राजनीति

प्रधानमन्त्रीको राजीनामा आउँदैन, भ्रष्टहरूले नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल

By खबरहब

July 07, 2024

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कसैले भन्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन’, उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ । कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ पनि सिकाइरहनु पर्दैन ।’

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान नै रहेको उनले बताए ।

त्यहीअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेको उनले जिकिर गरे । संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नुलाई अनैतिक भन्न नमिल्ने उनको तर्क छ ।