समाचार

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

By खबरहब

March 07, 2024

चितवन– भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन्। एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।

दाहालले दिएको जानकारीअनुसार भेटका क्रममा वर्षौँदेखिको नेपाल-बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जानकारी दिइन्।

सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन् । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ । 

सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गरेको दाहालले जानकारी दिए।