अटो

घर जाने बाटोमा कहाँ चार्ज गर्न पाइन्छ बिजुलीगाडी ?

By खबरहब

October 08, 2024

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल – ईभी) चढ्नेहरू बढ्दैछन् । स्वदेशकै विद्युतबाट चल्ने सवारी चल्न थालेसँगै ठाउँ–ठाउँमा चार्जिङ स्टेशन तथा प्वाइन्टहरू समेत स्थापना गरिएका छन् । ता कि ईभी गाडी चार्ज गर्न मिलोस् !

यसपालीको महान पर्व दशैँ नजिकिँदै गर्दा आम नागरिक काठमाडौं र ठूला शहरबाट देशका विभिन्न स्थानमा पुग्ने गर्छन् । यसरी यात्रा गर्नेमध्ये हजारौँ नागरिक ईभीमा सवार हुन्छन् ।

ईभी प्रयोग बढेसँगै पछिल्लो समय देशका महत्वपूर्ण सडक राजमार्ग छेउछाउ र सदरमुकाम आसपासमा चार्जिङ प्वाइन्ट स्थापनाक्रम बढ्दो छ । सरकारले पनि ईभी सवारी प्रवद्र्धन गर्न देशका विभिन्न ५१ स्थानमा चार्जिङ स्टेशन स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

चाडपर्व मान्न गाउँ–गाउँ पुग्ने यात्रुहरूलाई ईभी गाडी चार्ज गर्न प्रमुख राजमार्ग तथा शहरहरूमा चार्जिङ प्वाइन्ट स्थापना भएका हुन् । लामो तथा छोटो दूरीमा चल्ने ईभी गाडीहरू चार्ज गर्न देशका प्रमुख शहरहरूमा सेवा उपलब्ध छ ।

नेपाल विद्युत प्राधिकरणले आफ्नै लगानीमा देशका विभिन्न स्थानमा ईभी गाडी चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन बनाएको छ । धादिङको धार्केमा २, चितवनको मुग्लिङमा १, साझा सेवा बल्खु काठमाडौंमा २, साझा सेवा पुल्चोक ललितपुरमा १, नेपाल विद्युत प्राधिकरण रत्नपार्क काठमाडौंमा १, नेपाल पुलिस क्लब भृकुटीमण्डप काठमाडौंमा १, पारस बसपार्क चितवनमा २, खुर्कोट सिन्धुलीमा २, सिन्धुली बसपार्क सिन्धुलीमा १, इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा २, हरिवन सर्लाहीमा २, इनरुवा बसपार्क सुनसरीमा १, प्रहरी पेट्रोल पम्प, लाहान सिराहमा २, कालिका फ्युल सेन्टर मालेपाटन पोखरा कास्कीमा २ वटा चार्जिङ स्टेशन जडान गरिएको छ ।

पर्यटक बसपार्क पोखरा कास्कीमा १, दमक बसपार्क झापामा २, बेलका नगरपालिका उदयपुरमा २, बिर्तामोड बसपार्क झापामा २, सुर्खेत बसपार्क सुर्खेतमा २, हेटौंडा, रातमाटे मकवानपुरमा २, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा १, प्रहरी पेट्रोल पम्प सामाखुसी काठमाडौंमा २, बेगनास ताल पोखरा कास्कीमा १, बुटवल बसपार्क रुपन्देहीमा २, इटहरी सुनसरीमा १, विराटनगर मोरङमा १, कोहलपुर नयाँ बसपार्क बाँकेमा २, धनगढी कैलालीमा २, त्रिशूली हावा घर नुवाकोटमा १, बट्टार त्रिशूली नुवाकोटमा १, कुश्मा पर्वतमा १, लमही बसपार्क दाङमा २ र लम्की कैलालीमा १ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको प्राधिकरणले जानकारी दिएको छ ।सरकारले मात्र होइन, निजी क्षेत्रको लगानीमा समेत ईभी गाडी खरिद, बिक्री गरी चार्जिङ स्टेशन तथा प्वाइन्ट स्थापना भइरहेका छन् । निजी क्षेत्रको लगानीमा देशका प्रमुख शहर आसपासमा चार्जिङ प्वाइन्ट स्थापना गरिएको हो ।

हुन्डाइ, टाटा र बीवाईडीका ईभी गाडीहरू चार्ज गर्न देशभर चार्जिङ स्टेशन निर्माण, सञ्चालन र विस्तार गरिँदैछ । हुन्डाई कम्पनीले विद्युतीय गाडी चार्ज गर्न देशका विभिन्न ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरिसकेको छ । एलआई अटो सर्भिस कुपन्डोल, एलआई क्विक्स तीनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल, हुन्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्ध्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धिविनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङमा कम्पनीका चार्जिङ प्वाइन्ट रहेका छन् ।

यस्तै एचआइएम इन्टरकन्टिनेन्टल नेपालगञ्ज, दिनेश फोरह्वील धनगढी, अर्किड मोटोकर्प वीरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा कम्पनीका चार्जिङ प्वाइन्ट छन् ।

त्यस्तैगरी एमजी कम्पनीले विद्युतीय गाडी देशका विभिन्न स्थानमा स्थापना गरेको छ । कम्पनीले सात किलोवाटको एसी चार्जर जडान गरेको छ । एमजीले पोखरा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर, झापा लगायतका स्थानमा स्थानमा चार्जिङ पोर्ट राखेको छ । पोखराको सोरुम, होटल ल्यान्डमार्क र टेम्पल ट्री रिसोर्ट एन्ड स्पामा सात किलोवाटको चार्जर जडान गरेको छ ।

चितवनको एमजी सोरुम, ल्यान्डमार्क फरेष्ट पार्क होटल र रोयल सेन्चुरी होटलमा एमजीले चार्जिङ स्टेसन राखेको छ । एमजीले बुटवलको सोरुम, वीरगन्ज मकालु होटल, बर्दिवासको गुन्ज होटल, ढल्केबरको कोमल होटल, विराटनगरको सोरुम, विर्तामोडको सोरुम र मुल्कोटको अक्षित रिसोर्ट एन्ड राफ्टिङमा चार्जिङ प्वाइन्ट स्थापना गरी सेवा प्रदान गरेको छ ।

टाटा मोटर्सले देशका १४ भन्दा बढी स्थानमा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ । टाटाले इटहरी, काठमाडौं, मुलकोट, ढल्केवर, चुम्लिङटार, पोखरा, हेटौडा, भैरहवा, नारायणगढ, झापा विर्तामोड, लमही, कोहलपुर, अत्तरिया, लाहान लगायतका स्थानमा चार्जिङ प्वाइन्ट स्थापना गरेको हो ।

नेपालमा विद्युतीय सवारीसाधन सञ्चालन गरेको ठूलो कम्पनी बिवाइडीले पनि ३ ठाउँमा फास्ट चार्जिङ स्टेशन स्थापना गरी सेवा उपलब्ध गराएको छ । अनामनगर, गौरीघाट र कोहलपुरमा फास्ट चार्जर राखेको हो । त्यस्तै, कम्पनीको आधिकारीक बिक्रेता साइमेक्स इंकका अनुसार, हाल देशका २५ स्थानमा चार्जिङ नेटवर्क स्थापना गरेको छ ।

कम्पनीले काठमाडौंमा ३ वटा, पोखरा, नेपालगन्ज, पर्वत, डुम्रे, दाङ, बुटवल, बिर्तामोड, बिराटनगर र बर्दिबासलगायतका ठाउँमा चार्जिङ प्वाइन्टहरू स्थापना गरेको छ । कम्पनीले स्थापना गरेको सबै चार्जर ४० किलोवाट क्षमताका छन् ।

दशैँ मनाउन देशका कुनै पनि स्थानमा पुग्ने ईभी गाडी चार्ज गर्न मिल्ने थप चार्जिङ स्टेशनहरू धमाधम जडान हुने क्रम जारी छ ।