ब्रेकिङ स्टोरी

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

By खबरहब

October 07, 2024

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त १८ जिल्लाका ५९ स्थानीय तहहरूलाई विपदका कारण संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कुन–कुन स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो भन्ने विवरण भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । यतिसम्म कि संकटग्रस्त घोषणा गरिएका पालिकाहरु नै यसबारे बेखबर छन् ।

मन्त्रिपरिषद्को असोज १८ गते बसेको बैठकले असोज १० गतेदेखि लगातार परेको भारी वर्षापछि बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त १८ जिल्लाका ५९ स्थानीय तहहरूलाई विपद्का कारण संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सोही दिन बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत्का कारण संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

गोस्वारा घोषणा

सरकारले कति जिल्लाका कति स्थानीय तहलाई संकटग्रस्त घोषणा गरेको हो ? यसबारे फरक–फरक विवरण बाहिर आएका छन् । सरकारले स्थानीय तहहरुको क्षतिको यथार्थ आँकडा नै संकलन नगरी ठूलो संख्यामा स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गरेको छ । तर, ठूलो धनजनको क्षति भएको काठमाडौंलाई भने संकटग्रस्त घोषणा गरिएको छैन ।

असोज १८ को क्याबिनेट निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वी सुब्बा गुरुङले १२ जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको बताएका थिए ।

यता गृहमन्त्री रमेश लेखकले १४ जिल्लामा ४१ स्थानीय तहलाई संकट ग्रस्त घोषणा गरिएको बताएका थिए र गृहमन्त्रीको सोही भनाइलाई आधार मानेर ४१ पालिकालाई संकटग्रस्त घोषणा गरिएको समाचारहरु आए ।

तर, मुख्यसचिवको खल्तीमा रहेको निर्णयमा भने १८ जिल्लाका ५९ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको पाइएको छ । प्राधिकरणले गरेको सिफारिसमा पनि १८ जिल्लाका ५९ स्थानीय तहको विवरण समावेश छ ।

कुन–कुन पालिकालाई संकटग्रस्त घोषणा गरिएको हो ? यसबारे खबरहबको प्रश्नमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण स्रोतले भन्यो, ‘हामीले १८ जिल्लाका ५९ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरी पठाएका थियौं, हाम्रो प्रस्तावअनुसार नै निर्णय भएको छ । शायद मुख्यसचिवले हस्ताक्षर गरेपछि हामीलाई औपचारिक सर्कुलर आउला ।’

किन गरिन्छ संकटग्रस्त क्षेत्र घोषणा ?

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ ले सरकारलाई कुनै निश्चित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने अधिकार दिएको छ ।

ऐनमा भनिएको छ, ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद उत्पन्न भएकाले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्नेछ ।’

संकटग्रस्त क्षेत्र घोषणा गर्दा राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने ऐनमा स्पष्ट व्यवस्था भए पनि १८ गतेको मन्त्रिपरिषद निर्णय सरकारले २१ गते साँझसम्म राजपत्रमा प्रकाशित गरेको छैन ।

मन्त्रिपरिषदले तीन महिनाका लागि ५९ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । तीन महिनापछि सरकारले चाहेमा यसको अवधि बढाउन सक्ने ऐनले अधिकार दिएको छ ।

संकटग्रस्त घोषणा गरिएको क्षेत्रमा सरकारले आवश्यक ठानेमा सरकारी, गैरसरकारी कार्यालय एवं शिक्षण संस्थाहरु केही अवधिका लागि बन्द गर्न सकिने कानूनमा उल्लेख छ ।

संकटग्रस्त क्षेत्रमा सरकारले उद्धार र राहतलाई प्रभावकारी बनाउने र क्षतिग्रस्त स्थानको पुनर्निर्माणको कामलाई प्राथमिकता दिने ऐनले व्यवस्था गरेको छ ।

त्यसैगरी, उद्धारमा प्रतिकूल असर पर्ने काम कारवाही गर्न नदिइने र सरकारले आवश्यक सम्झेमा त्यस्तो क्षेत्रमा कर्मचारीहरुलाई काजमा खटाउन सक्ने कानूनी व्यवस्था छ ।

तीन दिनसम्म लगातार परेको अविरल वर्षापछि गएको बाढीपहिरो र डुबानका कारण क्षतिग्रस्त १८ वटै जिल्लाका विपद्का कारण संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा बजेटदेखि पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर काम हुने बताइएको छ ।

कुन–कुन पालिका संकटग्रस्त ?

सरकारी तथ्याङ्कअनुसार वर्षाका कारण सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोक र रामेछापमा भएको छ । सरकारले काभ्रेपलाञ्चोकका ९ र रामेछापका ८ पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यस्तै धादिङका ५ वटा पालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । सरकारले ललितपुर र सिन्धुलीका ४–४ स्थानीय तहहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, पाँचथर र सोलुखुम्बुका ३–३ वटा स्थानीय तहहरू संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । ओखलढुङ्गा, रौतहट, महोत्तरी र सर्लाहीका २–२ वटा पालिकाहरू संकटग्रस्त क्षेत्र घोषित भएका छन् । उदयपुरको बेलका नगरपालिका, सिरहाको लहान नगरपालिका र सप्तरीको बलान–बिहुल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गरिएका छन् ।

काभ्रेपलाञ्चोक : सरकारले काभ्रेका ९ स्थानीय तहहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । काभ्रेका तीन नगरपालिका र ६ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषित भएका हुन् ।

संकटग्रस्त क्षेत्र घोषणा हुने गाउँपालिकामा बेथानचोक, खानीखोला, तिमाल, रोशी, महाभारत र चौरी देउराली रहेका छन् । यस्तै मण्डनदेउपुर, पनौती र नमोबुद्ध नगरपालिकाहरू पनि संकटग्रस्त क्षेत्रमा परेका छन् ।

रामेछाप : बाढीपहिरोबाट काभ्रेपछि क्षति पुगेको जिल्लामा रामेछाप पर्दछ । रामेछापका ८ स्थानीय तहहरूलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जसमा रामेछाप र मन्थली नगरपालिकासँगै दोरम्बा शैलुङ्ग, उमाकुण्ड, सुनापति र लिखु तामाकोशी गाउँपालिकाहरू रहेका छन् । रामेछापकै गोकुलगङ्गा र खाँडादेवी गाउँपालिका पनि उक्त सूचिमा छन् ।

धादिङ : काभ्रे र रामेछापपछि धेरै पालिका संकटग्रस्त क्षेत्र घोषणा हुनेमा धादिङ रहेको छ । सरकारले धादिङका ५ पालिकालाई संकटग्रस्त स्थानीय तहका रुपमा सूचिकृत गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार धादिङका बेनीघाट रोराङ्ग, नेत्रावती डवजोङ्ग, खनीयाबास, गजुरी र धुनीबेशी संकटग्रस्त क्षेत्रको सूचिमा छन् । जसमध्ये धुनीबेशी नगरपालिका हो भने बाँकी ४ स्थानीय तहहरू गाउँपालिका हुन् ।

ललितपुर : ललितपुरको गोदावरी नगरपालिकासँगै महाँकाल, बागमती, र कोञ्ज्योसोम गाउँपालिकाहरू संकटग्रस्त क्षेत्रको सूचिमा पर्दछन् ।

दोलखा : दोलखाको शैलुङ्ग, गौरीशंकर र विगु गाउँपालिका पनि विपद्का कारण संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहमा पर्दछन् ।

सिन्धुली : सिन्धुलीका गोलञ्जोर गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, सनुकोशी गाउँपालिका र फिक्कल गाउँपालिकालाई संघटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका भोटेकोशी, बलेफी र जुगल गाउँपालिकाहरू पनि संकटग्रस्त पालिकाअन्तर्गत परेका छन् ।

मकवानपुर : मकवानपुरका तीन गाउँपालिका इन्द्रसरोवर, बकैया र भीमफेदी गाउँपालिका संकटग्रस्त क्षेत्रका रुपमा सूचिकृत भएका छन् ।

चितवन : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनको भरतपुर महानगरपालिकासँगै माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त क्षेत्रको सूचिमा परेका छन् ।

ओखलढुङ्गा : बाढीपहिरोबाट क्षतिग्रस्त ओखलढुंगाका दुई गाउँपालिका चम्पादेवी र सुनकोशीलाई सरकारले विपद्का कारण संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ ।

पाँचथर : पाँचथरका फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहहरू हुन् ।

सोलुखुम्बु : सगरमाथाको जिल्लाका रुपमा चिनिने सोलुखुम्बुका तीन स्थानीय तहहरू सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रका रुपमा रहेका छन् । सरकारले सोलदुधकुण्ड नगरपालिकासँगै गाउँपालिकाहरू खुम्बु पासाङल्हामु र माप्या दूधकोशीलाई संकटग्रस्त क्षेत्रको सूचिमा रहेको छ ।

रौतहट : रौतहटका दुई पालिाका दुर्गाभगवती गाउँपालिका र परोहा नगरपालिका पनि संकटग्रस्त क्षेत्र हुन् ।

महोत्तरी : महोत्तरीका दुई स्थानीय तहहरू गौशाला र बर्दिबास पनि संकटग्रस्त क्षेत्रको सूचिमा छन् । यी दुवै स्थानीय तहहरू नगरपालिका हुन् ।

सर्लाही : सर्लाहीका बलरा नगरपालिका र बागमती गाउँपालिका पनि संकटग्रस्त क्षेत्रको सूचिमा छन् ।

उदयपुर : बेलका नगरपालिका ।

सिरहा : लहान नगरपालिका ।

सप्तरी : बलान–बिहुल गाउँपालिका ।

५९ पालिका संकटग्रस्त घोषित हुँदा किन परेन काठमाडौं ?

विभिन्न १८ जिल्लाका ५९ स्थानीय तहहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका भने सरकारको सूचिमा परेको छैन ।

तथापि, असोज १० देखि १३ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढीपहिरोले काठमाडौं महानगरपालिकामा पनि जनधनमा ठूलो क्षति पुगेको थियो । काठमाडौं महानगरपालिकालाई किन गरिएन त संकटग्रस्त क्षेत्र घोषणा ?

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता डा. डिजन भट्टराई सहरी क्षेत्रमा उद्धार सहज भएका कारण संकटग्रस्त क्षेत्र घोषणा नगरिएको बताउँछन् ।

‘संघीय राजधानीलाई नै घोषणा गर्दा अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भएकाले पनि घोषणा नगरिएको हो,’ उनले खबरहबसँग भने ।

उदयपुर, सिरहा र सप्तरीमा सरकारले मात्र एक–एक पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । उदयपुरको बेलका नगरपालिका, सिरहाको लहान नगरपालिका र सप्तरीको बलान–बिहुल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गरिएका छन् ।

ती पालिकाहरूलाई विपद्का कारण संकटग्रस्त क्षेत्र घोषणा गर्नुको कारणबारे प्राधिकरण प्रवक्ता डा. भट्टराई भन्छन्, ‘ती स्थानीय तहमा प्रकोपबाट नागरिकको मृत्यु भएको र बाढीले क्षति पु¥याएको हुनाले घोषणा गर्न सिफारिस गरेका हौँ ।’

उनका अनुसार प्राधिकरणले १८ जिल्लाका ५९ स्थानीय तहहरूलाई विपद्का कारण संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद् बैठकले संकटग्रस्त क्षेत्र घोषणाको निर्णय गरेको थियो ।

कुन पालिकामा कतिजनाको मृत्यु ?

काभ्रे (७० जना) : सबैभन्दा बढी काभ्रे जिल्लाका १० स्थानीय तहमा ७० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण पनौती नगरपालिकामा १६ जनाको मृत्यु भएको छ भने बेथानचोकमा १२ र तिमाल गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिकामा ७ जना, रोशी गाउँपालिकामा ७ जना र नमोबुद्ध गाउँपालिकामा ७ जनाले ज्यान गुमाएका छन् । बनेपा नगरपालिकामा ३, भूम्लु गाउँपालिकामा ३, धुलिखेल नगरपालिकामा २ र चौरी देउराली गाउँपालिकामा एकजनाले ज्यान गुमाएका छन् ।

तिमाल गाउँपालिकाबाट दुईजना हराइरहेका छन् भने पनौती, चौरीदेउराली, धुलीखेल र खानीखोलाबाट १–१ जना हालसम्म बेपत्ता रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

रोशी गाउँपालिकामा बाढी पहिरोबाट २२ जना घाइते बनेका छन् भने पनौती नगरपालिकामा १४ जना घाइते छन् । भूम्लूमा ७ जना घाइते छन् । तिमालमा ४, नमोबुद्धमा ३ र चौरीदेउरालीमा २ जना घाइते छन् ।

पाँचखाल, धुलिखेल, महाभारत र खानीखोलामा एक–एकजना घाइते बनेका छन् ।

ललितपुर (४५ जना) : मानवीय क्षतिको हिसाबले काभ्रेपछि ललितपुर आउँछ । ललितपुरमा ४५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा गोदावरी नगरपालिकामा मात्रै २० जना छन् ।

त्यस्तै, महांकाल गाउँपालिकामा १० जनाले न्यान गुमाएका छन् । महालक्ष्मी नगरपालिकामा ७ जनाले ज्यान गुमाएका छन् भने ललितपुर महानगरपालिकामा ३ र बागमती नगरपालिकामा ३ जनाले ज्यान गुमाएका छन् । कोन्ज्योसोम गाउँपालिकामा २ जनाले ज्यान गुमाएका छन् ।

ललितपुरका विभिन्न खोलामा आएको बाढीमा परेर ललितपुर महानगरपालिकामा बस्ने रौतहटका तीन व्यक्ति बेपत्ता बनेका छन् भने महांकालबाट थप ३ जना बेपत्ता छन् । ललितपुरमा तीन भारतीय नागरिकसहित १८ जना घाइते भएका छन् ।

काठमाडौं (१८ जना) : सरकारले संकटग्रस्त क्षेत्र घोषणा नगरे पनि काठमाडौं जिल्लाका १८ जनाले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिकाका दुई जनाले ज्यान गुमाएका छन् भने एकजना बेपत्ता र ३ जना घाइते बनेका छन् । त्यसैगरी नागार्जुन नगरपालिकामा ५, चन्द्रागिरि नगरपालिकामा ३ र कीर्तिपुर नगरपालिकामा एकजनाको ज्यान गएको छ ।

अन्य जिल्ला : धादिङको गजुरीका ३ जनाको मृत्यु भएको छ भने थाक्रे र ज्वालामुखी गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । धादिङमा विभिन्न जिल्लाबाट काठमाडौं आइरहेका थप ३४ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा ठूलो मानवीय क्षति भएको थियो ।

मकवानपुरको इन्द्रसरोवरमा ६ जना खेलाडीले ज्यान गुमाए भने सोलुखुम्बुको दूधकुण्ड नगरपालिमामा ५ जनाको मृत्यु भयो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा बाढीपहिरोका कारण ५ जनाको ज्यान गयो ।

हेर्नुहोस् बाढीपहिरो पीडितको पालिकास्तरीय विवरण–

२४६ जनाको मृत्यु, १८ को अवस्था अज्ञात : नेपाल प्रहरी

नेपाल प्रहरीले तीन दिसम्म लगातार परेको वर्षापछि गएको बाढीपहिरो र डुबानबाट विभिन्न जिल्लाहरूमा २४६ जनाको मृत्यु भएको जनाएको छ । प्रहरीले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा सोमबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार १८ जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढीपहिरो र डुबानबाट १७८ जना घाइते भएका र –१७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

प्रहरीको पछिल्लो तथ्यांकमा काठमाडौं उपत्यकामात्रै ७० जनाको मृत्यु र ७ जना बेपत्ता रहेका देखाएको छ । उपत्यकामा बाढीपहिरोमा परि ३७ जना घाइते भएका छन् भने २ हजार १५८ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा २०, मधेश प्रदेशमा ९, बागमती प्रदेशमा १३९ र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

कोशीमा ४ जना, बागमतीमा ७ जना र काठमाडौं उपत्यकामा ७ जना गरी १८ जनाको अवस्था अझै अज्ञात छ ।

नेपाल प्रहरीका अनुसार कोशीमा १४ जना, मधेशमा ९ जना, बागमतीमा ११५ जना, काठमाडौं उपत्यकामा ३७ जना र लुम्बिनीमा २ जना घाइते छन् ।

प्रहरीले कोशीमा २९०, मधेशमा ३५, बागमतीमा १३ हजार ६९४, गण्डकीमा ९९७ र काठमाडौंमा २ हजार १५८ जनाको उद्धार गरिएको छ ।

तीन विदेशी नागरिकको मृत्यु, एक भारतीय बेपत्ता

लगातारको तीन दिने वर्षापछिको बाढीपहिरोमा परेर तीनजना विदेशी नागरिकको मृत्यु भएको छ । बाढीपहिरोमा परेर सिनधुपाल्चोकमा दुई र रामेछापमा एक विदेशी नागरिकको मृत्यु भएको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा दुईजना कोरियन नागरिक र रामेछापमा एकजना अमेरिकी नागरिकको मृत्यु भएको जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा पहिरोले पुरेर दुई जना कोरियनको र रामेछापको खाँडादेवी नगरपालिकामा अमेरिकी नागरिकको ज्यान गएको हो ।

रामेछापकै खाँडादेवीमै एकजना भारतीय नागरिक घाइते घाइते भएका छन् । यस्तै दोलखास्थित एक रिसोर्टमा पहिरोले पुरिएर एकजना कोरियन नागरिक पनि घाइते छन् ।

प्राधिकरणका अनुसार ललितपुरमा बाढीमा परेर तीनजना भारतीय नागरिक घाइते भएका छन् । पूर्वी नेपालको पाँचथरमा एकजना भारतीय नागरिक बाढीमा परेर बेपत्ता छन् ।

(नोट : यहाँ प्रस्तुत विपद प्राधिकरणबाट प्राप्त मानवीय क्षतिको तथ्यांक असोज २० गतेसम्मको विवरणमा आधारित रहेकाले केही बढ्न सक्छ । समाचारमा उल्लेखित काभ्रेका तस्बिरहरु सरोजश्री अधिकारीबाट सौजन्यस्वरुप प्राप्त भएका हुन्–सं)