कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल छ । प्रायः कृष्णजन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वका अवसरमा पकाइने विभिन्न परिकार तथा अन्य गतिविधिको तयारीका लागि यहाँ चलहपहल भइरहेको छ ।
यस पर्वमा अण्डी चामलको भात तथा रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ । थारू कल्याकारीसभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अघिल्लो दिन आज अन्तिम तयारी भइरहेको बताए ।
“यस पर्वमा अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ । परम्परागत प्रजातिको उक्त धान टाढाटाढाका थारू गाउँबस्तीमा गई व्यवस्थापन गरियो । परिकारलगायत अन्य गतिविधिका लागि आज अन्तिम तयारी भइरहेको छ । त्यसैले पनि हाम्रा बस्तीहरूमा चहलपहल छ ।”
यस्तै, पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्नेसम्मका काम सम्पन्न भएका छन् । दुई दिनसम्म मनाइने यस पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुहरूले दर खाने चलन छ ।
पर्वको पहिलो दिन अर्थात् भोलि व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन् ।
यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन् । यसरी छुट्याइएको ‘अग्रासन’ अर्थात् कोसेली आफ्ना विवाहित चेलीबेटी तथा दिदीबहीनीका पोइलीघरमा पुर्याउने परम्परा छ ।
यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गर्ने गरिन्छ ।
महाभारतमा पाँच पाण्डवमध्येका माइला भाइ भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर मानवजातिलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर पर्व मनाउने गरेको थारू अगुवाहरूले बताउने गरेका छन् । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन ।