समाचार

बागलुङको लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

By खबरहब

January 08, 2024

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे ।

गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए ।

गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उनको भनाइ थियो ।

लेबाङमा करिब ६ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिए ।

उनले  थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए ।  एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताए ।