खेलकुद

युरो कपका आकर्षण

By मनोज घिमिरे

July 07, 2024

आयोजक जर्मनी घरेलु भूमिमा जारी युरो कप २०२४ को क्वाटरफाइनलमा पराजित भएर बाहिरिएको छ। प्रतियोगिताबाट बाहिरिए पनि जर्मनीले केही पाएको छ। फ्लारेन रिट्ज र जमाल मुसियालाको रूपमा २ स्टार जर्मनीले पक्कै पाएको हो। यी २ स्टारको लामो समयसम्म विश्व खेलकुदमा छाउने अनुमान गरिएको छ। क्वाटरफाइनलसम्मको परिणाम र खेल स्तरलाई हेर्ने हो भने यी दुवै खेलाडी गोल्डेन बलका प्रबल दाबेदारको रूपमा समेत रहेका थिए।

जर्मनी मात्र होइन स्पेनले पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ। यसै प्रतियोगितामा स्पेन र जर्मनी बिचको क्वाटरफाइनल खेललाई अहिलेसम्मको उत्कृष्ट मानिन्छ।

स्टार खेलाडीले भरिएको स्पेनका लागि क्वाटरफाइनलमा पहिलो गोलको अग्रता दिलाउनुको साथै विजयी गोलको लागि उत्कृष्ट क्रस गरेका डानी अल्मो यस प्रतियोगिताको अहिलेसम्मको स्टार पक्कै हुन्। त्यसो त स्पेनका फाबियन रुइजले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

प्रतियोगितामा टर्की क्वाटरफाइनलबाट बाहिरिइएको छ। टर्कीले क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना पनि कमैले आँकेका छन्। टर्कीले क्वाटरफाइनलमा पनि दाबेदार मध्यको एक नेदरल्यान्ड्सलाई पहिलो हाफमा दबाब दिएको थियो।

खेलमा नेदरल्यान्ड्सले स्टेभन बेरोगजीनलाई बाहिर राखेर वेग र्हस्टलाई मैदान प्रवेश गराएको थियो। यसरी मैदान प्रवेश गराउनु पूर्वसम्म पनि टर्कीले लगातार दबाब दिएको थियो।

टर्कीको तर्फबाट आर्डा गुलरले उत्कृष्ट प्रदर्शन गरेका थिए। क्वाटरफाइनल खेलको म्यान अफ द म्याच पनि उनी घोषित भएका थिए।

जर्मनीको यात्रामा भेट्रान टोनी क्रुजको प्रदर्शन पनि कम्ती दमदार थिएन। यस वर्षको सुरुवातमा अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका उनको क्वाटरफाइनल अगाडि नै १३ पटक गोलको अवसर सिर्जना गरेका थिए। ९५ प्रतिशत भन्दा बढी पासीङको एक्युरेसी भएका कारण पनि उनलाई यस प्रतियोगितामा छाएका खेलाडीको रूपमा हेरिएको हो।

डिफेन्सीभ मिडफिल्डर रोड्रीको बल माथिको नियन्त्रण नै गजब छ। यसै कारण उनी व्यावसायिक फुटबलमा म्यानचेस्टर सिटी तथा स्पेनको राष्ट्रिय टोलीका लागि उत्तिकै प्रदर्शन गर्न सफल भएका छन्। पहिलो खेलमा धेरै प्रभावशाली नदेखिएका रोड्री त्यसको खेलमा जमेका छन्।

यस पटक फ्रान्सका केलिपन एम्बाप्पेले धेरै गोल गर्न सकेका छैनन्। उनले १ गोल मात्र गरेका छन्। उनले पोल्यान्डसँगको खेलमा पेनाल्टीमा गोल गरेका हुन्। तथापि उनले विपक्षी माथि लगातार दबाब दिएका छन्।

फ्रान्सका मिडफिल्डर उनलाई बल उपलब्ध गराउन असफल भएका कारण उनी गोल गर्ने क्रममा भने पछि परेका हुन्।

पोर्चुगल पनि युरो कपबाट बाहिरिइसकेको छ। फ्रान्ससँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको पोर्चुगलका ब्रुनो फर्नान्डेज यस प्रतियोगितामा छाएका खेलाडी हुन्।

 

क्वाटरफाइनलसम्मको यात्रामा उनले ६ पटक गोलको अवसर सिर्जना गरेका थिए। लामो पासमा समेत उनी उत्कृष्ट ठहरिएका छन्। बलमाथि नियन्त्रण र आक्रमणलाई दरिलो बनाउने क्रममा उनी पोर्चुगल टोलीको मुख्य आधार नै बनेका थिए।

युरो कपमा स्वाभाविक रूपमा इङ्लिस टोलीमा हेरी केन, जुड वेलिङघम र साकाको चर्चा हुने गरेको छ। तर, टोलीका एक जना खेलाडीको भूमिका भने महत्त्वपूर्ण छ। रक्षक मार्को गुहेइको खेल इङ्गल्यान्डको यस यात्रामा साँच्चै महत्त्वपूर्ण रहेको छ।

त्रिस्टल प्यालेसका यी खेलाडी सुरुवाती दिनमा पहिलो रोजाइमा पर्ने सम्भावना कमै थियो। हेरी मानक्यरको अनुपस्थितिमा उनले अवसर पाएका थिए। यसपछि उनले इङ्लिस टोलीमा आफ्नो आवश्यकता पुष्टि गरेका हुन्।

क्वाटरफाइनल खेल अगाडि मात्र उनले ६ पटक राम्रो गोलको अवसरबाट विपक्षीलाई विमुख बनाएका थिए। उनी यस प्रतियोगिताका साँच्चै हेर्न लायक रक्षक हुन्। नेदरल्यान्ड्ससँगको सेमिफाइनलमा उनको थप परीक्षण हुनेछ। हेड बलमा प्राय उनी सफल भएका छन्। यस कारण पनि इङ्गल्यान्ड विरुद्धमा एयर बलमा खासै आक्रमण भएको छैन।

ग्रानिट झाका य प्रतियोगिताको एउटा आकर्षण हुन्। स्विट्जरल्यान्डको क्वाटरफाइनल सम्मको यात्रामा उनी प्रभावशाली ठहरिए। रमो क्रयवरसँगको उनको जोडी दमदार बनेको थियो। स्विजरल्यान्डको टोलीमा परफेक्ट पास गर्न उनी माहिर थिए।

बलमा प्रभावमा पनि उनी अन्य सबै स्विजरल्यान्ड खेलाडीको भन्दा बढी अब्बल रहे। क्वाटरफाइन्लमा इ्ग्ल्यान्डसँग पराजित भए पनि उनले प्रतियोगितामा थप छाप छाड्न सफल भएका छन्।

नेदरल्यान्ड्सका रक्षकले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको देखिन्छ। अहिले सेमिफाइनलमा प्रवेश गरेको नेदरल्यान्ड्सले यी चार टोली मध्य सबैभन्दा धेरै गोल पनि खाएको छ।

यसका बाबजुद नेदरल्यान्ड्सलाई सेमिफाइनलको यात्रा गराउने क्रममा कोडी गाप्कोको भूमिका महत्त्वपूर्ण छ। उनले ३ गोल गरेका छन्। सबै भन्दा धेरै अन टार्गेट सर्टमा पनि उनी अन्य डच खेलाडी भन्दा धेरै अघि छन्। बल माथिको नियन्त्रण र पासमा अचुक भएका कारण उनी प्रतियोगिताका साँच्चै हेर्न लायक खेलाडी हुन्। इङ्गल्यान्डविरुद्धको सेमिफाइनल खेलमा उनको प्रदर्शन हेर्न लायक हुनेछ।

टर्कीको यो यात्रामा फडीए काडीग्लुको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको थियो। गुलरसँगै टर्कीको सेमिफाइनल यात्रामा उनको भूमिका उत्तिकै महत्त्वपूर्ण र शानदार थियो। यी बाहेक अन्य केही खेलाडीले साँच्चै उत्कृष्ट प्रदर्शन गरे। तर उनीहरू सहभागी टोलीले लामो यात्रा गर्न सकेन । युरो कपमा धेरै प्रभावशाली देखिने खेलाडीमा अल्बानियाका अल सायद हसाज पनि हुन्। अल्बानिया यस प्रतियोगिताको साँच्चै कठिन समूहमा थियो अल्बानिया रहेको समूहमा इटाली, स्पेन र क्रोएसिया थिए।

अस्ट्रियाले समूह चरणमा फ्रान्स र नेदरल्यान्ड्सलाई पछि पार्दै समूहमा पहिलो स्थान पाएको थियो। समूह चरणको त्यो सनसनीमा क्रिस्टोफ बाउमगार्टनर प्रमुख थिए। बेल्जियममा केभिन डु ब्रायनले फ्रान्ससँगको पराजय भए पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। दोस्रो चरणसम्मको यात्रामा उनले १२ पटक गोलको अवसर सृजना गरेका थिए।

क्रोएसियाका जस्को गार्डियल, चेक गणतन्त्रका टामास साउसेक र डेनमार्कका रसमस हजलन्ड लगायतले साँच्चै उत्कृष्ट प्रदर्शन गरे। स्रोतः बिबिसी, एनबीसी स्पोर्ट्स