राजनीति

नेपाल-बङ्गलादेश ‘कनेक्सन’ : वीपीले दिएको हतियारबाट पाकिस्तानविरुद्ध पहिलो फायर

By खबरहब

August 07, 2024

काठमाडौं- बङ्गलादेश दक्षिण एसियाको सबैभन्दा कान्छो मुलुक हो । उत्तर, पूर्व र पश्चिम सीमा भारत र दक्षिणपूर्व सीमा म्यानमारसँग जोडिएको बङ्गलादेश सन् १९७१ मा भारतको सहयोगबाट पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो ।

सन् १९४७ मा भारत विभाजनका बेला हालको बङ्गलादेशलाई ‘पूर्वी पाकिस्तान’को नामबाट पाकिस्तानको पूर्वी भाग घोषणा गरिएको थियो । पूर्व र पश्चिम पाकिस्तानबीच झण्डै १६ सय किलोमिटर अर्थात्‌ एक हजार माइलको भौगोलिक दूरी थियो ।

पाकिस्तानका दुवै भागका जनताको धर्म इस्लाम भए पनि उनीहरूबीच जाति र भाषागत दूरी थियो । पाकिस्तानको तत्कालीन सरकारले गरेको अन्यायविरुद्ध सन् १९७१ मा भारतको सहयोगमा शुरू भएको स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदय भएको हो ।

त्यही बङ्गलादेशको स्वतन्त्रताका लागि नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले हतियार सहयोग गरेको थियो । तत्कालीन समयमा कांग्रेसले पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा जारी सशस्त्र आन्दोलनका लागि हतियार सहयोग गरेको पत्रकार जगत नेपालको पुस्तक ‘आफ्नै कुरा’ (पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी) मा उल्लेख छ ।

पाकिस्तानको विरोधमा बङ्गलादेशमा स्वतन्त्रता आन्दोलन सुरू भएको समयमा कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला (बीपी) दिल्ली जाने क्रममा मुगलसराय पुगेका थिए । उनले भारतका समाजवादी नेता जयप्रकाश नारायणलाई भेट्न भाइ गिरिजाप्रसाद कोइरालालाई पनि साथमा लिएर गएका थिए ।

सोही समयमा जयप्रकाश नारायणले बङ्गलादेशमा सुरु भएको आन्दोलनका लागि आफूसँग भएको हतियार दिन भनेको गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ मा उल्लेख छ ।

‘जयप्रकाशजीले भन्नुभयो-बङ्गलादेशमा स्वतन्त्रता आन्दोलन भइरहेको छ । गिरिजा, अहिले तिमीहरूको आन्दोलन छैन । त्यत्रो हतियार त्यत्तिकै छ । सबै बङ्गलादेशलाई देऊ न,’ जयप्रकाशले गरेको आग्रहबारे गिरिजाप्रसाद कोइरालाले भनेका छन्, ‘सान्दाइ (बीपी)ले पनि जयप्रकाशजीकै कुरामा समर्थन जनाउँदै देऊ भनिदिनुभयो । त्यति दुःख गरेर जम्मा गरेको हतियार दिने मन त थिएन, तर बीपीले नै भनेपछि मैले हुन्छ भनिदिएँ ।’

नेपालमा सशस्त्र क्रान्तिको तयारीका लागि जम्मा गरेका हतियार बङ्गलादेशका आन्दोलनकारीलाई दिने निर्णयमा पुगिसेकपछि गिरिजाप्रसाद कोइरालाले पछि फिर्ता दिनुपर्ने सर्त राख्दा जयप्रकाश नारायणले हतियार फिर्ताको कुरा नगर्न भनेको पनि पुस्तकमा उल्लेख छ ।

‘मैले जयप्रकाशजीलाई भनेँ– ठीक छ, अहिले हामी दिन्छौँ, पछि फिर्ता चाहिन्छ नि ! जेपीले भन्नुभयो– हतियार फिर्ताको कुरा नगर न तिमी । बङ्गलादेश स्वतन्त्र भयो भने त्यसको बदलामा धेरै पो पाउँछौ त तिमीहरूले,’ उक्त पुस्तकमा लेखिएको छ ।

पूर्वी पाकिस्तानमा जारी सशस्त्र आन्दोलनका लागि हतियार सहयोग गरेको भारतीय लेखक भोला चटर्जीको पुस्तक ‘बीपी कोइराला : एक क्रान्तिकारी व्यक्तित्व’मा उल्लेख छ । कांग्रेसका संस्थापक बीपी कोइरालाले बङ्गलादेशीहरू आफूसँग हतियार माग्न आएपछि भारतका समाजवादी नेता जयप्रकाश नारायणको आग्रहबमोजिम दिएको चटर्जीले पुस्तकमा लेखेका छन् ।

त्यो समयमा बीपी कोइरालाले नेपालमा पञ्चायती शासनविरुद्ध लड्न सशस्त्र संघर्ष गर्नका लागि हतियार सङ्कलन गरिरहेका थिए । चटर्जीका अनुसार बीपीले एक ट्रक हतियार जम्मा गरिसकेका थिए । पुस्तकमा बीपीले एक ट्रक हतियार कहाँबाट कसरी जम्मा गरेका थिए भन्नेबारे भने खुलाइएको छैन ।

पाकिस्तानबाट अलग छुट्टै राष्ट्र स्थापना माग अघि सारेर तत्कालीन पूर्वी बङ्गलादेशमा सुरु भएको आन्दोलनलाई सघाउन हतियार दिएको तथ्य बीपी कोइरालाको आत्मवृतान्तमा पनि उल्लेख छ ।

‘मसँग हतियारहरू थिए, तर हाम्रो एक्सन सुरु भएको थिएन, बङ्गलादेशको संघर्ष सुरु भयो । हिन्दुस्तानले मद्दत गरिसकेको थिएन,’ बीपीको आत्मवृतान्तमा लेखिएको छ, ‘बङ्गलादेशका मान्छेहरू मनेर (म कहाँ) आउँथे । उनीहरूले मसँग अलिकति हतियार मागे । मसँग एक ट्रकजति हतियार जम्मा भइसकेको थियो, अलि अलि गर्दागर्दै त्यति जम्मा भइसकेको थियो । जयप्रकाशजीले जति छ दिनुस् भने । उनीहरू (आन्दोलनकारी) ले पनि आएर भने जति तपाईंसँग दिनुस्, तपाईंलाई अहिले जरुरत छैन भने । पछि तिरिहाल्छौँ । त्यसपछि मैले हुन्छ भनेँ ।’

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सहयोग गरेको हतियार पुर्‍याउन सुशील कोइराला, चक्र बाँस्तोला बङ्गलादेश गएका थिए । तिनै हतियारबाट बङ्गलादेशको स्वतन्त्रताका लागि आन्दोलनरत पक्षले पाकिस्तानविरुद्ध पहिलो फायर गरेको पनि गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ मा दाबी गरिएको छ ।

हतियार पुर्‍याउन जाने टोलीमा रहेका अर्का एक जनाका बारेमा भने बीपी गिरिजाप्रसाद दुवैको कुरा बाझिएको छ । बीपीको आत्मवृतान्तमा हतियार पुर्‍याउने टोलीमा सुशील (कोइराला), चक्र (बाँस्तोला) र बाबु (सुधीर) गएका उल्लेख छ ।

‘हतियार लिन एउटा ट्रक आयो, राति लिएर गयो । त्यस बखत त हिन्दुस्तानले पनि रोक्ने कुरा थिएन । उनीहरू पनि सायद त्यही चाहन्थे । बनारसबाट त्यो ट्रक पटना गयो,’ बीपीको आत्मवृतान्तमा लेखिएको छ, ‘पटनाबाट अर्को ट्रकमा लिईकन त्यो पूर्णियाको बोर्डरमा गयो । एउटा ठाउँ छ जहाँ पूर्णीया, पश्चिमबङ्गाल र बङ्गलादेशका भागहरू जोडिएका छन् । त्यहाँ त्यो ट्रक पुग्यो । त्यो हस्तान्तरण गर्न गएका छन्– बाबु (सुधीर) सुशील र चक्र ।’

यस्तै; गिरिजाप्रसादका अनुसार बङ्गलादेशका आन्दोलनकारीलाई हतियार बुझाउन एकजना कर्णेलका साथ सुशील कोइराला र चक्र बाँस्तोला गएका थिए । ‘हतियार लिएर बङ्गलादेशको सीमातिर गएको गाडीमा कर्णेल, सुशील कोइराला र चक्र बाँस्तोला थिए । उनीहरूले बोर्डरमा पुगेर बङ्गलादेशीलाई हतियार हस्तान्तरण गरे,’ ‘आफ्नै कुरा’ पुस्तकमा लेखिएको छ, ‘बङ्गलादेश स्वतन्त्रता आन्दोलनका योद्धाहरूले हामीले दिएको हतियारबाटै पहिलो फायर गरेका थिए ।’

पुस्तकमा कर्णेलको नाम खुलाइएको छैन । कतिपयले ती कर्णेल डीबी राई भएको बताउने गरेका छन् । भारतमा सुभाषभचन्द्र बोसले स्थापना गरेको ‘इन्डियन नेसनल आर्मी’ मा डीबी राई कर्णेल थिए । पछि उनलाई कांग्रेसले आफूसँग राखेको थियो । उनी नेपाली नागरिक नै थिए । कर्णेल राईले कांग्रेसको जनमुक्ति सेनालाई तालिम दिएका थिए ।

बीपीको आत्मवृतान्तमा बङ्गलादेशलाई हतियार दिँदा उनीहरू (बङ्गलादेशी आन्दोलनकारी) लाई हतियार चलाउने ज्ञान नै नभएपछि कर्णेल राईलाई तालिमका लागि पठाइएको उल्लेख छ । ‘उनीहरू (बङ्गलादेशी) लाई राइफल कसरी चलाउने भन्ने थाहा थिएन । त्यस्ता ट्रेनिङ पनि नभएका मान्छेहरू थिए । उनीहरूले भने– हामीहरू कहाँ एउटा ट्रेनर पठाउनु पर्‍यो,’ आत्मवृतान्तमा लेखिएको छ, ‘हामीहरू कहाँ कर्णेल राई (पूरा नाम लेखिएको छैन) थिए । क्यान्सरले ती पछि मरे । हामीहरूले उनलाई पठायौँ तालिम दिन र उनी धेरै बसे ।’

भारतका समाजवादी नेता जयप्रकाश नारायणको आग्रहमा बीपीले सहयोग गरेको एक वर्ष नपुग्दै बङ्गलादेशले स्वतन्त्र राज्यको मान्यता प्राप्त गरेको थियो । बीपीले पूर्वी पाकिस्तानलाई छुट्टै राज्यको माग गर्दै आन्दोलनरत पक्षलाई फरबेसगञ्जमा भण्डारण गरिएका हतियारहरू उपलब्ध गराएका थिए ।

भारतका समाजवादी नेता जयप्रकाश नारायणसामु पूर्वी पाकिस्तानका आन्दोलनकारीलाई हतियार दिने वचन दिएपछि गिरिजाप्रसाद हतियार रहेको फारबेसगञ्ज गएका उनको जीवनी ‘आफ्नै कुरा’ मा पनि चर्चा गरिएको छ ।

पुस्तकमा लेखिएको छ, ‘त्यसपछि म फारबेसगञ्‍ज गएँ । हाम्रा हतियार त्यहीँ थिए । त्यहाँ हामीले भर्ती गरेका एक जना कर्णेल थिए । उनी भारतमा सुभाषभचन्द्र बोसले स्थापना गरेको इन्डियन नेसनल आर्मीमा समेत कर्णेल थिए ।’

गिरिजाप्रसाद पनि बङ्गलादेशमा

गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित पत्रकार नेपालको पुस्तक ‘आफ्नै कुरा’ मा उल्लेख भएअनुसार सशस्त्र क्रान्ति जारी रहेकै समयमा उनी बङ्गलादेश गएको देखिन्छ । गिरिजाप्रसाद कोइराला बङ्गलादेश गएको सम्बन्धमा ‘आफ्नै कुरा’ मा लेखिएको छ–

यसबीच मलाई पनि एक पटक बङ्गलादेश जाऊँ जस्तो लाग्यो । म बङ्गलादेशको बोर्डरमा पुगे । मेरो साथमा केही बंगालीहरू पनि थिए । उनीहरूको घर बङ्गलादेशमा भएकाले एक पटक घरमा पुगेर आऊँ भनेर उनीहरू मसँग हिँडेका थिए । त्यति बेलासम्म बङ्गलादेशमा भारतीय सेना पुगिसकेको थियो । उता पाकिस्तानी सेना र विद्रोहीबीच गोलाबारी भइरहेको थियो । म सीमा क्षेत्रमा पर्ने किसनगञ्ज पुगेँ । बङ्गलादेशमा समेत म आउने खबर भएको थियो ।

भारतीय सेनाले भन्यो, ‘तपाईंको जीप बङ्गलादेश जाने भए ठीकै छ, तर तपाईं हाम्रो मोटरको लिक पिछा गर्दै अघि बढ्नुपर्नेछ । अलिकति दायाँबायाँ भयो भने जति बेला जुनसुकै ठाउँमा बिस्फोट हुन सक्छ । जताततै बम नै बम बिछ्याइएको छ ।’

‘ल हुन्छ’ भनेर उनीहरूको मोटरको पिछा गर्दै हाम्रो जीप बङ्गलादेश प्रवेश गर्‍यो । अब त्यहाँ पुगेपछि भारतीय आर्मी र बङ्गलादेश विद्रोही आर्मीले आफ्नो क्याम्पमा बस्न हामीसँग आग्रह गरे ।

मैले भने पहिलेदेखि साथमा आएकाले भारतीय सेनाकै क्याम्पमा बस्ने निर्णय गरेँ। यता राति भयानक विस्फोटन भयो । पूरै वातावरण त्रासमय बन्न पुग्यो । बत्ती गयो । ब्यारेक नै अन्धकार भयो । सेनाले जेनेरेटर चलाएर उज्यालो पारे ।

पछि सेनाले भन्यो-डराउनु पर्दैन घर उडाएको छ । म उनीहरूसँग बन्दुकको कुरा गर्दै थिएँ । मेरो रूचि देखेर उनीहरू मलाई घुमाएर युद्धस्थलसमेत देखाउँथे । बङ्गलादेश गएका बेला म धेरै ठाउँ घुमेँ। ढाका पनि गएँ ।

म सँग गएका बंगालीहरू भने आफ्नो पुरानो घरमा गए । फर्किने बेलासम्म बङ्गलादेशका गभर्नरसँग मेरो दोस्ती भएको थियो । पाकिस्तानी सेनाले आक्रमण गरेका बेला मसँगै गएका बंगालीहरूले सुनचाँदी पोखरीमा फालेका रहेछन् ।

त्यो सम्पत्ति लिएर जाने भन्दै पोखरीबाट झिके र गाडी चढे । मैले भनेँ– म त यो सामान लिएर मसँग जान दिन्नँ । अर्काको मुलुकबाट त्यत्रो सामान मेरो गाडीमा राखेर लैजान तिमीहरू पाउँदैनौ ।

मैले गभर्नरसँग भनेँ– यिनीहरू सामान यहाँबाट लिएर जाने भन्दैछन् । त्यो तपाईंहरूको सम्पत्ति हो । म आफूसँग लैजान सक्दिनँ । बङ्गालीहरूले बोरामा हालेर लग्न लागेको सुनचाँदी मैले बुझाइदिएँ ।

ऊ खुसी भयो । तर बंगालीहरू भने मसँग खुबै रिसाए । गभर्नरलाई बुझाएको सामानमा सुनका मूर्तिहरूसमेत थिए । बङ्गलादेशबाट फर्किएपछि म सीधै बनारस गएँ । अनि सेनालाई तालिम दिने काम सुरू भयो ।’

हतियार पुर्‍याउन गएकाहरूको स्वागत

बीपी कोइरालाको आत्मवृतान्तमा हतियार पुर्‍याउन गएका सुशील कोइराला र चक्र बाँस्तोलासहितको टोलीलाई बङ्गलादेशीहरूले स्वागत गरेको उल्लेख छ । आत्मवृतान्तमा भनिएको छ–

जब सीमाना पार गरेर उनीहरू (सुशील, चक्रसहित) गए, त्यहाँ सारा नवयुवकहरूले यिनीहरूलाई स्वागत गरेर लिएर गए । उनीहरू (सुशील, चक्रसहित) भन्थे कि, बुझिन्थ्यो कि कुनै भोजभतेर भइरहेको छ । सब बन्दुक हेरिरहेका छन् । भोलिपल्ट त त्यही हतियाहरू लिएर मोटरबाइकमा यताबाट उता गरिरहेका थिए । १८/१९ वर्षका साना–साना केटाहरू कोही पिस्टल भिरिरहेको छ । त्यसैमा कोही कमाण्डर भयो र कोही क्यै (केही) भयो । उनीहरूलाई राइफल कसरी चलाउने भन्ने थाहा थिएन । त्यस्ता ट्रेनिङ पनि नभएका मान्छेहरू थिए ।

अनि विमान अपहरण…

बीपी कोइरालाको आत्मवृतान्तमा बङ्गलादेशलाई हतियार सहयोग गरेबापत केही सहयोग नपाइएको गुनासो गरेको पाइन्छ । बङ्गलादेशलाई हतियार दिएपछि आफूलाई गाह्रो परेको र पैसाको अभाव भएपछि विमान अपहरणको योजना बनाइएको बीपीले आत्मवृतान्तमा भनेका छन् ।

‘त्यस घटना (हतियार सहयोग) मा मैले मद्दत गर्दा मलाई अलिकति गाह्रो परेको थियो । मेरा हतियारहरू गए । मैले भन्ठानेको कि यो एउटा सानो लगानी हो, तर न प्रतिफल छ, न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ । मैले त्यसलाई पूरा गुमाएँ । त्यसपछि मसँग अब पैसा थिएन । अनि हाइज्याकिङको विचार आयो,’ बीपीको आत्मवृतान्तमा लेखिएको छ ।

पञ्चायती शासनविरुद्ध सुरु गरिएको सशस्त्र क्रान्ति सफल बनाउन आवश्यक पर्ने रकम संकलनका लागि कांग्रेसले २०३० जेठ २८ मा विराटनगरबाट शाही नेपाल वायुसेवा निगमको ट्विनअटर विमान अपहरण गरेको थियो । विराटनगरबाट भारतीय रुपैयाँ ३० लाख काठमाडौं ल्याउन लागिएको थाहा पाएपछि कांग्रेस कार्यकर्ताहरू दुर्गाप्रसाद सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले विमान अपहरण गरेका थिए ।

अपहरित विमान भारतको बिहार राज्यमा पर्ने फारबिसगञ्जको ठूलो घाँसे मैदानमा अवतरण गराइएको थियो । विराटनगरबाट बिहान सवा ८ बजे उडेको उक्त विमान पौने ९ बजे फारबीसगञ्जको घाँसे मैदानमा अवतरण भएको थियो ।

‘विराटनगरबाट बिहान ८ः१४ बजे उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै ८ः४५ मा मात्र फारबीसगञ्जमा उत्रिएको थियो,’ विमान अपहरणको नेतृत्व गरेका दुर्गा सुवेदीले ‘विमान विद्रोह’ नामक पुस्तकमा लेखेका छन्, ‘सीधा नाप्ने हो भने विराटनगरबाट फरबीसगञ्जको दूरी जम्मा ३० किलोमिटरजति हो। तर, नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ३० मिनेट लागेको थियो ।’

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकका लेखक डा. राजेश गौतमका अनुसार उक्त मैदानलाई दोस्रो विश्वयुद्धमा बेलायतले सैनिक विमानस्थलका रूपमा प्रयोग गरेको थियो ।

विमान अवतरण हुँदा फारबीसगञ्जको घाँसे मैदानमा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँगै विनोद अर्याल, मनोहरि बराल र जीपचालक वीरु लामा योजनाअनुसार तैनाथ थिए ।