राजनीति

एमाले र कांग्रेस मिलेपछि माधव नेपालको दोकान बन्द भयो : महेश बर्तौला

By खबरहब

July 07, 2024

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँगको समीकरणपछि एकीकृत समाजवादी पार्टीको दोकान बन्द भएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा बर्तौलाले यस्तो बताएका हुन् ।

माधव नेपालले कांग्रेस-एमाले समीकरण सन्देहास्पद रहेको र सरकार पनि बनिनसकेको भनेर गरेको टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा बर्तौलाले अब माधव नेपालको बार्गेनिङ पनि सकिएको बताए ।

‘उहाँलाई त त्यस्तै लाग्छ, उहाँलाई हामीले यस पटक जोडबल गरेनौँ। कांग्रेस र एमालेको सहमतिले उहाँको दोकान बन्द हुने भयो’, उनले भने, ‘संसद्को गणित देखाएर उहाँले जे बार्गेनिङ गर्दै हुनु्हुन्थ्यो, सरकार आजै ढालिदिन्छु, भोलि नै ढालिदन्छु भन्दै हुनुहुन्थ्यो अब त्यो त बन्द भयो, त्यहीकारण उहाँमा त्यो देखिएको हो ।’

नेपालले बार्गेनिङका लागि चलाएको दोकान, व्यवसायले अब काम नगर्ने पनि उनले बताए । ‘उहाँले जे चलाउँदै हुनुहुन्थ्यो, त्यो सकिएपछि त्यो उहाँको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अब माधव नेपालजीहरूको ढोका बन्द भयो ।’