राजनीति

कांग्रेसद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय अनुमोदन

By खबरहब

August 07, 2024

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि गरेको निर्णय अनुमोदन गरेको हो ।

कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा ७ बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई कांग्रेसको केन्द्रीय सम्पादन समितिले पारित गरेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि पेस भएका छन् ।

बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेसम्मका प्रस्ताव रहेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तावहरू राखेर बुधबारका लागि बैठक सकिएको जानकारी दिए ।

उनकाअनुसार पार्टीका तर्फबट भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ ।