समाचार

काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी

By खबरहब

February 08, 2024

काठमाडौं– काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी भएकाे छ ।

काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवा खानी बस्ने दिनेश घिमिरेको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना तथा नगद ४५ हजार रुपैयाँ गरी करिब ५१ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको गढी गाउँपालिका-६ सत्तर झोडा बस्ने दिलिप कुमार चौधरीको घरबाट सुन र चाँदीका विभिन्न गहना गरी करिब १० लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।