ब्रेकिङ स्टोरी

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ

By खबरहब

August 07, 2024

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।

उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन् ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको र केही यात्रुको मृत्यु भएको खबर आफूलाई आएको एसपी कोइरालाले खबरहबलाई बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको टोली पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले खबरहबसँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थल जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर आएको छ ।’