प्रवास

सिकागोमा घुम्ती शिविरबाट ४११ नेपाली लाभान्वित

By खबरहब

August 07, 2024

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै सिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट ४११ जना लाभान्वित भएका छन् ।

यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समयसमयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकोमा प्रशन्नता प्रकट गरिन् ।

यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उनले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरिन् ।