ब्रेकिङ स्टोरी

के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?

By खबरहब

February 08, 2024

जलबिन्दु एक किसिमको आँखाको रोग हो। यसले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पुर्याउँछ। जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। नेपालमा अन्धोपनको चौंथो कारणमा जलबिन्दुपर्छ। जलबिन्दुका धेरै बिरामी समयमा उपचारमा नआउँदा समस्या झन बढिरहेको चिकित्सकहरु बताउँछन्। जलबिन्दु कस्तो समस्या हो ? जलबिन्दु भएको कसरी थाहा पाउने, लक्षण कस्ता देखिन्छन् ? जलबिन्दुको उपचार विधि के छ ? यी र यस्तै विषयमा आधारित रहेर आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी :

जलबिन्दु कस्तो समस्या हो ? जलबिन्दु आँखाका नसा बिग्रिदै जाने रोग हो। शरीरको जसरी प्रेसर हुन्छ त्यसरी नै आँखाको पनि प्रेसर हुन्छ। आँखाको चाप सामान्य अवस्थामा १० देखि २१ सम्म हुनुपर्ने हुन्छ। त्यो चाप बढेर विस्तारै आँखाको दृष्टि कम हुँदै जानु जलबिन्दु हो। यो वयस्क र वृद्धवृद्धा सबैमा देखापर्छ। तर जन्मिदै पनि कसैकसैलाई जलबिन्दु हुनसक्छ। वंशाणुगत जलबिन्दु हो भने जन्मिदै पनि भएको हुनसक्ने सम्भावना रहन्छ। त्यस्तै धेरै पावर भएको चस्मा लगाउने, उच्च रक्तचाप, मधुमेह, आँखामा चोटपटक लाग्ने जस्ता कारणले जलबिन्दु हुने सभावना रहन्छ।

जन्मिदै कसैकसैलाई जलबिन्दु हुनसक्छ। वंशाणुगत जलबिन्दु हो भने जन्मिदै भएको हुनसक्ने सम्भावना रहन्छ। पावर भएको चस्मा लगाउने, उच्च रक्तचाप, मधुमेहजस्ता कारणले पनि जलबिन्दु हुने सभावना हुन्छ ।

जलबिन्दु भएको कसरी थाहा पाउने, लक्षण कस्ता देखिन्छन् ? जलबिन्दु मुख्यतया दुई प्रकारका हुन्छन्। एउटा साँघुरो आँखामा हुने जलबिन्दु र अर्को खुला आँखामा हुने जलबिन्दु हुन्छ। साँघुरो आँखामा हुने जलबिन्दु थोरै व्यक्तिलाई मात्र लाग्छ भने खुला आँखामा लाग्ने जलबिन्दु धेरै व्यक्तिमा देखापर्छ। प्राय मानिसमा यसका कुनै पनि लक्षण देखिँदैनन्। जब यसले आँखाको पुरै नसालाई छोप्छ तबमात्र जलबिन्दु भएको थाहा हुन्छ। त्यस्तो अवस्थामा यसको कुनै उपचार नै हुँदैन। साँघुरो आँखामा हुने जलबिन्दु यदि लाग्यो भने यसमा अत्याधिक टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने लगायतका लक्षण देखिन्छन्।

नेपालमा जलबिन्दुको अवस्था कस्तो छ ? सकेसम्म जलबिन्दु भएको २४ घण्टा भित्र र ढिलोमा ४८ घण्टाभित्रमा उपचार गर्नुपर्ने हुन्छ। तर बिरामी ढिलो आइपुग्दा समस्या हुन्छ। नेपालमा जति पनि अन्धोपनको कारण छ त्यसमा जलबिन्दु एउटा प्रमुख कारणमा पर्छ। अन्धोपनको चौथो कारणमा जलबिन्दु पर्छ। धेरै त मोतिबिन्दुका कारणले अन्धोपनको समस्या बढ्दो छ। त्यसमध्ये ५ प्रतिशतमा जलबिन्दु पनि हो। उपचारमा आउनेहरु पनि ढिलो आउने गर्छन्। सबैभन्दा समस्या भनेको कहिल्यै आँखा जाँच नगर्नेहरु पनि नेपालमा धेरै छन्। तर पहिलेको भन्दा मानिसमा केही परिवर्तन आएको छ। बेला बेलामा आँखा जाँच गराउनुपर्छ भन्ने चेतना जागृत भएको छ।

प्राय मानिसमा यसका कुनै पनि लक्षण देखिँदैनन्। जब यसले आँखाको पुरै नसालाई छोप्छ तबमात्र जलबिन्दु भएको थाहा हुन्छ।

यसमा खानपानले पनि असर हुन्छ कि ? यसमा खानपानले असर पार्दैन। यो आफै हुने रोग हो।

जलबिन्दुको उपचार विधि के छ ? जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर नियमित उपचारले जलबिन्दुबाट हुनसक्ने अरु नोक्सानबाट बचाउन सकिन्छ। आँखाको प्रेसर कम राख्ने र अप्टिकल नर्वलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो।

जलबिन्दुको समस्याबाट बच्नका लागि के गर्न सकिन्छ ? जलबिन्दुको समस्याबाट बच्नका लागि मुख्य कुरा जनचेतना आवश्यक छ। मानिसमा जनचेतना भयो भने उपचारमा आउँछन्। जलबिन्दु लागेको भए त्यसलाई पूर्णरुपमा निको पार्न नसके पनि रोकथाम गर्न सकिन्छ।