाँकी रहेको तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए। 

इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ ।

नेतन्याहूले मंगलबार भने, ‘हामी पूर्ण जितको बाटोमा छौं र हामी रोकिने छैनौं ।’ इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ ।

संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालय ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने ‘स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।’