अन्तर्राष्ट्रिय

भारत : सुरक्षा कारबाहीमा पाँच माओवादी मारिए

By खबरहब

June 07, 2024

एजेन्सी – भारतको छत्तीसगढ राज्यमा प्रहरीसँगको मुठभेडमा पाँच माओवादी कार्यकर्ता मारिएका छन्‌ । सो राज्यको माओवादी प्रभावित बस्तर क्षेत्रमा दोहोरो भीडन्तमा पाँच जना माओवादी कार्यकर्ताहरू मारिएका प्रहरीले जानकारी दिएको हो ।

शुक्रबार दिनभरजसो सो इलाकामा भीडन्त भएको बीबीसी हिन्दीमा खबर छ । प्रहरीका एक शीर्ष अधिकारीले पनि बस्तर, दन्तेवाडा, कोन्डागाउँ र नारायणपुरका डिस्ट्रिक रिजर्भ गार्ड र भारत-तिब्बत सीमा प्रहरीले माओवादीविरुद्ध सुरक्षा कारबाही चलाएको जानकारी दिएका छन्‌ ।

सुरक्षा कारबाही क्रममा गोबेल क्षेत्रमा माओवादीसँग ठूलो मुठभेड भएको बताइएको छ । कारबाही चलाइएका सबै क्षेत्रबाट माओवादी छापामारको शव बरामद भएको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्‌ ।

मारिएका माओवादीहरूको पहिचान हुन नसकेको, तर उनीहरू छापामार पोशाकमा हतियारसहित रहेका पाइएको प्रहरीले दाबी गरेको छ ।

माओवादीसँगको भीडन्तमा आफ्ना तीन जवान पनि घायल भएका प्रहरीले जानकारी दिएको छ ।