स्वास्थ्य

चरिकोटमा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित

By खबरहब

January 08, 2024

दोलखा– दोलखा सदरमुकाम चरीकोटमा सञ्चालित हाडजोर्नी तथा नसा सम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना विरामी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य अस्पताल काठमाडौँ बानेश्वरको प्राविधिक सहयोगमा ग्रामीण भेगका बिरामीलाई लक्षित गरी सञ्चालित सो शिविरबाट नयाँ ४८५ र पुराना २८५ गरी सात सय रोगी लाभान्वित भएको शाखाका सभापति ईश्वरीप्रसाद दाहालले बताए ।

शिविरमा दुई चिकित्सकसहित नौजनाको टोली रहेको थियो । शिविर सम्बन्धी जानकारी दिँदै सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतका अनुसार विशेष गरी हाडजोर्नी र नसा सम्बन्धी बिरामीका लागि शिविर सञ्चालन गरिएको हो ।

उपचार पाएका मध्ये ७५ प्रतिशत महिला रहेका छन् । पुरुषहरूले अन्यत्र पनि उपचार गराउने गरेको तर महिलाले अवसर शिविरमा मात्र पाएको महसुस भएको बस्नेतले बताए ।

शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसा सम्बन्धी र माइग्रेन सम्बन्धी अकुपङ्चर, थेरापी र प्राकृतिक चिकित्सा पद्धति मिश्रणबाट उपचार भएको छ । उपचार गराउने मध्ये ६० प्रतिशतको घुँडा दुख्ने रोग पाइएको जानकारी दिए ।

अर्को शिविर दोलखाको जिरीमा गर्न लागिएको सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतले जानकारी दिए ।