फाइल फोटो

समाचार

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

By खबरहब

February 07, 2024

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ ।

बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।

‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, उनले भने, ‘हामीकहाँ राजमार्गको अवस्था उस्तै छ तर सवारीसाधन भने बढेको बढ्यै छन् त्यसैले यो अभियान गर्न जरुरी छ ।’

प्रहरी निरीक्षक सुवेदीले यो अभियानमा सवारी चालक, पैदलयात्रीलगायत सरोकारवाला सबैलाई नैतिक शिक्षा सिकाउनुका साथै ट्राफिक नियम पालनका लागि जागृत गराउने बताए । बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५७  सवारी साधनको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनमा परी ४२ जना सख्त घाइते भएका र उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ ।

प्रहरी निरीक्षक सुवेदीले मादक पदार्थ सेवन, लापरवाही र तीव्रगतिको सवारीसाधनका कारण दुर्घटना बढ्दै जानका साथै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताए । बाँकेमा गत आर्थिक वर्षमा एक सय २४ सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको र एक सय २९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशुचौपाया मरेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारीझैँ बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।

अध्यक्ष राईले दस वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् भन्दै देशमा प्रत्येक दिन सातदेखि आठजना र वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाउनुका साथै प्रत्येक वर्ष १४ हजार चार सय व्यक्ति घाइते भइरहेका छन् भने।

अध्यक्ष राईले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बाँकेसहित देशभर सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन सुरु गरेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा यातायात व्यवसायी, मजदुरसहितको पाँच सदस्यीय सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान समिति गठन गरिएको उनले जानकारी दिए।