जीवनशैली

भोलेनाथलाई खुसी बनाउन शिवरात्रिमा यसरी व्रत बस्नुहोस् 

By खबरहब

March 08, 2024

आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान् शंकर ब्रम्हाबाट रुद्रको रूपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान् शिवले ताण्डव नाच्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।

विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशान संहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटी सूर्यको समान दीप्ति सम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।

यो दिन भगवान् शिवको पुजा आराधना गरे मात्र पनि जीवनमा सधैँ सुख प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान् भोलेनाथलाई खुसी बनाउने खास दिनका रूपमा पनि लिने गरिन्छ । भगवान् भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रसन्न हुने गर्दछन् ।

शिवरात्रिमा यसरी व्रत बस्नुहोस् 

– शिवरात्रिका दिन सबेरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्यधिक लाभ मिल्ने धार्मिक विश्वास छ । 

– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने । 

– तामाको लोटाले ८ पटक जल चढाउने । 

– शिवरात्रिका दिन र रातमा दीपक जलाउने । 

– चन्दनको तिलक लगाउने । 

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने ।