ब्रेकिङ स्टोरी

मनसुनसँगै सरुवा रोगको प्रकोप, बच्न के गर्ने ?

By पवन मुडभरी

July 07, 2024

देशभर केही दिन यता मनसुन सक्रिय भएको छ। शनिबार दिनभरको अविरल वर्षाले देशभर बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ। यो मौसममा सरुवा रोगको संक्रमण पनि बढ्ने गर्दछ।

बिगतका वर्षमा झाडापखाला, हैजा, डेङ्गुलगायत सरुवा रोग महामारीकै रुपमा फैलिएका थिए। अहिले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए। सबैभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगु सङ्क्रमण देखिएको छ।

सबैभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगु सङ्क्रमण देखिएको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फुलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। रोग शाखाका प्रमुख डा. दाहालले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. मुकेश पौडेलका अनुसार अहिले फाट्टफुट्ट रुपमा पानीजन्य सरुवा रोग देखिन थालेका छन्। जसको निगरानी भइरहेको छ।

प्रदूषित पानीका कारण देखिने रोग झाडापखाला प्रदैषित पानीका कारण यो मौसमा देखिने मुख्य सरुवा रोग झाडापखाला हो। वर्षाको समयमा हामीले खाने धेरैजसो पानी प्रदूषित हुने हुँदा झाडापखला देखिने गर्छ। झाडापखालाबाट विशेष गरी बालबालिका बढी नै प्रभावित हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर बताउँछन्। सहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ। यस मौसममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुदाँ झाडापखला धेरै देखिने गरेको उनको भनाइ छ।

टाइफाइड मनसुनको बेलामा धेरैमा संक्रमण भनेको टाइफाइड ज्वरो देखिने हो। साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन्। तर टाइफाइड भएका बिरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जीवाणुहरु भेटिन्छन्। प्रदूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणु देखिन्छन्। यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ। यसले आक्रमण गरेपछि मानिसको शरीरमा हनहनी ज्वरो आँउछ। त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुन्छ। शरीर गल्ने, खान मन नलाग्ने लक्षण देखिने गर्दछन्।

जन्डिस हामीले खाने कुरा र पानीले गर्दा यो मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात् जन्डिस हो। बासी खाने कुरा र प्रदूषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खाने कुरा खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्वरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो।

शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खाने कुरा खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ।

आउँ र हैजा हामीले खाने प्रदूषित पानी र खानेकुराले गर्दा यो मौसममा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपूर्ण अगंले काम गर्न छोड्ने हुन्छ। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

किटजन्य रोग वर्षायाम सुरु भएसँगै पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्छ । यसरी बसेको लामखुट्टेको टोकाइबाट डेंगु फैलिने गर्दछ। अहिले पनि देशका ७३ वटा जिल्लामा देखा परेको र यसलाई फैलिन नदिन तयारी अवस्थामा बस्नुपर्ने डा.पौडेल बताउँछन्। बाढी आइसकेपछि पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्ने गर्छ। यसरी बसेको लामखुट्टेको टोकाइले किटजन्य रोग डेंगु, मलेरिया , स्क्रब टाइफर्स लाग्ने सम्भावना हुन्छ। त्यसैले यस्ता संक्रमणबाट बच्न घरबाहिर निस्कदा बाक्लो कपडा लगाउने। धेरै झाडी भएको ठाउँमा नजाने तथा सुत्दा झुल प्रयोग गर्नुपर्छ।

यस्ता रोगबाट कसरी बच्ने ? पानी उमालेर खाने वर्षाको बेलामा धेरै बाढी पहिरो आउने गर्छ। जसले गर्दा हाम्रो घरवरपरको खानेपानीको मुहानमा बाढी पसेर खानेपानीको मुहान प्रदूषित पार्ने गर्छ। यसरी बाढी पसेको पानी हामीले सेवन गर्न बाध्य हुन्छौँ। जसले गर्दा हामीलाई झाडापखला, आउँ जस्ता संक्रमण देखिने गर्छ। त्यसैले पानीलाई उमालेर खाने गर्नुपर्छ। यदि पानी उमालेर खान नसक्ने अवस्था आएमा पानीलाई निर्मलिकरण गर्नुपर्छ। पानीमा कोलोरीन भए पनि राखेर खानु राम्रो हुन्छ। पानीलाई कम्तिमा एक मिनेटसम्म उमालेर खाने गर्दा यस्ता रोगहरु बाट बच्न सकिने चिकित्सकको सुझाव छ।

व्यक्तिग सरसफाइमा ध्यान दिने सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ। यो मौसममा प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुदाँ हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

दूषित पानीबाट लाग्ने रोगबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु र हात धोएर मात्र खानेकुरा खानु नै हो। जथाभावी दिसापिसाब गर्नु हुँदैन। खानेकुरालाई राम्रोसंग पकाएर खानुपर्छ। यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ। दिसा गरिसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना दिनु अगाडि साबुन पानीले हात धुनु आवश्यक हुन्छ। विशेष गरेर बालबालिकालाई यस्ता रोगले सताउने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

घरबाहिर मास्कको प्रयोग यस मौसममा बासी तथा काँचो खानेकुरा खानु हुँदैन। घरबाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्नुपर्छ। बाढीले विभिन्न खालका जीवजन्तुलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ। जसले गर्दा दुर्गन्ध फौलिने गर्छ। यस्ता दुर्गन्धले हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ। त्यसैले बाहिर निस्कदा मास्कको प्रयोग गर्नु राम्रो हुन्छ।

 

के छ पूर्वतयारी ? सरकारले दुई वर्षअघि पूर्व तयारी स्वरुप द्रुत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूह निर्देशिका तयार पारेको र सोही अनुसार पालिका स्तरमा पनि द्रुत प्रतिकार्य टोली हुनुपर्ने अवधारणा छ। सो टोलीले पूर्वतयारी, रोकथाम र उचारका काम गर्ने गर्दछन्। सोही अवधारणा अनुसार त्यो टोलीलाई पूर्वतयारी, रोकथाम र उपचारका काम गर्न महाशाखाले निर्देशन दिइसकेको डा.पौडेलले बताए। केही ठाउँमा यी टोलीहरु मर्फत चेतनामुलक कार्यक्रमहरु भइरहेका छन्।

ग्रामीण क्षेत्रमा पानीजन्य सरुवा रोगको प्रकोप अझ बढी हुने भएकाले ती क्षेत्रको पानीको परीक्षण गर्ने गरिएको छ। यी रोगहरु फैलिनमा व्यक्ति तथा गाउँ समाजको पनि त्यत्तिकै जिम्मेवारी हुने भएकाले सरकारले एक्लैले मात्रै गरेर केही हुँदैन। मानिसहरु आफै सचेत भएर सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।