मनोरञ्जन

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमुहूर्त

By खबरहब

September 07, 2024

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको कालिका भगवती मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाङ्कनको सुरुवात गरेका हुन् ।

चलचित्रमा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहेका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाएका थिए ।

मुहूर्त समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहेका अभिनेता सपुतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए। चलचित्रको ९० प्रतिशत छायाङ्कन उनकै गृह जिल्ला बागलुङमा हुने बताइएको छ।

‘चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ,’ सपूतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।’

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अभिनेत्री खड्काले चलचित्र छायाङ्कनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिए ।

गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाङ्कन पूरा गर्ने लक्ष्य लिइएको छ ।

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौं र तराईमा गरिने उनको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लागेका हुन् । गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् ।

‘परदेशी–२’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उनको भनाइ छ । चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताए। कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ ।

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिएकी छन् । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारको छन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छ । चलचित्रको शुभमूर्हत समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए ।