फाइल तस्वीर

समाचार

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन सुरु

By खबरहब

January 08, 2024

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरु गरेको छ ।

सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ ।

अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन  र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको छ ।

सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटक–पटक पत्राचार गरे पनि स्वतस्फुर्त टहरा नहटाएपछि इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको बुटवल उपमहानगरपालिका– ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकका क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ ।

यस्तै नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनको भनाइ छ ।

यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिकस्थलको संरक्षण गर्दै उद्यान र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आवमा बुटवलका सबैजसो वडामा उद्यान र चौतारी निर्माण गरिनेछ ।