समाचार

सुशासनको अभियानलाई सफल बनाउनुपर्छ : सांसद शर्मा

By खबरहब

February 07, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रङ्ग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको विषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे ।

सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारवाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए ।

शर्माले जनताप्रति इमानदार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताएका छन्  । संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उनले बताए ।

शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा राखे ।