खेलकुद

इटालियन सिरी ए : इम्पोलीसँग टोरिनो स्तब्ध

By खबरहब

April 07, 2024

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा इम्पोलीले जित निकालेको छ । गएराति भएको खेलमा टोरिनोलाई ३–२ गोलले हराउँदै इम्पोली विजयी भएको हो ।

इम्पोलीका लागि निकोलो क्याम्बियाघी, म्याटेओ क्यान्सीलेरी, एमबाये नियाङले एक–एक गोल गरेका थिए । टोरिनोका डुभान जापाटाले दुई गोल गरेका थिए ।

इम्पोलीका निकोलोले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६०औँ मिनेटमा डुभानले गोल गर्दै टोरिनोलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७४औ मिनेटमा माट्टेओले गोल गर्दै इम्पोलीलाई २–१ गोलको अग्रता दिलए । यता टोरिनोका डुभानले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर इन्जुरी समयको चौथो मिनेटमा नियाङको गोलसँगै इम्पोली ३–२ गोलले विजयी भयो ।

यो जितसँगै ३१ खेलबाट २८ अंक जोडेको इम्पोली १५औँ स्थानमा उक्लिएको छ । पराजित भएको टोरिनो ४४ अंकसहित नवौँ स्थानमा छ ।