काठमाडौं – ‘डान्सर सुरेन’ अर्थात् सुरेन्द्र राई ! उनी चल्तीका कोरियोग्राफर पनि हुन् ।
सुरेन्द्रसँग जोडिएर आउने नाम हो ‘वाइल्ड रिपर्ज’ ! उनी आवद्ध यस ‘क्रु’ (नृत्य दल) ले भारतीय टेलिभिजन शो ‘डान्स प्लस सिजन २’ को फर्स्ट रनरअप उपाधि जितेको थियो ।
सन् २०१६ मा जितेको उक्त उपाधिले यो ‘क्रु’लाई चर्चा दिलाएको हो । त्यहीबाट कलाकारिता क्षेत्रमा यो ‘क्रु’ले पडक जमायो । त्यही क्रममा सुरेन्द्र नेपालको डान्सिङ शो ‘सुपर डान्सर’का निर्णायक बने ।
निर्णायक सम्मको यात्रा तय गर्दा सुरेन्द्रले विभिन्न उतारचढाव भोगे । भारतमा अवसर खोज्ने क्रममा भोकभोकै भौँतारिए । गाडीभाडा नहुँदा दिनहुँ कयौँ किलोमिटर दूरी पैदलै पार गरे ।
अवसर खोज्दै विगतमा भोगेका ती दुःख र चुनौती सुरेन्द्रको जीवनमा अब किस्सा बनिसकेका छन् । उनी अहिले २८ वर्षका भए । उनलाई थाहा भएसम्म नाच्न सुरु गर्दा आठ वर्षका थिए । अहिलेसम्म उनी सोही कर्ममा निरन्तर छन् ।
बाल्यकाल
सुरेन्द्रको पुर्ख्यौली घर पाँचथर हो । बुवाआमा रोजगारीका लागि काठमाडौंमै बसोबास गर्ने भएकाले उनको जन्म यतै भयो ।
राई दम्पतीका सुरेन्द्र माइलो सन्तान हुन् । उनका एक दाइ र बहिनी छन् । सुरेन्द्र बुझ्ने बुझ्ने भए पछि बुवा वैदेशिक रोजगारीका लागि खाडी पसे ।
आमा बौद्धकै एक होटलमा सेफ भएका कारण सुरेन्द्रले बाल्यकालमा खासै अभाव खेप्नुपरेन । भन्छन्, ‘बुवा आमालाई त गाह्रो नै थियो होला, तर हाम्रो हुर्काइ अभावबीच भएको होइन ।’
उनी बौद्धमै हुर्किए । राम्रै अङ्ग्रेजी स्कूलमा पढ्न पाए । पढाइमा भने उनी आफूलाई अब्बल मान्दैनन् । भन्छन्, ‘उत्कृष्ट १० मा आउने विद्यार्थी त थिएँ, तर पढाइमा खासै रुचि राख्दिनथेँ ।’
सुरेन्द्रलाई अहिले महसुस हुन्छ – सानैदेखि नृत्यमा लगाव रहेछ, त्यसैले पो पढाइमा कम रुचि भएको ! बलिउडका दुई नायक शाहीद कपुर र ऋतिक रोशनको नृत्यमा मोहित हुँदै ढोका थुनेर टेलिभिजन अघि नाच्दा सुरेन्द्र मात्र आठ वर्षका थिए ।
‘शाहीद कपुर भर्खरै फिल्ममा आएको बेला थियो । ऋतिकको डान्स पनि मनपर्ने ! किन हो कुन्नि ! यी दुई नायकबाट म निकै प्रभावित थिएँ,’ सुरेन्द्र भन्छन्, ‘माइकल ज्याक्सनको भिडियो पनि हेर्थेँ, तर उनीबाट म प्रभावित भइनँ ।’
लिटिल च्याम्पमा प्रतिस्पर्धा
बन्द कोठामा टेलिभिजनमा अघि नाचेर मात्रै सुरेन्द्रको मन भरिएन । नृत्यकला सुधार गर्नुपर्छ भन्ने चेत आयो । डेरा नजिकैको ‘डान्स सेन्टर’मा भर्ना भए ।
लजालु स्वभावका उनले नृत्य गर्छन् भन्ने कुरा स्कूलमा थाहा थिएन । स्कूलको कार्यक्रममा स्टेज चढ्न उनलाई लाजले रोक्यो । भन्छन्, ‘पिकनिकमा ग्रुपमा हल्लिनेमात्रै हो । लाजको कारण मैले नाच्छु भन्ने कुरा साथीहरूलाई पनि थाहा दिइनँ ।’
नौ कक्षामा पुगेपछि थाहा पाए – तराई टेलिभिजनमा प्रसारण हुनेगरी ‘वाइवाइ लिटल च्याम्पस्’ नृत्य प्रतियोगिताका लागि अडिसन खुलेको छ ।
पाँच वर्षदेखि नृत्य सिकेकाले उनी अडिसनमा सहभागी भए । अडिसन पास भएपछि भने उनले स्कूलमा नृत्य गर्ने कुरा नभनी सुख पाएनन् ।
भन्छन्, ‘अडिसनमा पाएर भएँ । अनि प्रतियोगिताका लागि स्कूलबाट बिदा दिनुपर्ने भयो । बिदाको निवेदन दिएपछि यता प्रतियोगितामा सहभागी भएको थाहा पाइहाले नि !’
उक्त प्रतियोगिताबाट उनी ‘टप सेभन’ बाट बाहिरिए । उनलाई लाग्छ – कोरियोग्राफर राख्ने आर्थिक हैसियत नहुँदा ‘टप सेभन’मै सीमित हुनुपर्यो ।
भन्छन्, ‘अरू प्रतिस्पर्धीको बुवा–आमा नै शोमा आएर सपोर्ट गर्ने, कोरियोग्राफर राखिदिने गर्नुहुन्थ्यो । पैसा नभएकाले मैले राख्न सकिनँ । जति सिकेको थिएँ – त्यत्ति नै नाचेँ ।’
अर्को ग्रुपसँग भेट
‘वाइवाइ लिटल च्याम्पस्’को फाइनलमा टप १० प्रतिस्पर्धीले समूहमा प्रस्तुती दिनुपर्ने भयो । टप सेभेजबाट बाहिरिएकाले फाइनलमा प्रस्तुती दिने अवसर सुरेन्द्रले पनि पाए ।
आयोजकले अभ्यासका लागि बानेश्वरमा हल व्यवस्थापन गरिदिएको थियो । त्यही हलमा अर्को शो ‘छमछमी’का प्रतिस्पर्धी पनि अभ्यास गर्न आउँथे ।
सुरेन्द्र स्मरण गर्छन्, ‘हामी पहिला अभ्यास गथ्र्यौं । त्यसलगत्तै उनीहरू अभ्यास गर्थे । दुवै समूहले एक–अर्काको नृत्य हेर्न पाउँथ्यौँ ।’
यता टप सेभेनबाट बाहिरिए पनि सुरेन्द्रमा नृत्य क्षमता भने थियो । छमछमीको ग्रुपलाई लिएर अभ्यास गर्न आउने प्रवीण सिंहको नजरमा उनी परे । जो नयाँ ग्रुप बनाउनका लागि डान्सरको खोजीमा थिए ।
सुरेन्द्रलाई प्रवीणले भने, ‘म ग्रुप बनाउँदैछु, तिमी सानो भए पनि डान्स राम्रो छ, ग्रुपमा बस्ने हो ।’
अवसर खोजिरहेका सुरेन्द्रले प्रवीणको प्रस्ताव तत्कालै स्वीकारे । भन्छन्, ‘मलाई त डान्स सिक्न मन थियो, अवसर पाएँ, किन नाइ भन्थेँ ?’ त्यो नै सुरेन्द्र ‘वाइल्ड रिपर्ज’मा प्रवेश हुँदाको किस्सा हो । उनका अनुसार उक्त ग्रुपको सुरुवात पनि त्यहीँबाट भएको हो ।
उनी थप्छन्, ‘प्रवीण दाइको परिवार भारतमा हुनुहुन्थ्यो । उहाँ भारतमा हुँदा यही नामको ग्रुप रहेछ । उक्त ग्रुप टुक्रिएकाले त्यही नामबाट उहाँले नयाँ खोल्ने सोच्नुभएको रहेछ ।’
भारत जाने निर्णय
‘वाइल्ड रिपर्ज’मा सुरुमा करिब ४० जना थिए । तीन वर्षको अन्तरालमा ग्रुपको आकार सानो हुँदै गयो ।
सुरेन्द्र भन्छन्, ‘साना–ठूला गरेर हामी ४० जना थियौँ । केहीलाई उमेर बढेसँगै कमाउनुपर्ने बाध्यता भयो, अनि छोड्दै गए । कसैले पारिवारिक र व्यक्तिगत कारणले छोडे ।’
किशोर भने किशोरावस्थाको सुरुवाती चरणमै भएकाले नृत्यबाट टाढिनुपर्ने अवस्था आएन । तीन वर्षको अवधिमै यो ग्रुप नेपालका विभिन्न प्रतिस्पर्धामा सहभागी भइरहेको थियो । त्यस दौरान उनीहरूले जितेका ठूला प्रतियोगिता अल नेपाल डान्स च्याम्पेनसिप र डेल डान्स हुन् ।
नेपालमा नृत्यका लागि जे छ त्यसमा उनीहरू उत्कृष्ट ठहरिएका थिए । तर नाम, दामको अभाव नै थियो । भन्छन्, ‘हामीले धेरै शो जित्यौं, तर हाम्रो अस्तित्व नै थिएन भन्दा हुन्छ । काम त परको कुरा ! कसैले चिन्दैनथे ।’
नेपालमा नृत्यका लागि स्तरीय शो नभएकाले उनीहरू भारत जाने निर्णयमा पुगे । सुरेन्द्र थप्छन्, ‘प्रवीण दाइले नयाँ अवसर खोज्नुपर्छ, नृत्यका लागि भारतमा राम्रो हुन्छ भन्न लाग्नुभयो । अनि भारत जाने भयौँ ।’
ग्रुपका अन्य सदस्य भारत गए । तर, सुरेन्द्र छुटे । कारण उनको १२ कक्षाको अन्तिम परीक्षा आउनै लागेको थियो । भन्छन्, ‘परीक्षा दिएरमात्रै म मुम्बई गएँ । साथीहरू गएको तीन महिनापछि मात्रै म उता गएको हो ।’
त्यस समय बलिउडमा सङ्घर्षमा होमिन ‘वाइल्ड रिपर्ज’का १२ जना मुम्बई पुगेका थिए ।
भारतमा संघर्ष
प्रवीणको घर धनगढी भए पनि उनको परिवार मुम्बईमै थियो । उनका काकाका छोरा रोहन सोही ग्रुपमा थिए । रोहनको पनि परिवार मुम्बईमै थियो ।
ग्रुपका दुई सदस्यको परिवार मुम्बईमै भएकाले टिमलाई बस्नलाई भने समस्या भएन । दुःख–सुख भोग्दै साथीहरूसँग एउटै छानामुनि बस्न पाए ।
भन्छन्, ‘गाह्रै थियो, हामीलाई ठाउँ पाउनै मुस्किल थियो । धन्न ! बस्न चाहिँ पाएका थियौं ।’ बाँकी कुराका लागि संघर्ष छँदैथियो । यस दैरान भने सुरेन्द्रले अन्य साथीजस्तै खानै लागि नै कठिनाइ सामना गर्नुपर्यो ।
सुरुवाती दिनमा दैनिक २० रुपैयाँको खान्कीले दिन गुजार्नुपर्ने सम्मको अवस्था पार गरे । सुरेन्द्र भन्छन्, ‘हामीले दुई सातासम्म दैनिक २० रुपैयाँले दिन कटाएको हो । एक छाकमात्रै खान्थ्यौं ।’
मुम्बईमा टिक्न टिम सदस्यहरू काम खोज्न लागे । सुरेन्द्रलगायत केहीले ‘कल सेन्टरमा’ जागिर पाए । त्यसपछि भने अलि सहज भएको उनी बताउँछन् । भन्छन्, ‘खानकै लागि पनि काम गर्नुपर्यो । एसएलसी पास गरेको सर्टिफिकेट लिएर गएको थियौं, काम पाइयो ।’
उनले जीवनमा पहिलोपटक गरेको जागिर त्यही नै थियो । जसबाट उनले मासिक पाँच हजार भारु तलब बुझ्थे । मुम्बईमा जागिर बाँच्नका लागि थियो । लक्ष्य चाहिँ ठूला र स्तरीय मञ्च नृत्यमा गर्ने थियो । सोहीकारण नृत्य अभ्यासलाई भने उनीहरूले निरन्तरता दिइरहे ।
उनी भन्छन्, ‘६ बजे उठेर अफिस गयो, २ बजे फर्कियो, खाना पकाएर खाएर ४ बजे अभ्यासमा गयो, ११ बजे फर्कियो, खाना पकाएर खाँदा २ बज्थ्यो, यस्तो दैनिकी पाँच महिनासम्म चल्यो ।’
मुम्बई गएको पाँच महिनापछि ‘डान्स सर्कल’का मानिससँग चिनजान भयो । नृत्य क्षमताका कारण ‘वाइल्ड रिपर्ज’लाई पनि केही कम्पनीहरूले चिन्न थाले ।
त्यसपछि भने उनीहरूले ‘सुनील साले डान्स कम्पनी ’मा काम पाए । त्यो काम पाउँदा मिलेको राहत उनले अझै भुलेका छैनन् ।
भन्छन्, ‘त्यहाँ त हामीले डान्स नै सिकाउने काम थियो । आफूहरूले पनि अभ्यास गर्न पाउँथ्यौं । दिनभर डान्स सिकायो, आफू पनि सिक्यो ।’ उक्त कम्पनीबाट ‘वाइल्ड रिपर्ज’ले डान्स प्रशिक्षण, सुटिङ र इभेन्टहरूको काम पाउन थाल्यो ।
भन्छन्, ‘सुटिङको काममा चाहिँ सिरियलका कलाकारहरूलाई डान्स सिकाउने हुन्थ्यो । स्टेज कार्यक्रमहरू पनि गर्न पाइयो । विवाह समारोहमा नाच्दा चाहिँ राम्रो आम्दानी हुन्थ्यो ।’
यसरी आम्दानी हुन थालेपछि भने नेपाल आउन जान सहज भएको उनी बताउँछन् ।
डान्स प्लसमा दोस्रो प्रयास
‘सुनील साले डान्स कम्पनी’मा काम पाएपछि ‘वाइल्ड रिपर्ज’ले अवसर खोज्ने समय पनि पायो ।
त्यस दौरान थाहा भएका सबै प्रतिस्पर्धामा सहभागी हुने उनीहरूको बानी नै थियो । भन्छन्, ‘लोकल लेभलको होस् कि टीभीको प्रतियोगिता होस् – हामी अडिसन दिन गइहाल्थ्यौं ।’
कतिपय स्थानीय प्रतियोगितामा जितेको पैसाले गाडी चढेर फर्कने भनेर सहभागी भएको क्षण पनि ‘वाइल्ड रिपर्ज’सँग छ ।
‘जाँदा गाडी भाडा जसोतसो म्यानेज गर्ने ! जित्यो भने त्यही पैसाले गाडी चढ्ने ! नभए हिँड्दै आउने भनेर हामी प्रतियोगितामा जान्थ्यौं’, सुरेन्द्र थप्छन्, ‘के गर्ने त ! उपाय थिएन । सधैँ जित्ने भन्ने हुँदैन । जित्दा गाडी चढेर फर्कियो । हार्दा दुई घण्टा पैदल हिँडेर पनि फर्कियो ।’
यसरी अवसर खोज्ने क्रममा थुप्रै टेलिभिजन शोका अडिसनबाटै ‘वाल्इड रिपर्ज’ फ्याँकिएको थियो । ‘डान्स प्लस’को पहिलो सिजनको अडिसनबाटै पनि यो ग्रुप फ्याँकिएको हो ।
यसबारे सुरेन्द्र भन्छन्, ‘टीभी अडिसनमा मात्रै जजहरू भेट्न पाइन्छ । त्यसभन्दा पहिले ३–४ वटा अडिसन हुन्छ । डान्स प्लसलको पहिलो अडिसनमा हामीलाई च्यानलवालाहरूले फ्याँकेको हो ।’
ग्रुपका सबैले अनुहारमा पेन्ट गरेर अडिसन दिएकाले च्यानलवालाहरूले चयन नगरेको उनी बताउँछन् । मुम्बई गएको तीन वर्षमा उनीहरूले पुनः डान्स प्लस सिजन २ का लागि अडिसन दिए । त्यसमा भने ‘वाइल्ड रिपर्ज’लाई सफलता मिल्यो । यो ग्रुप यस सिजनको ‘फर्स्ट रनरअप’ बन्यो ।
उनी थप्छन्, ‘हामीमा केही क्षमता विकास पनि भएको थियो । पहिलो पटकको गल्ती र प्रतिस्पर्धीमा आयोजकले खोज्ने कुराबारे पनि हामीलाई ज्ञान थियो । त्यसकारण अलि सहज भयो ।’
डान्स प्लसमा ‘वाइल्ड रिपर्ज’को प्रस्तुती धमकेदार थियो । चर्चित शोको प्रतिस्पर्धी भएकाले भारतमा यो ग्रुपको चर्चा त भयो, मिडियामा समेत उनीहरूले स्थान पाए ।
यसबारे उनी भन्छन्, ‘हामी शोमा देखिएजस्तै निखारिएका भने थिएनौं । शोले दिएको मेन्टरको कन्सेप्टले हाम्रो प्रस्तुती राम्रो देखिएको हो ।’
शोको उपविजेता बनेपछि ‘वाइल्ड रिपर्ज’ को चर्चा भारतमा उत्कर्षमा पुग्यो । त्यसको दुई वर्ष अर्थात् २०१८ सम्म उनीहरू त्यहीँ बसे ।
सुरेन्द्र भन्छन्, ‘त्यो दुई वर्ष यसरी बित्यो कि हामी निकै व्यस्त भयौं । टूर र स्टेजका काम आइरहे । दामभन्दा पनि हामीलाई त्यहाँ नाम मिलेको थियो । भारतले चिनेको थियो ।’
नेपाल फर्कने योजना
सुरेन्द्रलाई थाहा थियो– भारतमै बसे ‘वाइल्ड रिपर्ज’ को नाम र दाम दुवै राम्रो हुनेछ ।
तर, ठूलो मञ्चबाट नाम कमाएपछि पनि देशमा केही गर्न नसकेको जस्तो लाग्यो । उनीसहित टिमका आधा सदस्य नेपाल फर्किए ।
भन्छन्, ‘ठूलो मञ्चमा पुगेका नै हामी हौं । हामी गएर नेपालमा आउँदो पुस्तालाई नसिकाए कसले सिकाउँछ भन्ने भयो ।’ भारतमा कमाएको नामले ‘वाइल्ड रिपर्ज’लाई नेपालमा काम पाउन कुनै कठिनाइ थिएन ।
आउने बित्तिकै टिमले हिपहप डान्स जनराको फिल्म ‘ज्याकी आई एम २१’मा काम पायो । उक्त फिल्मका नायक धीरज मगर र नायिका जसीता गुरुङ हुन् ।
फिल्मको डान्स कोरियोग्राफीको सम्पूर्ण काम यही टिमले गरेको हो । सुरेन्द्र भन्छन्, ‘हामीले एक वर्षसम्म कलाकारहरूलाई डान्स सिकाएको हो ।’
त्यसलगत्तै वाइल्ड रिपर्जले कबड्डी ३, प्रेमगञ्ज, परस्त्री, महापुरुष लगायतका फिल्मको डान्स कोरियोग्राफीको काम गरेको थियो ।
अनि बने जज
सुरेन्द्र नेपाली टेलिभिजन शो ‘सुपर डान्सर’का जज समेत हुन् । यसको ‘क्रिएटिभ डिजाइन’को पाटो वाइल्ड रिपर्जले सम्हालेको थियो ।
सुरेन्द्रका अनुसार उनलाई जज बनाउने निर्णय भने ‘वाइल्ड रिपर्ज’कै हो । भन्छन्, ‘हामीसँग भारतको रियालिटी शोको अनुभव भएकाले कुरा आएको थियो । डान्स बुझ्ने जज चाहिएकाले मैले स्थान पाएँ ।’
सुरेन्द्र नेपाल फर्किएपछि खाली बस्नुपरेको छैन । उनले विभिन्न फिल्म र गीतमा नृत्य कोरियोग्राफीका काम पाइरहेका छन् ।
अहिले एकल काम पनि गर्ने सहमति टीममा भएको उनी बताउँछन् । भन्छन्, ‘राम्रो काम आयो भने एकल नै गर्ने र टिमले पनि गर्ने सल्लाह भएको छ ।’
उनको एकल कोरियोग्राफी रहेको पछिल्लो गीत हो– फिल्म ‘खुस्मा’को ‘रुकुम मैकोट’ ! यो भिडियो युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ । यो गीतले पाँच करोडभन्दा बढी भ्युज पाएको छ । भन्छन्, ‘यसले मलाई सन्तुष्टि दिएको छ, मेरो काम सफल भयो ।’
सुटिङ र स्टेजमा पनि आफू उत्तिकै व्यस्त रहेको उनी बताउँछन् । आफैँले स्टुडियो खोलेर नृत्य प्रशिक्षणसमेत गराइरहेका छन् ।
भन्छन्, ‘मेरो दैनिकी खर्च प्रशिक्षणबाटै आउँछ । बाँकी कामबाट प्राप्त हुने पारिश्रमिक चाहिँ बचत हो । अहिलेसम्म मैले गरेको नृत्य नै हो । यसैबाट मैले सम्पत्ति जोडेँ । सबैभन्दा ठूलो त नाम मिलेको छ ।’