समाचार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता 

By खबरहब

April 07, 2024

काठमाडौं– सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले संसद् सचिवालयमा दर्ता भएको उक्त विधेयकलाई फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा कार्यरत व्यक्तिको कार्यकाल समाप्त भएपछि स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक विशेष पद संख्या दुई सिर्जना गर्ने निर्णय गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्  । त्यस्तै नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताइन् ।

बैठकले ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजिकरण निर्देशिका २०८० स्वीकृत समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।