ब्रेकिङ स्टोरी

सञ्‍जालबाट ज्यान मार्न उक्साउनेविरुद्ध कारबाही थाल्दै प्रहरी

By सीता न्यौपाने

November 07, 2024

काठमाडौं– गत कात्तिक १४ गते दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो ।

आफूलाई भ्लगर बताउने रतन कार्कीले जापानबाट भिडियोमार्फत ‘हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका थिए । त्यस दिन नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशालामै थिए ।

कार्कीले फेसबुक लाइभ भनेका थिए – ‘आज गरौँ, यत्ति चाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरू आज । तपाईंहरूले गेम हेरिरहनुभएको होला, तर मैले अरू नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन्, एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्‍यै हुन्छ । आँटम त आज ! आज आँटी हालौं, धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न ! यत्ति चाहिँ गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरू ।’

कार्कीले यस्ता खालका अभिव्यक्ति दिएको यो नै पहिलोपटक होइन । यसभन्दा पहिले पनि उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोली ठोकेर मार्ने अभिव्यक्ति दिएका थिए । उक्त भिडियो पनि अहिले भाइरल भइरहेको छ ।

उनले भनेका थिए– ‘प्रचण्ड त चोर हो । मैले ठूलो गल्ती गरेँ के ! पहिले हान्दिन पर्ने रहेछ बुढोलाई । सल्टाइदिनु पर्ने रहेछ । दुईचोटी आइसके के हाम्रो नवलपुर कालिका मन्दिरमा । त्यही दिन सल्टाइदिन पर्ने रहेछ बुढोलाई । सल्टाइदिएको भए सल्टाइएको सल्टाइ हुने रहेछ बुढो । केपी ओलीलाई पनि पोखरामा देखेको थिएँ मैले २०७७ हो कि ०७८ सालमा प्रधानमन्त्री हुदाँखेरि । त्यतिखेरै मैले सकाइदिनपर्ने, तर दिएन के । बन्दुक पनि थिएन, चलाउन पनि जान्दिनँ के, त्यही भएर हो । गेरवाला बन्दुकले मर्ने भएर ठोक्दिसक्थें मैले । मलाई छ नि भगवान कसम ! पाँच वटा गोली दिएर ल चार जना नेतालाई मार, तँ आफू पनि मर भन्यो भने म हाँसी हाँसी देशको लागि खुसीको लागि मर्छु । परिवारको लागि मर्न सक्दिनँ होला । देशको लागि हाँसी हाँसी चारजना नेतालाई गोली ठोकेर मर्छु ।’

निगरानीमा कार्की

उनका प्रायः भिडियोमा ‘नेताहरू मार्नुपर्छ, अनि मात्रै देश बन्छ’ खालका अभिव्यक्ति देखिन्छ । तर, नेपालको कानुनमा अपराधीलाई पनि मार्न पाउने प्रावधान छैन । मृत्युदण्डको समेत खिलाफ भएको कानूनी राज्यमा उनले बारम्बार नेता मार्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

तर, यसपटक भने प्रहरीले उनलाई निगरानीमा राखेको छ । खेलदौरान प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न उक्साउने अभिव्यक्ति दिएपछि उनी प्रहरीको नजरमा परेका हुन् । नेपालले बङ्गलादेशविरुद्धको खेल २–१ हारेको थियो । खेल हारेपछि रङ्गशालामै प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि भएको थियो ।

उक्त घटनापछि नेपाल प्रहरीले कार्की र अन्य सम्भावित सम्बन्धित व्यक्तिहरूको खोजी सुरु गरेको हो । २० वर्षीय कार्की चितवनका हुन् । हाल उनी विद्यार्थी भिसामा जापानको टोकियोमा छन् । उनले त्यहीँबाट भिडियो कन्टेन्ट दिइरहेका हुन्छन् ।

यो पनि –

टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले यो विषयमा प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको बताए । तर, रतनलाई इन्टरपोलमार्फत नेपाल झिकाउने भन्ने हल्ला मात्रै भएको बताए ।

कार्कीले खबरहबसँग कुरा गर्दै भने, ‘उनले गरेको यो गतिविधि गम्भीर कानूनी उल्लंघन हो र यस्ता अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा असर पार्छ । तर इन्टरपोलमार्फत नै झिकाउनुपर्ने अवस्था भने होइन । सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि कोही नलाग्नू ।’

त्यस्तै, साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थीले रतन ब्यूरोको निगरानीमा रहेको बताए । उनले खबरहबसँग कुरा गर्दै भने, ‘सामाजिक सञ्जालमार्फत हुने सम्पूर्ण गतिविधि निगरानी ब्यूरोले गर्छ । त्यो दिन सामाजिक सञ्जालमार्फत अराजक र भड्कावपूर्ण अभिव्यक्ति दिनेमाथि लेखाजोखा लिन थालिएको थियो । सोही क्रममा उनी पनि नोटिसमा छन् ।’

उनले थपे, ‘प्रधानमन्त्रीलाई मार्नुपर्छ भन्दै अभिव्यक्ति दिनेविरुद्ध उजुरी परेको छ । ब्युरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा गर्नुपर्ने सबै काम गरेपछि प्रहरीले कानूनी दायरामा ल्याउँछ ।’ कार्कीलाई नियन्त्रणमा लिने वा थप निगरानीमा राख्ने भन्नेबारे नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासबीच समन्वय भएको अवस्थीले बताए ।

‘कारबाही गर्नुपर्छ’

अनलाइन टीभी पत्रकार संघ अध्यक्ष जीवन भण्डारीले स्वतन्त्रताको नाममा अराजकता फैल्याउनेलाई कारबाही गर्नुपर्ने बताए ।

रतनकै भिडियोलाई लिएर उनले भने, ‘सञ्जालमा नेता मार्नुपर्छ भन्ने सामग्री पस्किनु निन्दनीय छ । यो गलत हो र यसका लागि दण्डित गर्न आवश्यक छ । एकले गरेको गल्तीले अरूले पनि पाठ सिक्छन् । यस्ता प्रवित्तिलाई नियमन र निरुत्साहित नगर्ने हो भने समाजमा अराजकता भित्रन्छ ।’

सकारात्मक आलोचना के हो भन्ने कुरा बुझाउन आवश्यक रहेको भण्डारी बताउँछन् । ‘विरोध गर्न पाइन्छ, तर स्वतन्त्रताको नाममा स्वछन्दता, अराजकता, लोकतान्त्रिक मुलुकको लागि स्वाभाविक होइन,’ उनले थपे, ‘अराजकताले त स्वतन्त्रतालाई नै अप्ठ्यारोमा पार्छ । स्वतन्त्रता दुरुपयोग गर्न होइन भन्ने बुझ्नुपर्छ ।’

तर, दण्डित गर्ने नाममा सरकार निरंकुश हुन नहुने भण्डारीको तर्क छ । ‘अभिव्यक्ति स्वतन्त्रतालाई निरुत्साहित गर्ने, कुण्ठित गर्ने काम सरकारले गर्नु हुँदैन’, उनले भने ।

सञ्जालमा के बोल्ने र के नबोल्ने भन्ने कुराको सिकाइमा राज्यले ध्यान दिनुपर्ने भण्डारीको भनाइ छ । डिजिटल साक्षरताको विषयलाई सरकार र अन्य निकायले पनि प्राथमिकताको साथ कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने उनले बताए ।

संविधानमा प्रेस स्वतन्त्रतासँग सम्बन्धित र सामाजिक सञ्जालसँग सम्बन्धित सबै कानुनमा यी कुरा उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ मा ज्यान मार्ने उद्योग गर्न नुहनेसम्बन्धी व्यवस्था गरिएको छ । यो कसुर गर्ने अभियुक्तलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, कैदको न्यूनतम हद भने उल्लेख गरिएको छैन ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ज्यान लिने उद्योग भन्नाले व्यक्तिको ज्यान लिने मनसाय हो । हत्या जस्तै ज्यान मार्ने उद्योग पनि एक गम्भीर प्रकृतिको अपराध भएकाले यस्तो अपराध गर्नेलाई फौजदारी न्याय प्रणाली अन्तर्गत दण्ड सजाय व्यवस्था गरिएको छ ।