क्रिकेट

एक दिवसीय सिरिज : आयरल्यान्डसँग फाइनल खेल्दै नेपाल ‘ए’

By खबरहब

April 07, 2024

काठमाडौं – आइतबार नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दैछ। घरेलु मैदानमा एक खेल अगाडि नै २-० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल आइतबार बिहान ९ : ३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ।

बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले शुक्रबार भएको देस्रो खेल ११४ ले पराजित हुँदै सिरिज गुमाएको हो।

सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो।

दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो। नेपाल आइतबार सान्त्वना जितको खोजीमा हुनेछ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी-२० सिरिज यसअघि नै २-१ ले गुमाइसकेको छ। नेपाल ‘ए’ले एक दिवसीय सिरिजसमेत एक खेल अगाडि नै गुमाएको हो।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालको राष्ट्रिय टिम विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।