फाइल तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु

By खबरहब

April 07, 2024

सुडान– सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ ।

र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन् ।

यस युद्धले ८५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सुडानको पहिलेदेखि नै कमजोर अवस्थामा रहेका पूर्वाधारहरूलाई व्यावहारिक रूपमा ध्वस्त पारेको छ र देशलाई अनिकालको सङ्घारमा धकेलेको छ ।

शनिबारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको तर सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन । आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट ८० किलोमिटर टाढा रहेको मानकिल अस्पतालका एक मेडिकल स्रोतले एएफपीलाइ दिएको जानकारी अनुसार आयतबारको आक्रमणमा २०० जना घाइते भएको र तीमध्ये केही उपचारका लागि निकै ढिलो आइपुगेको पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सेवाविहीन छन् भने बाँकी स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमताभन्दा कयौं गुणा बढी र थोरै स्रोत साधन पाएका छन् ।

द्वन्द्वका दुवै पक्षमाथि सर्वसाधारणलाई लक्षित गर्ने, आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गर्ने, लुटपाट गर्ने र सहायतामा अवरोध पुर्‍याउनेजस्ता युद्ध अपराधको आरोप लगाइएको छ ।

गत डिसेम्बरमा खार्तूमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ ।

बेलायतस्थित युद्ध अनुगमनकारी एक संस्थाका अनुसार मार्चसम्ममा देशभरका कम्तीमा १०८ गाउँ र बस्तीमा आगो लगाइएको र यसबाट ‘आंशिक वा पूर्ण रूपमा घरहरू नष्ट’ भएका छन् ।