समाचार

लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ : अर्थमन्त्री 

By खबरहब

January 08, 2024

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित भारत-नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन् । उनले लगानीलाई सहज गर्न पुराना कानूनहरूलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरेका छन् । 

सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रित गरेको जिकिर गरे । उनले जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरूको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उनले बताए ।

उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए ।