फाइल फोटो

राजनीति

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

By खबरहब

May 07, 2024

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफलपछि बालकुमारी फर्किएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रचण्डसँग छलफलपछि उनी नयाँ रणनीति निर्माणका लागि केन्द्रीय कार्यालय बालकुमारी पुगेका हु्न् ।

उनी अहिले त्यहाँ जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफलमा छन् । संघीय परिषद् अध्यक्ष अशोक राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएका हुन् ।

यस्तोमा पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग लामो छलफलपछि उनी बालुवाटारबाट बालकुमारी पुगेका हुन् ।

अमेरिका भ्रमण टुङ्ग्याएर मंगलबार बिहान १ बजे काठमाडौं आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गरेका छन् ।

‘अहिले अध्यक्षज्यू पार्टी कार्यालयमा आन्तरिक छलफलमा हु्नुहुन्छ’, स्वकीय सचिव महेश चौरसियाले भने, ‘सम्भावित रणनीति निर्माणका लागि अनौपचारिक संवादपछि पार्टी बैठक बस्ने छ ।’

यावदले मंगलबार बिहानै बस्ने गरी संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए । तर अहिलेसम्म उक्त बैठक बस्न सकेको छैन ।

यादवले अहिले आफ्नो पक्षमा रहेका जसपाका ५ सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल गर्दैछन् ।

उक्त छलफलपछि नयाँ रणनीति बनाउन उनले संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्ने भएका छन् ।