तस्विर एएफपी

अन्तर्राष्ट्रिय

निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा विस्फोट, १२ जनाको मृत्यु

By खबरहब

February 07, 2024

काठमाडौं– दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा भने, ‘१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।’ ‘प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,’ उनले भने।  

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, ‘यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।’ 

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । 

बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटनाहरू पनि भएका छन्, जसमा कम्तिमा दुई उम्मेदवारहरूको गोली हानी हत्या भएको छ र दर्जनौँलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ८:०० बजे मतदान शुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ ।

लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि संकलन गरेको देखिएको थियो ।

‘निर्वाचन आयोगले आफ्नो एप स्थापना गरेको छ र अन्य निर्वाचनलाई व्यवस्थित गर्न उपायहरू अपनाएको छ’, मतदान सामग्री संकलन गर्ने इलेक्ट्रोनिक जाँचलाई सङ्केत गर्दै मोहम्मद बकिरले भने, ‘काम सहज रुपमा भइरहेको छ ।’

करिब २४ करोड जनसङ्ख्या भएको विश्वको पाँचौं ठूलो देशमा करिब १२ करोड ८० लाख मतदाताले मतदान गर्न पाउनेछन् । राष्ट्रिय र चार वटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । यसमध्ये महिला र अल्पसङ्ख्यकका लागि थप ७० र क्षेत्रीय संसद्मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

सिन्ध प्रान्तका प्रहरी प्रमुख रफत मुख्तारले बुधबार कराँचीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले हरेक तहमा सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्छ ।’