काठमाडौं– चीनको जाड्रयान शहरमा आगामी वैशाख १३ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागिता रहने नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।
संघले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट र व्यवस्थापन गर्न संघका सचिव निकेश श्रेष्ठको संयोजकत्वमा सचिव गोविन्दबहादुर शाही र सदस्य योगेन घिमिरे रहने गरी तीन सदस्यीय कमिटी गठन गरिएको महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी गराएका छन् ।
खेलाडी छनोट गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका खेलाडीहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ । सो प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले विश्व थाउँलो च्याम्पियनसिप जापान र विश्व साँसौ न्याम्पियनसीप अस्ट्रेलियामा सहभागिता पाउने छन् ।
स्मरण रहोस् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई धेरै पदक दिलाउने मार्सल आर्टमा उसु खेल पनि एक हो । हालै साउदीअरबको रियाद शहरमा सम्पन्न भएको करिब १५० राष्ट्रहरूको वल्र्ड कमब्याट गेम्समा उसु खेलाडी विजय सिंजालीले नेपाललाई स्वर्णपदक दिलाएका थिए ।