साहित्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

By ज्ञानु घिमिरे

October 07, 2024

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका ढड्डामा राता, काला मसीको कोलाजमा खेल्नुपर्ने पहिलो र अन्तिम प्राथमिकतामा जीवनका दशकौं समय बिते । अझ प्रमुख जिल्ला अधिकारीजस्तो हाकिमहरुको पनि हाकिम भूमिका निर्वाह गर्नुपर्ने अर्धन्यायिक अधिकार बोकेको पदको बोझले त समय बाँड्ने छुट नै दिँदैनथ्यो ।

शान्ति सुरक्षा, मानिसका गुनासा, केन्द्रका निर्देशन, हिङदेखि हर्दीसम्मको निरीक्षण, भीआईपीको स्वागत सत्कारमा तैनाथ हुनुपर्ने दायित्व छँदै थियो । यी सबै कर्तव्यमा अब्बल हुँदै बाँकी समय व्यवस्थापन गरेर सिर्जनशील मानिसले तीतेपातीबाट पनि मह निकाल्न सक्छ भन्ने उदाहरण हुन्– भगिराज इङ्नाम ।

तेह्रथुमको आठराईमा जन्मेका उनले जागिर र सिर्जनालाई सँगसँगै लगे । तर, एकअर्कालाई भेट हुन दिएनन् । प्रशासक भगिराज र इतिहासकार भगिराज आ–आफ्नै बगैंचामा रमाउँथे ।

अफिसको खाता बिसाएसँगै उनी ‘लिम्बुवान’को इतिहास उतार्ने भारी बोक्थे । अनुसन्धान गर्नुपर्ने संवेदनशील कर्म थियो । किताब लेखनको कामका लागि दसी प्रमाण जुटाउने काम दिनैपिच्छे लोकसेवा पास गर्नुभन्दा कठिन थियो ।

‘बेचिखान्छ’ भन्ने भयले दसी प्रमाण भएकाहरु टाढैबाट तर्सिन्थे । मान्छे फकाउन उनले धेरैलाई खाजापानी ख्वाए । नाता लगाए । ज्ञानको भोकका अगाडि भीर, कान्ला, जंगल, खोला बिर्सिए । त्यही अनवरत प्रयासबाट आर्जित पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्र्रह’ ले अन्तत ः २०७७ सालको मदन पुरस्कारको बाजी मार्‍यो ।

मदन पुरस्कार प्राप्त ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ मा विक्रम सम्वत् १७१९ देखि २०२० साल सम्ममा ऐतिहासिक दस्तावेज अर्थात् सरकारी कागजातहरु समेटिएका छन् । ९१६ पृष्ठको मोटो पुस्तकको मूल्य २ हजार रुपैयाँ रहेको छ । लेखकले सात वर्ष लगाएर पुस्तक तयार पार्ने क्रममा कागजपत्र खोज्दै गाउँ डुल्दा अनेकौं हण्डर खाए ।

जागिरसँगै लेखनीलाई बचाएर बुढेसकालमा सफल बनेका इङनामले २०७० सालमा ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ नामक पुस्तकमा सहलेखकको भूमिका निभाएका थिए । ०७५ सालमा उनले ‘लिम्बुजातिको इतिहास’ नामक अर्को किताब लेखे । साथै उनले ‘लिम्बु जातिको संस्कृति’ नामक गीत तथा म्युजिक भिडियो पनि निकाले ।

सरकारी सेवामा राम्रो काम गरेवापत २०५० सालमा ‘दीर्घसेवा पदक’ पाएका भगिराजले त्यसको १७ वर्षपछि ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ नामक गैरआख्यानका लागि मदन पुरस्कार प्राप्त गरे ।

पहिलो पुस्तकमा प्राप्त गर्न छुटेका केही दस्तावेज र अन्य अभिलेखहरु थपेर यसै साता इनामङले अर्को कृति ‘लिम्बुवानका अभिलेख संग्रह’ पनि बजारमा ल्याएका छन् । इङनामको चौथो पुस्तकका रुपमा शुक्रबार (असोज १८ गते) ललितपुरको चुम्लुङहिमबाट ‘लिम्बुवानका अभिलेख संग्रह’ सार्वजनिक भएको हो ।

कार्यक्रमका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइला, प्राध्यापक डा. बालकृष्ण माबोहाङ, इतिहासकार प्राडा. दिनेशराज पन्त, डा. कमल तिगेला र याकथुम हिमका अध्यक्ष प्रेम एकतेनले इङ्नामको पुस्तकलाई ‘इतिहासको महत्वपूर्ण सम्पत्ति’ को संज्ञा दिए ।

बैरागी काइँलाका अनुसार इङ्नामको किताबले लिम्बूका ३०० वर्ष पुराना राजनीतिक, सामाजिक, आर्थिक, चालचलन र रीतिरिवाजको व्याख्या गरेको छ । उनले भने, ‘२–३ सय वर्ष पुराना लुकाइएका कागजहरू मागेर दस्ताबेजका रूपमा लेख्नु सामान्य कुरा होइन ।’

लिम्बुवानको इतिहासम्बन्धी इङ्नामको पछिल्लो पुस्तकमा ३८२ वटा दस्ताबेज संग्रहित छन् । पुस्तक ८५० पृष्ठको छ ।

जागिरे जीवनबाट भारी बिसाएपछि अचेल इतिहासकार भगिराजको दैनिकी खोज अनुसन्धानमै बित्ने गरेको छ । पत्नी रेणु तुम्बाहाम्फे र एक नातिसँग काठमाडौंको अनामनगरमा स्थायी बसोबास गरिरहेका उनी कतिबेला इतिहास खोज्न निस्कन्छन्, उनैलाई पत्तो हुन्न ।

सात वर्षसम्म अनेकन हण्डर खाँदै गाउँ डुलेर महाग्रन्थको ठेली निकाल्ने यो दुस्साहसी काम कसरी सफल भयो ? दसी प्रमाण जुटाउन के–कस्तो मेहनत गर्नुपर्‍यो ? यही प्रश्नको सेरोफेरोमा रहेर खबरहबले इतिहासकार इङनामसँग गरेको पुस्तक वार्ता ।

दशैंको मुखमा बजारमा आएको तपाईको दोस्रो पुस्तक ‘लिम्बुवानका अभिलेख संग्रह’मा के–कस्ता विषय समेट्नु भएको छ ?

पहिलो किताब प्रकाशन भएपछि नै दोस्रो किताब ‘लिम्बुवानमा अभिलेख संग्रह’ बनाउने योजनामा थिएँ । दशैंका लागि नयाँ उपहार ल्याएको छु । दशैंमा मासु खाँदै, दही चिउरा खाँदै नयाँ किताब पढ्न पाउनुहुन्छ । यो किताबमा लिम्बुवानसँग सम्बन्धित पहिले नभएका दस्तावेजहरू छन् ।

पहिले लिम्बू र राईसँग मात्र सम्बन्धित थियो । अहिलेको लिम्बुवान क्षेत्र भनेको भूगोल भनेर चिनाउने छ । लिम्बुवान भनेको लिम्बुको मात्र होइन । लिम्बुवानमा बस्ने सबै लिम्बुवानका बासिन्दा हुन् । मोठ मन्दिरहरू, दन्तकाली मन्दिर, धनकुटाको नागेश्वरी मन्दिर छ । त्यो पनि १८४२ देखिकै इतिहास रहेको छ । त्यसका प्रामाणिक कागजहरू पनि छन् ।

इलामको वि सं १८८५ को मोठ मन्दिरको दस्तावेज पनि छ । चैनपुरमा जोगीहरूलाई महन्त पद दिएर राख्ने गरेको थियो । त्यो विषय पनि छ । ताप्लेजुङ ओलाङचुङगोलाको कागजपत्र पनि राखेको छु । लालमोहर, पहिचान, इतिहास र दस्तावेजसँग सम्बन्धित कुराहरू राखेको छु । राजा महाराजाले दिएको दस्तावेज पनि छ । इतिहास पढ्न छोडे पनि यो हराउँदैन । यो तथ्यमा आधारित इतिहास हो ।

इतिहास खोज्ने काम आफैंमा कठिन त छँदैछ, यसक्रममा पाएका हण्डर, ठक्करलाई कसरी स्मरण गर्नुहुन्छ ?

यसको कुरै नगर्नु । कति ठाउँ नाता गोता लगाएर कागज मागें । कतै कतै दिनै मानेनन् । कसैले सहज रूपमा दिए । धेरैले जाँड दिए, खाजा दिए, तर दिनुपर्ने मुख्य कागज नै दिएनन् । धैर्य गर्नुपर्ने रहेछ । इतिहास खोज्न सजिलो थिएन ।

राजा महाराजा भन्दा पहिलाको इतिहासको खोजी कठिन थियो । लिम्बूवान क्षेत्र शाहकालमा आउनुपूर्व सेनकाल अन्तर्गत थियो । त्यो बेलाका कागजहरू छन् । सबैभन्दा ठूलो कठिनाइ त कोसँग थियो भन्ने नै हो । फलानोसँग छ भनेपछि लिन नै समस्या हुने रहेछ । लगेर बेचिखान्छ भनेर भएको चिज पनि दिएनन् । कागज बेचेर लाखौं, करोडौँ खान्छ भन्ने मानसिकता व्यापक थियो । हाम्रो इतिहास किन दिनु भन्ने पनि भेटिए ।

पाँचथरको नमिडाँडामा सेनकालको, विसं १८३१ भन्दा उताको कागज रहेछ । पटक–पटक कागज खोज्न गएँ तर भेटिनँ । त्यो कागज दोस्रो पुस्तकमा मात्र समावेश गरेको छु ।

कसैले त फोन गर्दा फोन काटेर अफ गर्थे । कसैले कागजसँगै परिवारको फोटो छाप्नुपर्छ भन्ने सर्त राख्थे । हामीलाई सेनकालदेखि नै राजभार सामथ्र्य भन्ने सुब्बा दिएको रहेछ । राज्यले प्रयोग गर्नुपर्ने अधिकार र राजाले प्रयोग गर्नुपर्ने अधिकार नै दिएको रहेछ । त्यो कुरा मैले दोस्रो पुस्तकमा लेखेको छु।

सरकारी निकायमा यस्ता ऐतिहासक कागजात रहेनछन् ?

होला भनेर खोज्ने क्रममा सरकारी अड्डामा निवेदन दिएँ । तर, सीधै तपाईँले जातीय विभेद भड्काउने काम गर्नुभयो भन्ने आरोप लगाए । त्योबेला कोशी प्रदेश नामाकरणको विषय उठेको थियो । भूमि सुधार मन्त्रालयले अनुमति दिएन ।

कागजपत्र मालपोत कार्यालय डिल्लीबजारमा थिए । तर मन्त्रालयमा गएर बेलिबिस्तार सुनाएपछि म पनि पूर्वकर्मचारी भएको नाताले कर्मचारीले सहयोग गरे । सुरुमा त मानेका थिएनन् तर पनि अनुमति दिए । त्यहाँबाट उपलब्ध भएका करिब ५०÷६० वटा जति कागजपत्र मैले अघिल्लो किताबमा समेटेको छु ।

यता राष्ट्रिय अभिलेखालयमा पाँचतले घर छ । उत्तरपट्टि साइटमा चिसो कोठा छ । ज्याकेट लगाएर मुख छोपेर कागज खोजें । एक महिना त्यसरी काम गरेपछि केही फेला परे । धुलो धुवाँको सरकारी कार्यालयमा हरिबिजोग रहेछ ।

गाउँ र जिल्लातिर कसरी खोज्नुभयो ?

एक्लै गएँ । बाटोको समस्या उस्तै । तेह्रथुममा म एक ठाउँ पुगें, कागजपत्र दिए । फाल्न लागेको थिएँ, लानु भने । मैले म सक्कल लान्नँ, फोटो खिचेर लान्छु भनें । उनले हैन, यसको काम छैन, लानु भने । मैले राष्ट्रिय अभिलेखालयमा रेकर्ड राखिदिन्छु, पठाई पनि दिन्छु भनेर कागज लिएर हिँडे । तर, उहाँ म बास बसेको ठाउँमा भोलिपल्ट एउटा मोटरसाइकल लिएर आउनुभयो म कागज दिन्नँ भन्दै ।

उनी मलाई कागज दिनेका छोरा रहेछन् । डलरमा बेच्छ भनेर गाउँमा उक्साएछन् । उनी झ्वाँक निकाल्दै आएका थिए । केही भन्दा पनि उनले दिन मानेनन् । हतार–हतार आइरन नलगाई खुम्चिएको कागजको फोटो खिचें ।

ताप्लेजुङकै हाङपाङमा ०७८ सालमा गएँ । वडाअध्यक्षले नै ममाथि जासुस गर्न आएको आक्षेप लगाए । कागज दिएनन् । किन त्यसो भने भनेर केलाउँदा २०२१ सालमा भूमि सुधार ऐन लागु भएको थियो तर लिम्बुवान क्षेत्रमा ०२३ सालमा मात्र लागू भयो ।

त्योबेला तोकेर लागू हुने व्यवस्था थियो । त्यसबेलाका मन्त्री सूर्यबहादुर थापाले त्यो लिम्बुहरूबाट लालमोहर सङ्कलन गरेर सरकारलाई बुझाएछन् । त्यो लालमोहरमा किपट क्षेत्र तोकिएको थियो । त्यसमा किपटको अधिकार दिएको थियो र त्यसको आधारमा दावा गर्छन् भनेर थापाले सरकारलाई बुझाएछन् । त्यी वडाध्यक्ष पनि मभन्दा जेठा थिए । त्यो कुरा पनि उनले बुझेका थिए । त्यही भएर रोकेछन् ।

हाङपाङमै कागजहरू खोज्दै थियौं । पुस– माघको बेला जाडो थियो । ज्याकेट खोलेर घाम तापेर हिँड्दै थियौँ । एकजना लिम्बू आएर कति डलरमा बेच्न लागे नि भनेर बचन लगाए । मलाई धेरै चित्त दुख्यो तर केही बोलिनँ । मलाई पनि डलर देऊ भनेर गयो । चित्त त दुख्छ नि, तर बोलिन ।

ताप्लेजुङकै फूलबारीमा रिटायर्ड मास्टर थिए । उनले कागज दिएनन् । झुलाएर राखे । उनी साइनो पर्ने मान्छे थिए तर सहयोग गरेनन् । पाँचथरको एकतीनमा त मलाई स्वागत नै गरे । खसी नै काटे । सम्मान गरे ।

यसरी लिम्बुवानका ऐतिहासिक दस्तावेजहरु खोज्दा खालखालका तीतामिठा अनुभव छन् ।

अवकाश भएपछि सरकारी जागिरेहरु रमाइलो जिन्दगी बिताउँछन् । देश विदेश घुम्छन् । तपाईंले चाहिँ किन यस्तो दुःख बेसाउनुभएको ?

रमाइलो कुरा गर्नुभयो । यहाँजस्तै एक अधिकृतले पनि मलाई यसै भन्नुभएको थियो । मेजमान खादै हिँड्नुपर्ने नै बेला हो । तर, इतिहासको सम्पत्ती, आफ्ना सन्तति र राज्यलाई दिन सक्यो भने त्यो सम्पत्ति भएर बस्छ । यहाँ इतिहास, संस्कृति, सामाजिक मूल्य मान्यता सबै लेखेको छ । मुन्धुम पनि लेखेको छ । कला, खानी सबै लेखिएको छ । पुर्खा कसरी मिले, कुलकुटुम्ब सबै लेखिएको छ ।

इतिहास चाहिन्छ । अहिले त पुर्खा नै नचिनी विवाह व्यवहार चलिरहेको छ । इतिहास बचाउनुपर्छ भनेर भावी पुस्ताका लागि यो एउटा अक्षय सम्पत्ति हो । यो त इतिहाससम्म रहन्छ । यसका लागि मैले मेहनत गरेको हो । पहिलो किताब तीन संस्करण निस्किसकेको छ । मसँग पनि कतिले लिनुहुन्छ ।

पहिलो पुस्तक निस्किसकेपछि दोस्रो किताब निकाल्न त्यति धेरै समस्या भएन कि ?

दोस्रो निकाल्न केही सहज भयो । तर, धनकुटामा एउटा २३/२४ वर्षको मास्टर अध्ययनरत युवाले नै यहाँले त नाम, दाम र पुरस्कार सबै पाउनुभयो, हामीले केही पाएको छैन किन दस्तावेज दिने ? भनेर प्रश्न गरे । पढेलेखेकै मानिसबाट यस्तो व्यवहार भयो ।

पहिलो किताब निकाल्ने क्रममा पाँचपटक धाउँदा पनि कागज नदिएका व्यक्तिले दोस्रो किताब निकाल्दा बोलाएर पनि दिए । उनीहरूलाई मैले मदन पुरस्कार पाएको थाहा भएछ ।

ताप्लेजुङमा लिम्बूले कागज दिएनन्, बाहुनले सहयोग गरेपछि पाएँ । त्यो कागज दोस्रो किताबमा छ । ती बाहुनले सहयोग नगरेको भए दिने थिएनन् । बाहुनले ‘म भए त कागज खोज्नेलाई खर्च दिएर सहयोग गर्छु, यहाँले किन नदिएको ?’ भनेर प्रश्न गरेपछि लज्जित भएर कागज दिए ।

यी दुई किताब लेख्न कति समय खर्चिनु भयो ?

पहिलो सात वर्ष लाग्यो । सात वर्ष पूर्व घुमें । दोस्रोमा पहिलो पुस्तकमा नसमेटिएका कुराहरू छन् । पहिलोले धेरै चिनायो । अमेरिकाबाट पनि दस्तावेज पठाए । दोस्रो निकाल्दा आठराई र पाँचथरबाट त कतिले सक्कल लालमोहर नै पठाए ।

दोस्रो किताब निकाल्दा सिक्किम दार्जीलिङ पनि पुगेको छु । त्यहाँ पनि सहयोग भयो । दोस्रो किताब निकाल्न पाँच वर्ष लाग्यो । दोस्रो किताब भूगोल, मोठमन्दिर, गुम्बा, लिपि र शिलालेखसँग सम्बन्धित छ । तर, केही पहिलो किताब लेख्दा नै भेटिएका सामग्री पनि छन् ।

पहिलो किताब लेख्दा मदन पुरस्कार पाइएला भनेर सोच्नुभएको थियो ?

सपनामा पनि देखेको थिइनँ । फुट्टो थिएन । किताब निस्केपछि पनि कल्पना गरेको थिइनँ । मलाई गैरआख्यानले मदन पुरस्कार पाउँछ भन्ने कुरा थाहा थिएन । सुनेको पनि थिइनँ ।

एकजना पत्रकार भाइ (राजकुमार दिक्पाल) ले सिफारिस गर्नु भने । तर मैले याद गरिनँ । उहाँले कर गरेपछि मैले पेस गरें । तर, अचानक चिट्ठा परेछ । खुलेको पनि थाहा थिएन ।

मदन पुरस्कारमा छनोट भएपछि मलाई मिडियाबाटै फोन आयो । सुरुमा पत्याइनँ तर पत्र आएपछि विश्वास भयो । जे भए पनि मेरो दुःखलाई सम्मान भएछ भन्ने ठानें । तर, पुरस्कार पाइन्छ भनेर मैले सपनामा पनि देखेको थिइनँ ।