अन्तर्वार्ता

‘नेता र सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउनमात्रै काम गर्छ’

By कृष्ण तिमल्सिना

May 07, 2024

पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । उपचुनाव नयाँ राजनीतिक शक्तिहरू स्थापित गर्ने एउटा मानक बन्न सक्छ भन्ने धेरैको विश्लेषण थियो । तर, इलाममा नेकपा (एमाले)ले आफ्नो वर्चस्व जोगाएको छ र बझाङमा नेपाली कांग्रेसले आफ्नो विरासत त्याग्नु परेको छ । तर नयाँ राजनीतिक शक्तिको अनुकूलमा पछिल्लो उपनिर्वाचन देखिएन ।

नयाँ राजनीतिक पार्टीहरू किन राजनीतिमा  बलियोगरी स्थापित हुन सकिरहेका छैनन् ? राजनीतिमा अधिकांश शक्ति र सिद्धान्त प्रयोग हुँदा पनि समृद्धितर्फको यात्रा किन अस्थिर  छ ? नियमित रूपमा समय आफैँले कोर्ने प्रगतिको सरल रेखा बाहेक समृद्धिको कुनै लोभलाग्दो राजमार्ग बने ? यिनै विषयमा जोडिएर पूर्वसचिव एवम्‌ विश्लेषक किशोर थापासँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश : 

नयाँ राजनीतिक पार्टीहरू किन स्थापित हुन सकिरहेका छैनन् ?

नेपालमा २०/२५ वर्षदेखि एकखाले राजनीतिक दलका नेताहरूको रजगज छ । उनीहरूले राज्यसत्ताको सदुपयोग वा दुरुपयोगमार्फत दोहन गरेका छन् । आफ्ना कार्यकर्ताको पालनपोषण पनि गरेका छन् । त्यसैले यो उपचुनाव परिणामले कुनै पनि राजनीतिक दलको मूल्याङ्कन गर्न मिल्दैन ।

चुनावी परिणाममा  धेरै तत्त्वले काम गरेको हुन्छ । यसमध्ये पनि मुख्य तत्त्व संगठन, संगठनभित्र पनि कति बफादार कार्यकर्ता छन्‌ ? कार्यकर्ता भन्दा पनि दास छन्‌ कि छैनन्‌ ? त्यो पनि हेर्नुपर्छ ।

अर्को, गरीब मुलुकका गरीब जनताको मत प्रभावित गर्न पैसाले काम गर्छ । कतिपयमा डर-धम्कीले पनि काम गर्छ । ‘यो मान्छेलाई भोट हाल्यो भने जागिर पाउँछु, यसले विकास गर्छ’ भन्ने कु-संस्कार नेपाली समाजमा यसरी गढेको छ कि त्यसलाई भत्काउन एकदमै गाह्रो छ ।

चुनाव जित्न कुन मानकले काम गर्‍यो  त ? 

नेपाली समाजमा विकास ‘नेताले गरिदिन्छ, मैले गर्ने हैन’ भन्ने छ । ‘मेरो सबै दानापानी नेताले ल्याइदिन्छ’ भन्ने सोचले पनि यहाँ काम गर्छ । त्यसकारण यहाँ नेतामुखी/सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउन राम्रै काम गर्छ ।

विकास नेताले गर्छ, भ्रष्टाचार  र कुशासन चाहिँ कर्मचारीले मात्रै गर्छन् भन्ने पनि स्थापित भएको छ ।  अझ फलानो नेता दिवङ्गत भएपछि उसका छोरा, छोरी, बुहारी, आफन्तलाई जिताउनु पर्छ भन्ने नेपाली मानसिकता छ । त्यसले पनि चुनावको परिणाममा असर पर्छ ।

जनतामा एक किसिमको इमोसनल ब्ल्याकमेलिङ (भावनात्मक सौदाबाजी)ले पनि काम गर्छ । नेपालमा अर्को मान्छेलाई अवसर दिनुपर्छ, राम्रो गर्छ भन्ने नै छैन ।

भ्रष्टाचार, कुशासन र अनियमितता चिर्न यो ३०/३५ वर्षमा कुनै राजनीतिक पात्र आएनन् ? 

बौद्धिक र देशलाई माया गर्ने व्यक्तिहरू यहाँ टिक्न नसकेर विदेश पलायन भएका छन्‌ । यहाँ भएकाहरू; जो देशका लागि सोच्छन् : उनीहरू पनि बाहिर जाने सोचमै देखिन्छन्‌ । ‘मेरो भविष्य यो देशमा छ, देश बन्यो भने मलाई पनि राम्रो हुन्छ’ भन्ने वर्ग नै कम भइसक्यो ।

राजनीति भनेको समाजको प्रतिविम्ब हो । नेपाली समाजको वर्तमान अवस्था जस्तो छ : हामीले पाउने नेता पनि त्यस्तै हो । तिनका हर्कत पनि त्यस्तै हुने हो । समाजको चरित्रभन्दा राजनीति फरक हुँदैन ।

सत्ता वरपर लट्पटिने र लाभ लिने पात्र मात्रै छन्‌ यहाँ । तिनलाई सोध्ने हो भने ‘सबै राम्रो भएको छ, फाइदा छ’ भन्छन् । उनीहरूले त २००७ साललाई ४६ सालको समाजमा ल्याएर जोडिदिन्छन् । त्यो बेला कस्तो थियो, अहिले के भयो त भनेर त्यो बेलाको ब्याज अहिलेसम्म खाइरहेका छन् । जसले यो ब्याज खान्छ वा खुवाउँछ – त्यो समाजले उन्नति गर्न गाह्रो छ ।

गत चुनावमा केही असन्तुष्टिको झिल्को देखियो भन्थ्यौँ, त्यो सन्दर्भ र यो सन्दर्भमा के फरक हो ? 

नयाँ राजनीतिक दलको उम्मेदवार कस्तो छ, उसको पृष्ठभूमि कस्तो छ, यसले पनि फरक पर्छ । त्यस कारण इलामको चुनावमा कुनै एक राजनीतिक दल पराजित भयो । अब अन्त पनि पराजित हुन्छ भन्ने हुँदैन ।

त्यहाँ मतदाताको रूझान कस्तो छ, अरू दलका नेताको दबाब कस्तो पर्छ, त्यसले पनि फरक पार्छ । एक ठाउँमा हार्दैमा सकियो भन्नु हुँदैन । अरू ठाउँमा जित्न सक्छ ।

के मा असफल हुँदा हामी वर्षाैंदेखि निराशावादी कोषबाट संवाद गरिराखेको छौँ ? 

नेपाली समाजमा निराशाको खेती धेरै भइरहेको छ । एक नेपालीले गरेको काम अर्कोले तारिफ गर्न नसक्ने, खोटमात्रै/दोषमात्रै खोजिरहने सोच छ । यसले हामीलाई अगाडी लैजाँदैन ।

नेपालका राजनीतिक दल नेता हेर्दा र तिनका भाषण सुन्दा एकले अर्कोलाई दोष नै लगाउनुपर्ने, आफूले कुनै काम राम्रो गर्न नपर्ने, क्षमता पनि प्रदर्शन गर्न नपर्ने र अरूलाई दोष लगाउने समाजको हामीले विकास गरेको छौँ ।

राजनीति भनेको समाजको प्रतिविम्ब हो । नेपाली समाजको वर्तमान अवस्था जस्तो छ : हामीले पाउने नेता पनि त्यस्तै हो । तिनका हर्कत पनि त्यस्तै हुने हो । समाजको चरित्रभन्दा राजनीति फरक हुँदैन ।

असन्तुष्ट जमात यसैगरी क्षयीकरण हुँदै सिद्धिएरै जान्छ ? कुनै आकार लिँदैन ? 

आकार लिन्छ जस्तो लाग्दैन । किनकी हामी एकको दुर्गति हेर्दा ताली बजाउँछौं भने त्यो समाजमा उन्नति हुँदैन ।

उन्नति हुन त कमजोरलाई अर्कोले उठाउनुपर्‍यो, अर्काले सहयोग गर्नुपर्‍यो, कसैले गल्ती गर्‍यो भने सुधार्न लगाउनुपर्‍यो । एकले अर्कोलाई सिद्धाउन लागेपछि कसरी बन्छ त !

यो सन्दर्भको पनि कुनै सीमा होला, कुनै रूपबाट अर्को प्रणाली या संविधान बन्ला, देश बच्ला भनी आशा गर्न सकिँदैन ? 

नागरिक समाजले इमानदार भएर देश र समाजको लागि सोच्ने र बोल्दिने गर्‍यो भने यो विकृति र विसङ्गतिहरू धेरै कम भएर जान्छ । तर त्यो नागरिक समाज भन्ने नै डलरको पछि लागेर उनीहरूले गरेका गलत कामलाई सपोर्ट गरिदिने, त्यसैमा ताली बजाइदिने गरेपछि कसरी हुन्छ त !

म कहिलेकाहीँ विश्वविद्यालयमा पढाउन जाँदा त्यहाँ विद्यार्थीका कुरा सुन्दा यो देशमा सबै कुरा सकिएको भत्किएको जस्तो लाग्दैन । यिनीहरूलाई सही नेतृत्व दिन सकियो भने समाजलाई सही बाटोमा लैजान्छन्‌ ।

स्वतन्त्र नागरिक थोरै छन् । तिनीहरूको आवाजलाई मिडिया र अरू कसैले पनि सुनेका छैनन् । त्यसमा मिडियाले उनीहरूको विचार जनमानसमा पुर्‍याउनुपर्‍यो अब । अब कोही पनि व्यक्ति स्वतन्त्र हुन सक्दैन । कुनै दलमा आबद्ध नभएपछि त यो देशको नागरिक नै कहलिँदैन भन्ने भाव स्थापित भएकोले मान्छेलाई स्वतन्त्र भएर बाँच्न पनि गाह्रो भयो । त्यसैले दबिएका स्वरहरूलाई मिडियाले उजागर गरिदिनुपर्‍यो ।

राजनीतिका बकम्फुसे भाषण मात्रै प्रचारप्रसार गरिदिनु भएन । अब हामीले पार्टी या नेता होइन, देश बचाउने हो । देश बचाउन समाजबाट विकृति-विसङ्गती हट्नुपर्‍यो । अनि मात्रै देश राम्रो हुन्छ ।

नेपालमा बाँकी रहेका युवामा त्यो चिन्तन पाउनुहुन्छ ? 

पाएको छु । म कहिलेकाहीँ विश्वविद्यालयमा पढाउन जाँदा त्यहाँ विद्यार्थीका कुरा सुन्दा यो देशमा सबै कुरा सकिएको भत्किएको जस्तो लाग्दैन । यिनीहरूलाई सही नेतृत्व दिन सकियो भने समाजलाई सही बाटोमा लैजान्छन्‌ ।

तर, ती मान्छेहरूलाई नै दुरुपयोग गरेर दास बनाएर विभिन्न प्रलोभन देखाएर आफ्नो पार्टी वा गुटमा छिराइदिने हो भने त तिनीहरू पनि सिद्धिन्छन् नि ! तिनीहरूलाई कसरी जोगाउने भन्ने हो । यो बीउ जोगाउन नै गाह्रो भयो ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले पहिले देउवा गलत भने, ओलीसँग उभिए । पछि ओली गलत भने, देउवातिर उभिए । यस्तो जगमा उभिएका नेताहरूले युवाहरूको नेतृत्व गर्न सक्छन्‌ ?

स्वतन्त्र नागरिक समाजले ‘राजनीति भनेको नै सबै कुरा हैन, सबै नीतिको राजा हो, तर बाँच्नका लागि कृषि व्यवसाय चाहिन्छ’ भनी बुझाउनुपर्छ । सबै जनताले अहिले गर्नुपर्ने मुख्य काम आफ्नो जिम्मेवारी र उद्यममा दायाँबायाँ नगरी उन्नतितर्फ लाग्ने हो । त्यसो गरे समाज त विकास भइहाल्छ ।

सत्तामा पुगेर कसरी कमाउने भन्ने कुरा त उनीहरूले विकास गरे, तर राज्यसत्ता उपयोग गरी जनता र राष्ट्रको विकास कसरी गर्ने भन्नेतर्फ गएनन् । झ्याप्पै प्रधानमन्त्री हुने र त्यसलाई छिर्के हाल्न अर्को विपक्षी तयार भएर बस्ने भयो 

अहिले चाहिँ व्यापारीले आफ्नो काम नगर्ने, कर्मचारीलाई दोष लगाइदिने, कर्मचारीले पनि आफ्नो काम नगर्ने, नेतालाई दोष लगाइदिने दुष्चक्र चलिरहेको छ । त्यही दुष्चक्रमा समाज घुमिरहेको छ । त्यसैले अर्कालाई दोष लगाउने हैन, आफूले आफैंलाई ठीक गरियो कि गरिएन भनेर दोषको जिम्मेवारी लिनुपर्छ ।

सबै कुरा कुरा यही परिवेशबाट आइरहेको छ, के अब शून्यताबाट समाज परिवर्तन गर्नुपर्ने हो ? 

हामी सबैले गर्‍यौँ भने नहुने हैन । जस्तो बागमती कालो/हरियो लेदोले भरिएको थियो । अहिले केही हदसम्म सफा भएको छ ।

समाज परिवर्तन पनि हुन्छ । हामी लाग्नुपर्छ । अहिले भित्रिएका विकृति या कुसंस्कार अरूलाई दोष लगाउने प्रवृत्तिबाट हट्दैन । हामी इलम, उद्यम, व्यवसाय र पेसामार्फत उत्पादनमा लाग्नुपर्छ । हामी आफू उत्पादन नगर्ने, उपभोग मात्रै गर्ने भयौँ ।

विशिष्ट अवसरमा राजनीतिक नेतृत्वले विवेक गुमाउँदा हामी यो निराशावादी बाटोमा गएका हौं ? 

नेपालका राजनीतिक दलहरूलाई ठूलाठूला अवसर मिलेको छ । वि.सं. २०४६ सालदेखि विश्वास गरेर, चुनावमा भाग लिएर जनताले सत्तामा पुर्‍याइरहेका छन् ।

अहिले नेपालमा चलनचल्तीको राजनीति झन्डै दोस्रो विश्वयुद्धपछि खडा भएको विश्व परिवेशमा आधारित छ । त्यसैले पुरानो विश्व भू-राजनीतिमा आधारित भई पार्टी खोलेर रमाएकाहरू विस्तारै कमजोर हुँदैछन्‌ । नयाँ राजनीतिक शक्तिको उदय हुन्छ, त्यो कुन तरीकाले हुन्छ भन्ने मात्रै हो 

सत्तामा पुगेर कसरी कमाउने भन्ने कुरा त उनीहरूले विकास गरे, तर राज्यसत्ता उपयोग गरी जनता र राष्ट्रको विकास कसरी गर्ने भन्नेतर्फ गएनन् । झ्याप्पै प्रधानमन्त्री हुने र त्यसलाई छिर्के हाल्न अर्को विपक्षी तयार भएर बस्ने भयो । कसैले राम्रोसँग काम गर्नै पाएनन्‌ र सकेनन्‌ पनि । उनीहरूले गरेको काम पनि यो ठीक र यो बेठिक भनी विश्लेषण गर्न सकिएन ।

अहिले देशैभर डढेलो लागेको छ । कुन राजनीतिक दलको बैठकमा यसबारे छलफल भएको छ त ! छैन । हाम्रा यति लाख कार्यकर्ता छन् भन्छन् । त्यहाँ लाख हैन, हजार कार्यकर्तालाई पनि इमानदारिताका साथ लगाइदियो भने त समाधान हुन्थ्यो नि !

२०८४ सम्म राजनीति कुन ढङ्गले अघि बढ्ने देख्नुहुन्छ ? 

यसलाई भू-राजनीतिक हिसाबले हेर्नुपर्छ । अहिले नेपालमा चलनचल्तीको राजनीति झन्डै दोस्रो विश्वयुद्धपछि खडा भएको विश्व परिवेशमा आधारित छ ।

दोस्रो विश्वयुद्धपछिको परिदृश्य हामीले देखिरहेको छौँ । हाम्रो छिमेकीहरूको जसरी उदय भइरहेको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकाको जुन वर्चस्व थियो – त्यो कम हुँदै आएको छ । त्यसको असर हामीकहाँ पनि परिरहेको छ ।

त्यसैले पुरानो विश्व भू-राजनीतिमा आधारित भई पार्टी खोलेर रमाएकाहरू विस्तारै कमजोर हुँदैछन्‌ । नयाँ राजनीतिक शक्तिको उदय हुन्छ, त्यो कुन तरीकाले हुन्छ भन्ने मात्रै हो ।