सिंगापुरक– सिंगापुरले बुधबार लागूऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
सिंगापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन् ।
‘दण्डित ५९ वर्षीय सिंगापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा मृत्युदण्डको दिइएको हो,’ सेन्ट्रल नार्कोटिक्स ब्युरो (सिएनबी) ले एक विज्ञप्तिमा जनाएको छ ।
उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सिङ्गापुरको लागूऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ ।
‘उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,’ सिएनबीले भन्यो ।
सिंगापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो । सिंगापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो ।
सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५ वर्षीय बंगालादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो ।
एएफपीको तथ्यांकअनुसार सिंगापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ ।
कोभिड–१९ महामारीको समयमा सिंगापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो ।