अन्तर्राष्ट्रिय

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

By खबरहब

October 07, 2024

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा र प्रतिआतंकवाद अभियानका क्रममा भएका हताहतीमा ९० प्रतिशत वृद्धि भएको पाइएको छ ।

सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार यो अवधिमा ७ सय २२ जनाको ज्यान गएको छ ।

यो अवधिमा अरु ६ सय १५ जना घाइते भएका छन् । मृतक र घाइतेको सङ्ख्यामा सर्वसाधारण, सुुरक्षाकर्मी र लडाकुलाई समेत समावेश गरिएको छ ।

सबैभन्दा धेरै हताहतीको घटना खैबर पख्तुनख्वा र बलोचिस्तान प्रान्तमा भएका छन् । समीक्षा अवधिमा कुल हताहतीमध्ये ती प्रान्तहरुमा ९० प्रतिशत हताहती भएको जनाइएको छ ।

यसअनुसार सन् २०२४ को पहिलो ९ महिनामा सन् २०२३ को भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो वर्षको पहिलो ९ महिनासम्म लडाकुको आक्रमण र सुरक्षा कारवाहीमा परी पाकिस्तानमा १ हजार ५ सय ३४ जनाको ज्यान गइसकेको छ । वर्ष सन् २०२३ मा कुल १ हजार ५ सय २३ जनाको ज्यान गएको थियो ।