राजनीति

संसद्‍मा सभामुखले भने- प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने तालिका छ

By खबरहब

July 07, 2024

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिनेबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि असार २८ गते प्रतिनिधि सभाको बैठक आह्वान गरेको जानकारी घिमिरेले दिएका छन् ।

त्यस्तै बैठकमा प्रधानमन्त्रीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गरे ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए ।