समाचार

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

By खबरहब

April 07, 2024

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन सुरु गरेको छ ।

महानगरले गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरीवेक्षक खटाएको छ । एकजना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरेको जनाएको छ ।

महानगरका अनुसार आगामी असार मसान्तभित्र तथ्याङ्क सङ्कलन गर्ने गरी काम अघि बढ्ने छ ।

सरकाले प्रदान गर्दै आएको दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा वितरणको तयारी भइरहेको छ ।

यस्तै, काठमाडौँ बाहेकका अन्य १२ जिल्लामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । तथ्याङ्क सङ्कलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको थियो ।