राजनीति

कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ- एमालेसँगको समीकरण सही छ, यसलाई असफल हुने छुट छैन

By खबरहब

August 07, 2024

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट कांग्रेसले धोका पाएर विपक्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले सुझबुझपूर्ण रुपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणमा नेतृत्व दिएको गृहमन्त्री लेखकले बताए ।

‘कांग्रेस सबैभन्दा ठूलो हुँदा हुँदै पनि संघमा मात्र होइन सात वटै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीहरूका लागि, सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो’, उनले भने, ‘पछिल्लो समय पार्टी सभापति देउवाजीले अत्यन्त सुझबुझसहित दीर्घकालीन सोचका साथ नयाँ समीकरणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लागौँ ।’

एमालेसँग पटक–पटकको वार्ता र संवादबाट असार १७ गते नयाँ समीकरण बनाउने सहमति भएको गृहमन्त्री लेखकको ब्रिफिङ थियो ।

‘सात बुँदे सहमतिपत्रमा शेरबहादुर देउवा र माननीय केपी शर्मा ओलीजीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रश्स्त भयो । हामीले सरकार गठन गर्‍यौँ,’ उनले भने ।

गृहमन्त्री लेखक बैठकमा कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि भएको सात बुँदे सहमति पढेर सुनाएका थिए । उनले वर्तमान सत्ता सरकारका सबल पक्ष प्रस्तुत गरेका छन् ।

‘राष्ट्रिय स्वार्थको सुरक्षा गर्ने, स्थिर सरकार दिने, शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणका कामलाई द्रूत गतिमा अगाडि बढाउने, भ्रष्टचार नियन्त्र गरी सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने, देशभित्र र बाहिरको लगानीको वातावरण बनाएर मुलुकमा मर्यादित रोजगारीको व्यवस्था गर्ने लगायत सम्भावना छन्,’ उनले भनेका छन् ।

देशमा दिगो शान्ति, विकास, समृद्धि प्राप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने सुदृढ गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

कांग्रेस—एमालेको समीकरणले संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए ।

‘संविधान जारी भएको ९ वर्ष भइसकेको छ । यो ९ वर्षमा संविधानको अभ्यासको प्रयोगमा देखा परेका सबल र दर्बल पक्षको समीक्षा गरेर संविधानको जटिलतालाई पहिचान गरी आवश्यकता अनुसार सहमतिकै आधारमा संविधान संशोधन गर्ने लगायतका कुरा छ,’ उनले भने ।

गृहमन्त्री लेखकले कांग्रेस र एमालेको समीकरणलाई असफल भए मुलुक दुरावस्थामा जाने खतरा रहेको बताए ।

‘हामी जुन (कांग्रेस–एमाले समीकरण) प्रयोगमा प्रवेश गरेका छौँ । यो प्रयोगले यदि असफल भयो भने मुलुक अत्यन्त दुरावस्थामा जान सक्छ,’ उनले भने, ‘त्यसैले अहिलेको समीकरणलाई बदल्ने, फेर्ने, भत्काउने काममा हामी लाग्नु हुँदैन । कांग्रेस केन्द्रीय कार्यसमिति पनि दृढतापूर्वक यसका पक्षमा उभिनुपर्छ ।’

कांग्रेस र एमालेको समीकरण बनेपछि सकारात्मक प्रभाव र परिणाम देखिएको गृहमन्त्री लेखकले बैठकमा सुनाए । ‘अहिले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । सकारात्मक परिणाम देखिएका छन् । हामीले आज मात्रै संक्रमणकालीन न्याय सम्बन्धि विषय शान्ति प्रक्रियाको टुंगिन बाँकी रहेको बेपत्ता पारिएकाहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई संशोधन गर्ने विधेयकलाई ऐतिहासिक ब्रेक थ्रू गरेका छौँ’, उनले भने,‘ठूला राजनीतिक दल मिलेर बलियो सरकार हुँदा जुन आत्माविश्वास बढाउँछ, जुन वातावरण निर्माण गर्छ । १८ वर्षदेखि पुरा हुन नसकेका र ९ वर्षदेखि कानुन नै बन्न नसकेको विषयलाई पनि हामीले थेरै दिनमा ब्रेक थ्रु गर्‍यौं । यो अहिलेको समीकरणको उपलब्धि हो । राम्रा काम गर्दै जानुपर्छ ।’

सत्ता समीकरणमा सबै कुरा सहज ढंगले अगाडि बढेको उनको भनाइ थियो । ‘केन्द्रमा हामीले सरकार बनायौँ । मन्त्रालयकै लागि भागबण्डा र कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा महिनौं झगडा हुन्थ्यो । हामीले अत्यन्त कम समयमा मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रीको नियुक्ति गर्‍यौं । सातै प्रदेशमा पनि कुनै विवाद नभइ सरकार निर्माण गर्‍यौं,’ उनले भने, ‘अरु पनि केही नियुक्ति विवाद आपसी सहमतिले टुंग्यायौं । अहिलेको समीकरणमा कांग्रेस र एमालेबीच असल सम्बन्ध छ । समीकरणमा विश्वासको वातावरण छ । यसलाई निरन्तरता दिनुपर्छ ।’