समाचार

काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

By खबरहब

July 07, 2024

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि यो कक्षा सुरु गरिएको हो ।

सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरीएका हुन् ।’

उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही बिग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’

यस प्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरूलाई स्वच्छ खानाको प्रबन्ध गरिएको र, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ ।

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अवलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।

‘यो महानगरपालिकाका लागि पनि परीक्षा हो ।’ सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छिन्, ‘विद्यार्थीहरू जुन विषयमा अनुत्तीर्ण भए उनीहरूलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् । यही कठिन विषयमा उनीहरूलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरूलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यस कारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’